कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सौन्दर्य माछामा आकर्षण बढ्दो

खपत ६ लाख गोटा, देशमा १ लाख मात्रै उत्पादन
विमल खतिवडा

काठमाडौँ — सहरमा माछाको स्वाद लिने पारखी मात्र छैनन्, सोखका रूपमा घरमै पालेर रमाउने पनि छन् । ‘एक्वारियम’मा रंगीचंगी माछा राखेर घरलाई नै सुन्दर बनाउने बढेका छन् । सहरका घर, होटल, रेस्टुरेन्टको एक छेउमा रंगीचंगी माछा देख्न पाइन्छ । 

सौन्दर्य माछामा आकर्षण बढ्दो

नेपालमै उत्पादन भएको माछाले भने बजार धान्न सकेको छैन । खपत वार्षिक ६ लाखको संख्यामा हुँदै आएको छ । नेपालमा करिब १ लाख हाराहारी उत्पादन हुने गरेको केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको तथ्यांकमा छ । मुलुककै उत्पादनले माग धान्न नसकेपछि भारत, इन्डोनेसिया, सिंगापुर, थाइल्यान्डबाट आयात गर्ने गरिएको छ । जसमा विभिन्न प्रजातिका २ सय ३१ किसिमका माछा आयात हुने गरेको छ । नेपालमा मात्र तीन प्रजातिका भुरा उत्पादन हुन्छन् ।


केन्द्रका अनुसार नेपालमै सौन्दर्य माछा उत्पादन गर्न थालेको ७ वर्ष भयो । ‘यो माछाको माग बढदो छ, माग धान्न सकिएको छैन,’ केन्द्रका मत्स्य विकास अधिकृत सुभाषकुमार झाले भने, ‘त्यसैले धेरै माछा बाहिरबाटै आउँछ ।’ कोई कार्प जातको २ र गोल्डफिस प्रजातिको एउटा उत्पादन हुन्छ । यसमा सानोलाई ५, मध्यमलाई १० र फिंगरिङ साइजकोलाई प्रतिगोटा १५ रुपैयाँमा बिक्री हुन्छ । माछाको प्रजातिका आधारमा मूल्य निर्धारण गर्ने गरिन्छ । ‘यो माछा सोखका रूपमा पाल्ने हो, यसलाई हेरिरह्यो भने तनावमुक्त भइन्छ भन्ने छ,’ उनले भने, ‘यसले घरमा फूलजस्तै सौन्दर्यता थप्ने काम गर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्मा पनि अनुसन्धानका रूपमा यो माछा उत्पादन हुने गरेको छ ।


‘सोखका रूपमा माछा पाल्नेहरू बढेका छन्,’ केन्द्रका प्रमुख शिवनारायण चौधरीले भने, ‘धेरै माछा विदेशबाटै आयात हुने गरेको छ ।’ बाहिरबाट आयात गरिएका माछा विभिन्न ठाउँमा बिक्रीका लागि राखिएको छ । केन्द्रका अनुसार बाहिरबाट मात्र वार्षिक करिब तीन करोडको सौन्दर्य माछा आयात हुँदै आएको छ । ‘यो माछा पाल्दा घरै सुन्दर पार्छ, यसलाई हेरिरहे बहकिएको मनलाई तनावमुक्त बनाउन सकिन्छ,’ प्रमुख चौधरीले भने, ‘केन्द्रले उत्पादन गरेको माछा केन्द्रबाटै बिक्री गर्ने भएकाले लिन आउनेको भीड लाग्छ ।’


उत्पादन बढाउन सरकारले राम्रो ध्यान दिएको छैन । माछामा उचित रूपमा लगानी नगरेको केन्द्रले जनाएको छ । ‘यो वर्ष केही थप प्रजातिका रंगीन माछा उत्पादन गर्ने गरी बजेट छुट्याइएको छ,’ मत्स्य विकास अधिकृत झाले भने, ‘बजेट थोरै छ, हाम्रो उद्देश्य स्वदेशी उत्पादनले ५० प्रतिशत आयात घटाउने भन्ने हो ।’ चालु आर्थिक वर्षबाट केन्द्रमा प्रजनन केन्द्र सञ्चालन गर्ने गरी बजेट छुट्याइएको हो । ‘भूकम्पअघि प्रजनन केन्द्र थियो, भूकम्पले गर्दा क्षति पुग्यो,’ उनले भने, ‘अब चाँडै नै थप प्रजातिका भुरा उत्पादन गर्नेछौं ।’ निजी क्षेत्र र थाइल्यान्डबाट माउ माछा ल्याएर भुरा उत्पादन गरिनेछ । अहिले विभिन्न ७ वटा कम्पनीले यो माछा आयात गर्दै आएका छन् ।


यी माछाहरूको प्रजनन मनसुनमा हुने झाले बताए । मौसमअनुसार तापक्रम मिलाउनुपर्ने हुन्छ । भुरा बिक्री साउन, भदौ, असोज कात्तिक अनि चैत, वैशाख, जेठ र असारमा हुन्छ । ‘माछालाई आहारा बनाउने मात्र बढेका छैनन्,’ उनले भने, ‘माया गर्ने पनि बढेका छन्, रंगीचंगी माछालाई हेरिरहँदा समय बितेको पत्तोसमेत पाइँदैन ।’ पोखरा, चितवन, धरान, भैरहवा, बुटवलमा सौन्दर्य माछा पाल्नेको संख्या बढदै गएको छ । पोखरा र काठमाडौंमा बढी आकर्षण छ ।


‘अहिले सौन्दर्य माछा पाल्ने चलन बढेको छ,’ चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको मस्त्य विज्ञान कार्यक्रमका उपप्राध्यापक राहुल रञ्जनले भने, ‘धर्म ग्रन्थमा पनि यो माछालाई हेर्‍यो भने काम बन्छ भन्ने छ, जसले गर्दा पालनमा आकर्षण बढेको छ ।’ उनका अनुसार सौन्दर्य माछामा विदेशकै भर पर्नुपर्ने बाध्यता छ । ‘नेपालमै मागअनुसार उत्पादन गर्न सके विदेशी माछाको भर पर्नुपर्ने थिएन, माछाका लागि ठूलो रकम बाहिरिने पनि थिएन,’ उनले भने ।

प्रकाशित : भाद्र १, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?