कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडा बस्ती छिरेपछि.....

वन अधिकृत भन्छन्– गैंडा चर्दाचर्दै बाहिर निस्कने गर्छन् । मीठो घाँसको खोजीमा बस्ती पस्छन् ।

चितवन र बर्दिया — भरतपुरको बसपार्क आडैको टोलमा शनिबार बिहानै ठूलो हल्लाखल्ला मच्चियो । वनमा देखिने गैंडा अचानक बसपार्क आडैमा भेटिएपछि मान्छे त्रस्त मात्रै भएनन्, फोटो खिच्न पनि लालायित देखिए । होहल्ला बढ्दै गएपछि गैंडा जोडसँग दौडिन थाल्यो ।

गैंडा बस्ती छिरेपछि.....

बसपार्क आडैमा प्लटिङ भएको जमिन छ । त्यहाँ न घर बनेका छन्, न खेती नै हुन्छ । ठूलो झाडी भएको प्लटिङभित्रै गएर गैंडा लुक्यो ।

लुकेको गैंडा जुनसुकै बेला निस्कन सक्थ्यो । दिउँसो भीडभाड बढेका बेला निस्किए झनै खतरा थियो । त्यसैले भरतपुरको डिभिजन वन कार्यालयमा खबर पुग्यो । स्थानीयले बरन्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटालाई गैंडा डुलेको खबर सुनाए । सापकोटाले त्यो खबर चितवन निकुञ्ज कार्यालयमा पुर्‍याए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले छिट्टै उद्धार टोली खटाए ।

आठ बज्दा नबज्दै वन्यजन्तु उद्धारमा खट्ने सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आइपुग्यो । कोषका संरक्षण अधिकृत अनिल प्रसाईंले उद्धारको चाँजोपाँजो मिलाउन थाले । ६ वटा हात्ती र प्राविधिक जुटाउँदा मध्याह्न मात्रै टोली गैंडा भएतर्फ लम्कियो । ६ वटा हात्ती गैंडा लुकेको प्लटिङको झाडीतर्फ छिर्‍यो । त्यसमध्येको ठूलो हात्तीमा गैंडालाई डार्ट गरेर बेहोस बनाउन तीर्थ लामा चढेका थिए ।

लामाले डार्ट हानेर बेहोस बनाएपछि गैंडालाई खोरसम्म राख्ने काम छिटोछिटो गर्नु थियो । बसपार्क नजिकको बस्ती भएका कारण हेर्नेहरूको ठूलो भीड थियो । ‘बेहोस बनाउने औषधि दिएपछि जंगल र शान्त ठाउँमा ४५ मिनेटसम्म काम गर्न सकिन्छ । तर भीड भएको ठाउँमा आवाज र अन्य गतिविधि सुनेर गैंडा चाँडै जाग्छ । त्यसैले छिटो काम सक्नुपर्छ,’ कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भने ।

बेहोस बनाएर नियन्त्रणमा लिएपछि गैंडालाई ट्रकमा लोड गरी भरतपुरबाट २५ किमि दक्षिणपश्चिम चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक तमोर तालमा लगिएको छ । बसपार्कदेखि दक्षिण र पूर्वतर्फ निकै पर बरन्डाभार जंगल छ । वन छाडेर त्यो ठाउँ पुग्न चार–पाँच किलो मिटर दूरी पार गर्नुपर्छ ।

‘गैंडा चर्दाचर्दै बाहिर निस्कने गर्छन् । मीठो घाँसको खोजीमा बस्ती पस्छन् । यो पनि खेतमा चर्दाचर्दै यहाँसम्म आयो,’ भरतपुरको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले भने । वनदेखि यति टाढाको बस्तीसम्म यसअघि गैंडा त्यति नआएको सापकोटाले बताए ।

१०/१२ वर्षअघि बसपार्कभन्दा पनि तल घना बजार क्षेत्र हाकिम चोकमै गैंडाले ‘आतंक’ मच्चाएको थियो । तर गैंडा उद्धार सामान्य काम भने हैन । एउटा गैंडा उद्धार गर्न ४० जना खट्नुपर्छ । पशु चिकित्सक डा.सडौलाका अनुसार बेहोस पार्ने औषधि एक पटक प्रयोग गर्दा नै २० हजार रुपैयाँ खर्च हुन्छ । एउटा गैंडा उद्धारमा लगभग एक लाख रुपैयाँ खर्च हुन्छ । अघिल्लो वर्ष बस्तीमा आएका पाँच गैंडाको उद्धार भएको थियो ।

