१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

त्रिशूली बस दुर्घटना : बेपत्ताको आश मार्दै परिवार

ओमप्रकाश ठाकुर

सर्लाही — गत शुक्रबार सदरमुकाम मलंगवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस धादिङस्थित त्रिशूली नदीमा खसेर बेपत्ता भएका परिवारले जिउँदो फर्कने आशा मारेका छन् । शव फेला नपर्दा परिवारले आश मार्दै कुशको शव बनाएर दाहसंस्कार गरिरहेका छन् । 

त्रिशूली बस दुर्घटना : बेपत्ताको आश मार्दै परिवार

सदरमुकाम मलंगवाबाट काठमाडौंको लागि छुटेको ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस गत शुक्रबार बिहान धादिङस्थित त्रिसुली नदीमा खसेको थियो । ४५ जना सवार यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको शव फेला परिसकेको छ । १६ जना घाइतेका उद्धार गरिएको थियो । बाँकी १६ जना अझै बेपत्ता नै छन् ।


दुर्घटना भएको एक साता बित्दा समेत बेपत्ता फेला नपरेपछि जिउँदो फर्कने आश मार्दै परिवार तथा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरिरहेका छन् । बेपत्ताको संख्या घट्दै र शवको संख्या बढ्दै जाँदा परिवारले आश मार्न थालेका हुन् ।


‘दुर्घटना भएको साता दिन भइसक्यो अझैसम्म बेपत्ता भएका फेला पर्न सकेको छैन, शवका लागि कति कुर्नु,’ दुर्घटनामा बेपत्ता भएका औरहीका एक स्थानीयका परिवारले भने, ‘हिन्दु परम्पराअनुसार शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गर्दैछु ।’ उनले शव खोजिदिन सुरक्षा निकाय तथा सरकारसँग आग्रह गरे ।


दुर्घटनामा परेका बसको बेपत्ता यात्रु खोज्न ५ जिल्लाका सुरक्षा निकाय सक्रिय रहेको भनिए पनि बेपत्ता भएका दर्जनौं यात्रु फेला पर्न सकेका छैनन् । दुर्घटनाको लामो समयसम्म पनि बेपत्ता फेला नपर्दा परिवार तथा आफन्त अन्योलमा छन् । दुर्घटनामा शव फेला परेका केहीको सनाखत गरेर परिवारले दाहसंस्कार गरी काज किरियामा जुटेका छन् । भने बेपत्ता भएकाको परिवार कुशको शव बनाएर दाहसंस्कारमा जुटेका छन् ।


दुर्घटनामा परेर परिवारका सदस्य बेपत्ता भएपछि पीडित परिवार विक्षिप्त छन् । शोकमा डुबेका उनीहरू शव पनि नपाउने हो कि भन्ने चिन्तामा छन् । ‘दुर्घटनामा बेपत्ताको अझै पनि खोजी भइरहेको छ, शव फेला पर्नासाथ सनाखत गराउने काममा जुटेका छौं,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले भने, ‘तर लामो समय बित्दा आफन्तले पनि शव बुझ्न सकिरहेका छैनन्, शव पहिचानमा कठिनाइ भइरहेको छ ।’

प्रकाशित : श्रावण ३२, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?