कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बामदेव गौतम रिझाउन नेकपामा ‘उपाध्यक्ष पद’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाभित्र भूमिका नपाएको भन्दै अन्तुष्ट रहेका नेता बामदेव गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरिएको छ । सविचालयका बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ ।

बामदेव गौतम रिझाउन नेकपामा ‘उपाध्यक्ष पद’

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणको सुत्रधारको भूमिका खेलेका गौतम एकतापछि निकै असन्तुष्ट थिए ।


प्रतिनिधिसभाको चुनावसमेत हारेपछि त उनको राजकीय भूमिका सक्रिय हुने योजनासमेत सफल भएन । त्यसैले उनले पार्टीभित्र वा कुनै राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए ।


त्यसअन्तर्गत उनले सुरुमा विकास निर्माण गर्ने प्राधिकरण बनाएर त्यसको काम गर्ने जिम्मा दिन पार्टीभित्र प्रस्ताव गरे । उनको यो प्रस्तावलाई शीर्ष नेताहरुले चासो दिएनन् ।


त्यसपछि उनलाई संसद्‌मा ल्याउने योजनाअनुसार केही निर्वाचन क्षेत्र खाली गर्ने प्रयास भयो । हुम्लादेखि काठमाडौं ७ को निर्वाचन क्षेत्रसमेत खाली गर्ने प्रयास गरियो । तर बामदेवका लागि सिट खाली गर्न खोजेको भन्नेबित्तिकै त्यसले ठूलै हंगामा भयो । पार्टीभित्र र बाहिरसमेत विरोध भयो । त्यसपछि गौतम उपचुनावमार्फत संसद्‌मा आउने योजनाबाट पछि हटे ।


पार्टीभित्र आफ्नो भूमिकाको ओलीले कदर नगरेको भन्ने उनको गुनासो थियो । त्यसैले उनले गत पुसको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीलाई आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व सरकारको कामकारबाही ठीक नभएको मात्र होइन 'एक व्यक्ति एक पद'को नीतिमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

उनले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए । ओलीको क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयास जारी थियो ।


पछिल्लो समय विभागहरुको जिम्मेवारी दिने सन्दर्भमा गौतमले संगठन विभागको जिम्मेवारी खोजे । त्यो विभाग उनलाई दिने सहमति यसअघि नै भएको थियो । तर, विभागको विगतमा खेलेको भूमिकाको कदर गर्ने आफूलाई सम्मानित हुने पोजिसनमा राख्नुपर्ने गौतमको माग थियो । त्यसैले उनलाई सचिवालय सदस्यको पदबाट बढुवा गरेर उपाध्यक्ष बनाउने सहमति सचिवालयमा भएको हो ।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटरमा एक्लै बैठक गरेका थिए । त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो । अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन् ।

सचिवालयले गरेको निर्णय अब स्थायी समितिमा छलफल हुने छ ।

प्रकाशित : श्रावण ३१, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?