कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रक्सी खाँदा ४० हजार जरिवाना

रुकुम पश्चिम — चेलीबेटीले पाहुर (कोसेली) मा ल्याइदिएको मदिरा आठबीसकोट नगरपालिका–११ का रामबहादुर पुनलाई महँगो परेको छ । 
आफ्नो होटलमा आएका पाहुनासँग बसेर त्यही पाहुर सेवन गरेको थाहा भएपछि नगरपालिकाले उनलाई ४० हजार रुपैयाँ 
जरिवाना तिराएको छ ।

रक्सी खाँदा ४० हजार जरिवाना

घटना साउन २ को हो । ‘रक्सी मैले बनाएको पनि होइन, चेलीले पाहुर पठाएका थिए,’ उनले भने, ‘त्यही पाहुर पाहुनासँग बसेर खाइरहेका बेला नगरपालिकाले महँगो जरिवाना तिरायो ।’ मदिरा प्रतिबन्धित आठबीसकोटमा पाहुरका रूपमा प्रयोग पनि प्रतिबन्धित छ ।


यो कडा नियमले साउने संक्रान्तिका बेला स्थानीय समुदायमा कोसेली पठाउने चलन प्रभावित भएको छ । श्रीमतीको उपचारका लागि जोरजाम गरेर राखेको पैसा जरिवाना तिर्नमा खर्च भएको पुनले गुनासो गरे । ‘चेलीले पठाएको नासो खाएकै थिएनौं, खाने तयारीमा थियौं,’ पुनले भने, ‘व्यापार गरेजसरी नगरपालिकाले जरिवाना तिरायो ।’ मिहिनेत गरेर जम्मा गरेको पैसा जरिवानामा गएपछि ऋण सापट गरेर श्रीमतीको उपचार गरेको उनले बताए ।


मगर समुदायमा चेलीले दाजुभाइलाई पाहुर ल्याइदिने र त्यसमा सगुनका रूपमा मदिरा खुवाउने चलन छ । नगरपालिकाको ‘कडा’ नियमबाट व्यक्तिगत रूपमा पुनमात्र होइन, समुदायको संस्कृति नै प्रभावित भएको छ । सोही दिन उनीसँग पाहुर खाइरहेका नगरपालिकाको पशुसेवा शाखामा कार्यरत कृष्णबहादुर खत्रीले २० हजार जरिवाना तिरेका थिए ।


पुनलाई भने मदिरा सेवनका साथै बेचबिखन गरेको अभियोगमा दोहोरो जरिवाना तोकिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार मदिरा सेवन गर्ने र बेचबिखनकर्तालाई ३ हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ । त्यस्ता फेला पारेर हालसम्म जरिवानामा १ लाख २० हजार रुपैयाँ उठेको छ ।


एकजनाले ४० हजार, एकजनाले २० हजार, तीनजनाले १०/१० हजार, तीनजनाले ५/५ हजार र पाँजचनाले ३/३ हजार जरिवाना तिरेको उनले बताए । ‘४० हजार जरिवाना तिर्न नसकेका दुई जनालाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा लगाइएको छ,’ उनले भने । घरेलु हिंसा र सामाजिक सुरक्षामा खलल पुगेको भन्दै गत असार ९ मा आठबीसकोट नगरलाई मदिरामुक्त घोषणा गरिएको हो ।


अहिले नगरका सबै वडा र टोलमा मदिराविरुद्ध अभियान चलाइएको छ । नगर प्रमुख गोर्खबहादुर केसीले नगरपालिकाको निर्णयअनुसार नै जरिवाना तिराउने गरिएको बताए । ‘मदिरामुक्त अभियानपछि धेरैको व्यक्तिगत जीवन सकारात्मक प्रभाव पर्न थालेको छ,’ उनले भने, ‘यसले समग्रमा समाजको सकारात्मक विकासमा टेवा पुर्‍याउँछ ।’


कर तिरेर ल्याएको मदिरामा रोक लगाइरहेका बेला अवैध घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवन हुनु अझ घातक हुने उनले बताए ।

प्रकाशित : भाद्र १, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?