कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष

काठमाडौँ — संघीय संसद्‌मार्फत दिएको दबाबले सरकारलाई नछोएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन लगायत मुद्दालाई सडकमा लैजाने घोषणा गरेको छ । 

राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक साताभित्र माग पूरा गराउन ध्यानाकर्षण गराउने बताए । ‘त्यसपछि पनि माग पूरा गर्ने प्रक्रिया अघि बढाइएन भने आन्दोलनमा जान्छौं,’ उनले भने ।


राजपाले ५ महिनाअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा जाने घोषणा गरेको थियो । कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएलगत्तै राजपाले समर्थन फिर्ता लिएको थियो ।


राजपाका संयोजक यादव भन्छन्, ‘प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाएकै कारण हामीले समर्थन गरेका थियौं, तर यतिका समयसम्म प्रक्रिया अघि बढेन । संविधान संशोधन पनि नगर्ने र अन्य माग समेत पूरा नगर्ने निष्कर्षमा सरकार पुगेकै हो भने आन्दोलन नगरे के गर्ने त ?’


राजपाले सडकमा लैजाने मुद्दा संविधान संशोधनका अतिरिक्त लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निलम्बित सांसद चौधरीलाई रिहाइ गर्नुपर्ने माग प्रमुख छन् । संविधान संशोधनमा उसका पहिचानमा आधारित संघीयता, जनसंख्याको आधारमा प्रतिनिधित्व, समावेशी समानुपातिक, नागरिकता, राष्ट्रिय सभा निर्वाचन प्रणालीलगायत विषय छन् ।


उसले तत्कालीन कांग्रेस/माओवादी गठबन्धन सरकारले संशोधनका लागि लगेका विषय मात्रै पूरा भए पनि चित्त बुझाउन सकिने अनौपचारिक संवादमा बताउँदै आएको छ । त्यतिबेला सरकारले सीमांकनसम्बन्धी विवाद आयोगमार्फत टुंगो लगाउने, स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने, अंगीकृत नागरिकता र राष्ट्रिय भाषालाई मान्यता दिनेलगायत विषय समावेश थिए ।

प्रकाशित : भाद्र २, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?