कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मृत्यु जितेका जयबहादुर

खत्रीले भारतीय सेनामा १५ वर्षको जागिरका अवधिमा दोस्रो विश्वयुद्ध भोगे, गाउँ फर्किएर शिक्षण पेसामा ३० वर्ष लगाए 
प्रकाश बराल

बागलुङ — टाउकामा कपाल छैन, जुँगा सेताम्मे छन् । उज्यालो अनुहारका उनलाई अग्लो कदको भएकाले पढदा थोरै कुप्रिनुपर्छ । चस्मा नलगाई ‘बीपीको विद्रोह’ पुस्तक पढिरहेका छन् । घरको पालीले ओझेल परे पनि उनलाई मसिना अक्षर पढ्न कुनै बाधा पुगेको छैन ।

मृत्यु जितेका जयबहादुर

छेवैमा छन् कृष्णलीला, नेपाल साप्ताहिक, गाउँका सहकारीका पुस्तक र विद्यालयले प्रकाशित गरेका बग्रेल्ती स्मारिकाहरू ।

उनी हुन् बागलुङ नगरपालिका–९ तित्याङका जयबहादुर खत्री । वर्ष १०१ । भारतीय सेनाबाट सेवानिवृत्त । अध्ययनमा औधि रुचि राख्ने यी वृद्धले फौजमा १५ वर्ष बिताए । शिक्षण पेसामा ३० वर्ष लगाए । शिक्षण क्षेत्रमा उनले गरेको योगदानलाई गाउँलेले सम्मान गर्छन् । उनी आफ्नो जीवन कहानी सविस्तार सुन्ने कोही भेटदा खुसी हुन्छन् ।

भारतीय सेनामा भर्ती भएकै दिनदेखि उनले जागिरे अवधि लडाइँमा बिताए । सन् १९४० मा गाउँमा आएको गल्लाले उनलाई भारतीय सेनामा लग्यो । बागलुङकै ढिकीचौरका पण्डितका घरमा गएर ६ महिना मात्र पढेका थिए । त्यसले अक्षर चिन्ने मात्र बनाएको थियो । आफ्नो नाम र परदेशमा पुग्दा चिठी लेख्न सक्ने भएपछि उनी भर्ती भए । उमेर पुगेको र फुर्तिलो भएकाले उनलाई सेनामा सोझै लगिएको थियो । फौजमा पनि उनले कौशल देखाए ।

सन् १९३९ देखि सुरु भएको दोस्रो विश्वयुद्धको एक वर्ष पुगिसकेको थियो । लडाकुको धेरै खाँचो थियो । त्यसैले खत्रीलाई भर्तीलगत्तै सोझै युद्धमा पठाइयो । भारतको देहरादूनमा रहेको ‘फर्स्ट नाइन जीआर’ पल्टनमा उनले तालिम अवधि मात्र बिताए । त्यसपछि सोझै मुम्बई गए । त्यहाँबाट बडेमानको पानीजहाजमा फौजलाई इराक पठाइयो । आठ दिनमा उनीहरू बगदाद पुगेका थिए ।

लडाइँका क्रममा उनीहरू जुन–जुन देशमा पुगेर लड्थे, त्यहीँ विजयी हुन्थे । सातपल्टसम्म घेराउमा परे पनि दुस्मनका अगाडि उनीहरूले घुँडा टेकेनन् । उनीहरूसँग अहिलेका जस्ता आधुनिक हतियार थिएनन् । ‘म एलएमजी हतियारबाट लडेको हुँ,’ उनले भने ।

खत्रीले आफ्नो जीवनका केही घटनालाई डायरीमा लिपिबद्ध गरेका छन् । विश्वयुद्धमा उनी दुईपल्ट गम्भीर दुर्घटनामा परे । ‘बम पडकेर जमिनै उछिट्टिएर दुई सय गज पर पछारिन पुगेँ तर मलाई भगवान्ले बचाए,’ उनले तिनताका दिन सम्झिए, ‘एक सय वर्ष बाँच्न लेखेको रहेछ । दुस्मनको गोली, बारुद र बमले मलाई मार्न सकेन ।’