जोगाउन स्मार्ट पट्रोल

बर्दिया राष्ट्रिय निकुञ्जले गैंडा संरक्षणका लागि मोबाइल एप्स प्रयोग थालेको छ । स्मार्टफोनमा एप्स प्रयोग गरी गैंडाको अवस्थाबारे फोटोसहितको जानकारी लिन सकिन्छ । यसलाई स्मार्ट पट्रोलको नाम दिइएको छ । यसअघि निकुञ्जको बबई भ्यालीमा छाडिएका गैंडाको घाँटीमा रेडियो कलर जडान गरेको थियो ।

यसको फ्रिक्वेन्सीले गैंडा रहेको स्थान र उसले गर्ने गतिविधिको सूचना दिन्थ्यो । तर यो प्रविधिले अहिले काम गर्न छाडेको छ । बर्दिया निकुञ्जको ठाकुरद्वारा र मन्त्रालयबाट हेर्न सकिन्थ्यो । स्याटेलाइट रेडियो कलरले काम गर्न छाडेपछि अर्को नयाँ प्रविधि भित्र्याइएको हो ।

बबई भ्याली क्षेत्रमा छाडिएका गैंडामा जडित रेडियो कलरले काम गर्न छाडेको निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । गैंडा गणनाको काम गर्न बाँकी रहेकाले रेडियोकलर पुनः जडान गर्न नसकिएको हो । ‘रेडियोकलरले सूचना दिन छाडेको छ । बिग्रिएको हुन सक्छ । चुँडिएर घाँटीबाट हराएको पनि हुन सक्छ,’ उनले भने, ‘गणनाको काम सुरु भएपछि विस्तृत जानकारी आउनेछ ।’ यही वर्ष गैंडा गणनाको काम सुरु हुनेछ ।

सशस्त्र द्वन्द्वका क्रममा बबई भ्यालीमा रहेका सबै गैंडा चोरी सिकारीले मारेका थिए । सन् २०१६ र २०१७ मा पुनः स्थापनाका लागि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका आठ गैंडामा रेडियोकलर जोडिएको थियो । फेरि पनि चोरीसिकारी हुन सक्ने भन्दै त्यो बेलाको नयाँ प्रविधि प्रयोग गरिएको हो ।

बबई भ्यालीमा हाल ६ गैंडा रहेको निकुञ्ज प्रशासनले जनाएको छ । त्यसमध्ये एउटा गैंडा कालगतिले मर्‍यो । मर्ने र जन्मिने भइरहेका कारण गैंडाको संख्यामा घटबढ हुने गरेको छ । गैंडा संरक्षणका लागि आधुनिक प्रविधि भित्रिँदै गरेको राष्ट्रिय प्राकृतिक संरक्षण कोष कार्यक्रमका सहायक संरक्षण अधिकृत लक्ष्मीराम जोशीले बताए ।

रेडियो कलरले दुई वर्षसम्म काम गर्नेछ । ‘मेसिन हो, बिग्रिन सक्छ । दुई वर्षमा आफैं पनि बिग्रिन्छ,’ उनले भने, ‘रेडयो कलर निश्चित समयका लागि मात्रै काम लाग्छ ।’ संरक्षणका लागि विभिन्न आधुनिक प्रविधि निकुञ्जमा ल्याइरहेको उनले बताए ।

कर्णाली क्षेत्रमा यसअघि गैंडा सुरक्षाका लागि भिडियो क्यामेरा जडान गरिएको थियो । एक दशकयता गैंडाको संख्या ३७ पुगेको छ । सन् २००८ मा यो संख्या २२ मा झरेको थियो । बबई उपत्यकामा छाडिएका डेढ दर्जनभन्दा बढी गैंडा चोरी सिकारी भएपछि संख्या एकाएक घटेको हो ।

सन् १९८६ मा पहिलोपल्ट चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा ल्याइएको थियो । सन् २००० मा गैंडाको संख्या ६३ पुगेको थियो । सन् २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन् २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन् २००८ मा अझै घटेर २२ मा झर्‍यो । हाल गैंडाको संख्या ३७ पुगेको छ ।


प्रकाशित : भाद्र १, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?