कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेलम्चीको काम ९ महिनादेखि ठप्प, सधैं सरकारको आश्वासन

प्रधानमन्त्री भन्छन्– ‘छिट्टै काठमाडौं आउँछ’
दीपेन्द्र विष्ट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन । 

मेलम्चीको काम ९ महिनादेखि ठप्प, सधैं सरकारको आश्वासन

ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । ‘मेलम्चीको ठेकेदार पो भागेको हो, सरकार भागेको होइन,’ उनले भने, ‘यस्तो कहिलेकाहीँ भइहाल्छ, अलि ढिलो भयो, हामी पानी ल्याउँछौं, विकासको काम छिटो गर्छौं,’ उनले भने ।


गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ । त्यसयता प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । करिब ९ महिनादेखि ठप्प रहेको आयोजनाको काममा हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आयोजनाका पदाधिकारीलाई निर्माणस्थलमा जान विभिन्न समयमा निर्देशन दिए पनि स्थानीय ठेकेदारले बिल भुक्तानी नगरेसम्म काम ठप्प पार्ने चेतावनी दिँदै आएका छन् ।


सीएमसीले स्थानीय ठेकेदारलाई तिर्न बाँकी पैसा भुक्तानी नगरेसम्म स्थानीयस्तरमा काम गर्न गाह्रो हुने आयोजनाका एक अधिकारीले कान्तिपुरलाई बताए । ‘विभागीय मन्त्रीज्यूले कति प्रतिबद्धता जनाउनुभयो, त्यसको साध्य छैन । प्रधानमन्त्रीज्यूले समेत आश्वासनको पोका बाँड्नुभएको छ तर काम सुचारु हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘कहिले सचिवले गलत सूचना दियो भन्ने, कहिले सचिव र मन्त्रीबीच विवाद, कहिले आयोजना प्रमुख र सचिवबीच विवादजस्ता अन्योलबाट गुज्रिरहेको छ, अनि कसरी आउँछ समयमै पानी ?’


यसअघि पनि प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा केही दिनमै मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्नेलाई जवाफ दिने बताएका थिए । त्यसको ७ महिनापछि गत असारमा आयोजनाबारे आफूलाई गलत ‘ब्रिफिङ’ भएको प्रधानमन्त्री उनले खुलासा गरेका थिए ।


राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनालाई लिएर राजनीतिक हमलासँगै सरकारी संयन्त्रबाटै असहयोग भइरहेको खुलासा गरेका थिए । ‘मेलम्चीबारे गलत सूचना दिनेलाई कारबाही भएन, उल्टै प्रधानमन्त्रीज्यूले आइतबार यस्तो कहिलेकाहीँ हुन्छ भनेर हल्का टिप्पणी गर्नुभयो,’ आयोजनाका ती अधिकारीले भने, ‘गल्ती गर्नेमाथि कारबाही नहुने हो भने काम गर्नेको मनोबल घट्छ । काम नगर्नेले झनै छल्ने मौका पाउँछन् ।’


गत वर्ष पुसमा ललितपुरको बालकुमारीस्थित फोहोरपानी प्रशोधन केन्द्र शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना जापानी कारझैं कुदिरहेको बताएका थिए । ‘आयोजना तीव्रताका साथ अघि बढिरहेको छ,’ उनले भनेका थिए, ‘चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको छ, २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो, यो वर्ष त्यसरी हिँड्न पाएन, यसले तीव्रता पाएको छ ।’


हाल १० वटा प्याकेजमा विभाजन गरेर ठेक्का दिइएको छ । हेडवर्क्स र सुरुङ फिनिसिङमा अन्तर्राष्ट्रिय दुइटा कम्पनीले टेन्डर बिड गरेका छन् भने अन्य ८ वटा स–साना प्याकेजमा स्थानीय भेन्डरले काम पाएका छन् तर स्थानीय भेन्डरको किचलोले काम राम्ररी सुचारु हुन सकेको छैन ।


आयोजनाका अनुसार पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम, पुल निर्माणलगायत काम छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायतका निर्माण कार्य छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले दुइटा स–साना प्याकेजको काम भइरहेको बताए । ‘स्थानीय भेन्डरसँग वार्ता गर्न मन्त्रालयले टोली बनाएको छ,’ उनले भने, ‘अन्य दुइटा ठूला प्याकेजको ठेक्का सम्झौता केही दिनभित्रै हुन्छ ।’


मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको नेतृत्वमा स्थानीय भेन्डरसँग वार्ता गर्न समिति गठन गरिएको उनले जानकारी दिए । यसरी विभिन्न प्याकेजमा काम गर्दा करिब १ वर्षभित्र पानी उपत्यकामा ल्याउन सकिने उनले बताए । छिटो पानी ल्याउन द्रुत प्रक्रियाबाहेक अर्को कुनै विकल्प नभएको उनले दाबी गरे ।


प्रकाशित : भाद्र १, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?