अर्को घटनामा उनी घाइते भएका थिए । ‘गोलीले दाहिने तिघ्रा वारपार छेडेको थियो, रेडक्रसले उपचार गरायो,’ सन् १९४३ को घटना स्मरण गर्दै उनले आफ्नो डायरीमा लेखेका छन्, ‘विदेशीको भूमिमा, विदेशीकै भाषामा के बोले, थाहा भएन तर रेडक्रसको चिहन मात्र चिनेको थिएँ । त्यो चिहनले ६ महिना लगाएर मलाई सन्चो बनायो । त्यसपछि फेरि पल्टनमै फर्केर युद्ध लडेर दुस्मनलाई भगाउन सफल भयौं । हामीले लडेको पक्षबाटै दोस्रो विश्वयुद्ध जित्न सकियो ।’ उनले आफूजस्तै सयौं घाइते भएको र धेरैको मृत्यु भएको देखेको बताए ।

दोस्रो विश्वयुद्धमा गोर्खालीले देखाएको बहादुरीबाट गजे घलेले भिक्टोरिया क्रस पाए । नेपालीले पाउने यो सबैभन्दा ठूलो पुरस्कार थियो । घलेलाई बेलायतकी महारानीले चाहेको कुरा माग्न आग्रह गरिन् । घलेले आफ्ना लागि केही नमागेको खत्रीले बताए । ‘घलेले आफूलाई केही मागेनन्, बरु सबै गोर्खालीको तलब बढाउन माग गरे,’ उनले भने, ‘उनले गरेको मागले अहिलेसम्म भारतीय सेनाले सेवासुविधा पाए ।’ युद्धकै क्रममा खत्रीले युरोप र अफ्रिकाका धेरै देश घुमेको अनुभव सँगालेका छन् ।

विश्वयुद्धबाट फर्केपछि पनि उनले सुख पाएनन् । भारत र पाकिस्तान सीमाको जम्मु–कश्मीर युद्धमा पनि उनलाई पठाइयो । ‘उतिबेला बाँचेकाले मैले दोस्रो जुनी पाएको हुँ,’ उनी भन्छन्, ‘अहिलेसम्म थलिएर छोराछोरीलाई दुःख दिनुपरेको छैन ।’ उमेर पुगेकाले सामान्य बिरामी भइरहनु अनौठो होइन । घरमा आएका पाहुनालाई स्वागत गर्ने, आफ्नो कथा बताउने र नियमित पढ्ने उनको बानी छ ।

‘युद्धमा इरान, लिबिया, सिरिया, इजिप्ट, दक्षिण अफ्रिका र इटालीमा पुगेर बहादुरी देखाउने अवसर मिल्यो,’ उनको डायरीमा छ, ‘भारत–पाक युद्धमा पनि शान्ति भित्र्याएर फर्कन पाएँ । विदेशमा बस्दा लडाइँ मात्र गरिएन, शिक्षा र स्वास्थ्यबारे सिक्ने अवसर मिल्यो । त्यसैले गाउँ फर्केर निरक्षर गाउँलेलाई अक्षर आरम्भ गराउन पाएँ ।’ यो उमेरमा उनको सक्रियता देखेर सबै दंग पर्छन् ।

शारीरिक रूपमा मात्र सक्रिय नभई, मानसिक र बौद्धिक रूपमा पनि सक्रिय छन् । हरेक प्रकारका पुस्तक पढ्न रुचि राख्ने खत्री बीपी कोइराला, थीरबम मल्ल र कृष्णप्रसाद भट्टराईबारे बढी चासो राख्छन् । भारतका महात्मा गान्धी र जवाहरलाल नेहरूबारे पनि उनी जानकार छन् । सेनाको जागिरबाट सेवानिवृत्त भएपछि गाउँ फर्कंदा उनकै सैन्य कमान्डर अगन्धर खडका पनि फर्किए । गाउँ फर्केर विद्यालय खोल्ने दुवैको सल्लाह भयो ।

खडका अध्यक्ष भए, खत्री संस्थापक शिक्षक । भारतीय सोल्जर बोर्डको आर्थिक सहयोग जुटाएर उनीहरूले विद्यालय खोलेका थिए । सिगाना माविको स्थापना गरेर २९ वर्षसम्म अध्यापनपछि खत्री उमेर हदले अनिवार्य अवकाश पाए । उनले दीर्घसेवा गरेको भन्दै विद्यालयले पनि सम्मान गरेको छ । खत्रीका विद्यार्थी गोपालकुमार शर्मा अहिले उक्त विद्यालयका प्रधानाध्यापक छन् । सामान्य अक्षर चिनेर सेनामा भर्ती भएका खत्रीले सेनामा गएपछि निरन्तर अध्ययन गरेर योग्यता पनि बढाएका थिए । हाल सिगाना माविमा चार सय विद्यार्थी पढ्छन् ।

