गुम्बालाई छैनन् 'माइला’

बौद्ध र बोन धर्मावलम्बीमा परिवारको माइला छोरा गुम्बालाई चढाउने (लामा बनाउने) परम्परा छ । माइला छोरा हुन कम्तीमा ३ छोरा जन्मिनैपर्‍यो । तर एक परिवारले दुईभन्दा बढी सन्तान निकै कम जन्माउन थालेका छन् ।
दीपक परियार

मुस्ताङ — सात वर्षयता मुस्ताङको ठिनीमा रहेको कुछब तेरङा गुम्बामा नयाँ लामा थपिएका छैनन् । बढीमा दुई सन्तान मात्र जन्माउने सोच बढेसँगै मुस्ताङका गुम्बामा लामाको अभाव देखिएको हो । 

गुम्बालाई छैनन् 'माइला’

मुस्ताङको बौद्ध र बोन धर्मावलम्बीमा परिवारको माइला छोरा गुम्बालाई चढाउने परम्परा अझै कायम छ । माइला छोरा हुन ३ छोरा जन्मिनैपर्छ तर ठिनीका थकाली समुदायमा एक परिवारले दुईभन्दा बढी सन्तान निकै कम जन्माउन थालेका छन् ।

१७ वर्षीय पल सोनम थकाली गुम्बाका कान्छा लामा हुन् । परिवारका माइला छोरा उनी १० वर्षको हुँदा गुम्बा प्रवेश गरेका थिए । उनी हाल अध्ययन सिलसिलामा भारतमा छन् । उनीपछि गुम्बामा लामा थपिएका छैनन् । गुम्बामा हाल ४० लामा छन् ।

लामा अभावले ११ सय वर्ष पुरानो गुम्बाको रेखदेखमा समस्या भएको प्रमुख लामा उर्गेन धोर्जेले बताए । उनका अनुसार गुम्बामा गुरु रिम्पोछे पद्यसम्भवका ५ प्रतिनिधि रत्न छन् । हिमाली भेगमा बोन धर्मको अभ्यास भएका बेला सातौं शताब्दीको अन्त्यदेखि आठौं शताब्दीसम्म पद्यमसम्भवले बौद्ध धर्म प्रचारमा ठूलो योगदान पुर्‍याएका थिए । लामा अभावमा ती रत्न जोगाउन कठिन भएको छ ।

कुछबको अर्थ शरीरको सट्टामा राखिएको चिनो, ‘तेर’ को अर्थ शक्तिशाली वा बहुमूल्य चिज र ‘ङा×’ को अर्थ ५ लाई जनाउँछ । कुछब तेरङामा पद्यमसम्भवको शान्ति (थोङव धोन), क्रोधि (धोर्जे ढोलोए) र देवी (खन्डो हेशेछेघ्यल) रूपको मूर्ति, लगाएको कपडा (तोएखेब) र जुत्ता (ढोचा) छन् । ती वस्तु आफैं उत्पन्न भएको किंबदन्ती छ । ती ५ चिज ठिनीको गुम्बामा मात्रै भएको व्यवस्थापन समिति अध्यक्ष अनील थकालीले बताए ।

‘बौद्ध धर्ममा ज्ञान राख्नेलाई मात्र यी बहुमूल्य चिज ठिनीमा छ भन्ने थाहा छ,’ उनले भने, ‘यसको दर्शन गर्न टाढा–टाढाबाट बौद्धमार्गी आउने गर्छन् ।’ बहुमूल्य चिज हराउने डरले गुम्बाको प्रचारप्रसार नगरेको उनले बताए । चन्दनको बाकसभित्र रहेका उक्त बहुमूल्य सामान प्रमुख लामा र पुजारीको रोहबरमा मात्र खुल्छ ।

बाकसलाई चाँदीले मोरिएको छ । चाँदीकै भोटेताल्चा छ । गुम्बामा पुग्नेले पद्यसम्भवका अवशेषको दर्शन गर्न पाउँछन् । तस्बिर खिच्न प्रतिबन्ध छ । गुम्बाको पहिलो जग नामुद लामा ल्हुङ्तेन उर्गेन पाल्साङले गरेका थिए । १६ पुस्ताअघिका पाल्साङबारे लेखिएका किताब अहिले पनि गुम्बामा सुरक्षित छन् । ठिनी गाउँ पहिले घरपझोङमा थियो । उक्त किल्लाबाट हालको स्थानमा सरेको हो ।

पाल्साङ घरपझोङमै जन्मिएका थिए । सानै उमेरमा बुद्ध धर्मको ज्ञान हासिल गर्न तिब्बततर्फ लागे । तिब्बतको सन्मे भन्ने ठाउँमा पुगेपछि रिग्झिन छेन्पो धुइधुल धोर्जे नामक गुरुसँग उनको भेट हुन्छ । उनै गुरुसँग पाल्साङले तिब्बती भाषा, व्याकरण, दर्शन, इतिहास, पूजापाठ गर्ने विधि तथा ध्यान सिके । घर फर्कने बेला धोर्जे गुरुले उनलाई कुछब तेरङा दिएर घरपझोङमा स्थापना गर्न भने । गुम्बा स्थापना गरी कुछब तेरङाको संरक्षण र पूजापाठ गरे सबै प्राणीले जीवनभर सुख तथा शान्ति पाउने ती गुरुले पाल्साङलाई बताए ।

गुरुले दाहिनेपट्टि सेतो हिमाल, देब्रेपट्टि कालीगण्डकी नदी, अगाडिपट्टि लोपेन कुजे र पछाडिपट्टि म्हुलीघाङ (धौलागिरि हिमाल), बीचमा हात्तीको सुँड वा टाउको जस्तो देखिने, अगाडिपट्टि पवित्र ढुब्बा ताल भएको डाँडामा गुम्बा स्थापना गर्न भने । पाल्साङ तिब्बतबाट कुछब तेरङा लिएर फर्किए ।

बाटामा छवोढोङ भन्ने ठाउँमा अचम्मको घटना भयो । पाल्साङले बिहानी पूजा गरिरहेका बेला एउटा कागले पानीको भाँडो लिएर उड्यो । खोज्दै जाँदा उनले अहिले गुम्बा रहेको स्थानमा पानीको भाँडो भेटे । त्यहीँ गुम्बा स्थापना गरे । कालो काग परम गुरुको अवतारी भएर उक्त स्थान देखाउन आएको जनविश्वास छ ।

लामा तेन्जिङ फुर्वाका अनुसार लामाले आफूले चाहेका ठाउँमा अध्ययन गर्न पाउँछन् । अध्ययन खर्च भने परिवारले नै बेहोर्नुपर्छ । गुम्बामा ३–३ वर्षमा प्रमुख लामा चुनिन्छन् । एक–एक वर्षमा पुजारी फेरिन्छन् । प्रमुख लामा बाहिर जाँदा अर्कालाई कार्यवाहक सुम्पिनुपर्छ ।

प्रमुख लामा बन्न गुम्बामा भर्ना भएको १५ देखि २० वर्ष लाग्छ । गुम्बा हाल भक्तजनको भेटी, दक्षिणा र ढुम्बा तालको आम्दानीले चलेको छ । ढुम्बा तालको व्यवस्थापन गुम्बाले गर्छ । ‘अहिले थकाली समुदायबाट मात्रै लामा राख्ने गरेका छौं,’ उनले भने, ‘लामाको अभाव हुने हो भने बाहिरबाट पनि खोज्नुपर्ने हुन सक्छ ।’

प्रकाशित : भाद्र १, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?