त्यसअघि सदरमुकाममा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले विद्यामन्दिर मावि खोलेका थिए । राणाकालमा खुलेको यो विद्यालयको प्रेरणाले धेरैले विद्यालय खोल्ने चाहना राख्थे । आर्थिक समस्या, गाउँलेको श्रमदान जुटाउन नसके विद्यालय खुल्ने सम्भावना थिएन ।

शिक्षाको महत्त्व बुझाएर सोल्जर बोर्डको सहयोग पनि माग्न सकेकाले विद्यालय खोल्न सहज भएको खत्री बताउँछन् । सुवेदार मेजर अगन्धर खडकाले सोल्जर बोर्डमा समन्वय गरेका थिए भने खत्रीले गाउँलेलाई परिचालन गर्ने भूमिका खेलेका थिए ।

विद्यालय खोल्ने काम मात्र नभई उनले समाजमा पनि शैक्षिक जागरण ल्याउनमा पनि धेरै योगदान गरेका छन् । उनको सेवाबारे शिक्षकहरू खुलेर प्रशंसा गर्छन् । ‘उहाँले विद्यालय नखोलेको भए सदरमुकाम गएर पढ्नुपर्थ्यो,’ शर्माले भने, ‘अहिले कक्षा १२ सम्मको पढाइ गाउँमै गरिएको छ ।’

विद्यालयको वार्षिकोत्सवमा अझै उनी पुग्छन् । यो उमेरमा पनि अध्ययनमा औधि रुचि राख्ने भएकाले बजारमा आएका पुस्तक किनेर ल्याइदिने गरेको छोरा हरिबहादुर खत्रीले बताए । ‘बुबाको सक्रियता देखेर धेरै खुसी लाग्छ, त्यसैले पत्रपत्रिका र पुस्तक किनेर ल्याइदिने गरेको छु,’ उनले भने, ‘पढ्ने काम मात्र नभई आफ्ना संस्मरण लेखेर राख्ने गर्नुभएको छ ।’

अहिले दालभात, तरकारी खाने र एक गिलास दूध पिउने खत्रीको दैनिकी छ । ‘दुई छाक खान पुग्ने खेतबारी थियो । त्यहीं कमाइ गरेर खाइन्थ्यो,’ उनले भने, ‘अहिले पनि खेतबारी बेचेका छैनौं ।’ धान, मकै र कोदोबाहेक बारीमा सुन्तला रोप्ने क्रम बढेको छ । फलफूलका बिरुवा रोप्नुपर्छ भन्ने कुरा पनि उनले भारतमा बस्दा देखेको बताए । अझै उनका दाँत झरेका छैनन् । त्यसैले कडा भए पनि खाना र फलफूल सजिलै खान सक्छन् ।

‘दुवैलाई दूध चाहिन्छ भनेर दुहुनो भैंसी टुटाएका छैनौं,’ खत्रीकी श्रीमती नन्दकलाले भनिन्, ‘खानपान र कामले अहिलेसम्म बाँचियो, संसार देखियो ।’ धार्मिक स्वभावकी उनले भगवानको कृपाले यो उमेर देख्न पाएको समेत बताइन् । नन्दकली श्रीमान्भन्दा १८ वर्ष कान्छी छन् । एक छोरी जन्मेपछि पहिली श्रीमतीको मृत्यु भएकाले खत्रीले नन्दकलीलाई भित्र्याएका थिए ।

लडाइँमा घाइते भएर गरेको उपचारबाहेक उनले बिरामी भएर उपचार गराउनुपरेको छैन । धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेल पहिलेको खानपान, नियमित काम गर्ने र अल्छी नबन्ने चलनले शताब्दी पुरुषहरू बाँच्न सकेको बताउँछन् । ‘अर्गानिक खाना र दैनिक शरीर चलायमान राख्दा धेरै बाँच्न सकिन्छ,’ उनले भने, ‘उकालो ओरालो नियमित हिँडदा मुटु स्वस्थ हुने र अरू अंग पनि चलायमान भइरहन्छन् ।’

यहाँ झन्डै डेढ सय घर खत्रीहरूको छ । साउनको पहिलो साताको सोमबार खीर पकाएर कुललाई चढाउने चलन छ । त्यसका लागि सबैभन्दा जेठाका घरमा पकाउनुपर्छ । साउनको पहिलो साता यहाँका खत्रीले सामूहिक खीर पकाएर खाए । झन्डै १५ वर्षदेखि पूजा उनकै घरमा भइरहेको छ । आगामी कात्तिक २२ मा खत्री १ सय २ वर्ष पूरा हुन्छन् ।

प्रकाशित : भाद्र १, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?