रित्तिँदै दलित अभियन्ताको गाउँ

प्रकाश बराल

बागलुङ — सदरमुकामदेखि ३० मिनेटको जिपयात्रामा गैह्रागाउँ पुगिन्छ । बागलुङ नगरपालिकाको चक्रपथछेवैको गाउँमा झन्डै ५० घर छन् । ३० वटा रित्ता र जीर्ण छन् । 

बसिरहेकाहरू पनि कहिले चितवनको योजना बुन्छन्, कहिले राजधानीको । कति बागलुङ बजारतिर झरेर बस्ने योजनामा छन् ।

बागलुङ नगरपालिका–७ को यो गाउँमा खेतीपाती राम्रो हुन्छ । तर धेरै खेतबारी बाँझै छ । गाईभैंसी पाल्ने चलन हरायो, त्यसैले मल छैन । ‘मल नभएपछि कृषिबाली उत्पादन हुँदैन’ ८० वर्षीय देवीराम विकले भने, ‘काम गर्ने युवा बस्दैनन्, बूढाबूढीले केही गर्न सकिंदैन ।’


दलित आन्दोलनका अगुवा भगत सर्वजितको जन्मस्थान यो गाउँमा दुई दशकअघिसम्म राम्रै चहलपहल थियो । युवा गाउँमै थिए । मकै, कोदो लगाएर खान पुर्‍याउँथे । अहिले कोही वैदेशिक रोजगारीमा निस्के, कोही सदरमुकाममा सुनचाँदी व्यवसाय गर्छन् । केही काठमाडौं पसिसके ।


दशकअघि राजधानी पसेका परशुराम विकले सुनचाँदी व्यवसायबाटै घर बनाए । उनको साथ लागेर धेरै युवा काठमाडौं बस्ने भइसके । यहाँकै मनीष खाती सदरमुकाममा सुनचाँदी व्यवसाय गर्छन् । उनले पनि गाउँ फर्कने चाहना मारिसके । पैसा कमाएपछि सबैले गाउँ बिर्सेको स्थानीय ओमबहादुर विश्वकर्माको गुनासो छ । ‘यो इतिहास बोकेको थलो हो तर बसिदिने कोही भएन,’ विकले भने, ‘भगत सर्वजित विश्वकर्माको गाउँ रित्तिन दिन हुँदैन ।’


दशकअघि यही खेतीपाती गरेर बसेका होमबहादुर विक, कुमबहादुर विक, गिरीबहादुर विक, लालबहादुर विकजस्ता १५ जनाका घर भत्कनै लागेका छन् । सहर पसेका युवा फर्काउन उद्योगधन्दा चलाउने, रोजगारी अवसर सिर्जना गर्ने वा मनोवैज्ञानिक रूपमा आकर्षण गर्ने संरचना अत्यावश्यक भइसकेको वडाध्यक्ष खगराज पाण्डेले बताए ।


‘युवालाई मन छुने वा पर्यटक भएर गाउँ आउने वातावरण चाहियो,’ उनले भने, ‘त्यसका लागि होमस्टे, कला–संस्कृति संरक्षणको थलो वा अन्य केही गन्तव्य बनाउनैपर्छ ।’ भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले पाहुना भित्र्याउन संग्रहालयको अवधारणा ल्याएर काम थालेको उनको भनाइ छ ।


फलफूल र तरकारीसमेत मनग्गे फलाउन सकिने उक्त गाउँमा सिँचाइको आवश्यकता रहेको चन्द्रबहादुर विकले बताए । ‘अब नगरपालिकाले यो सिंगो भूगोललाई उत्पादनमुखी काममा लगाउनुपर्छ,’ उनले भने, ‘इतिहास बोकेको थलो चिनाउने काम गर्दा सबैले साथ दिन्छन् ।’ बागलुङ नगरपालिकाले भने ठोस कार्यक्रम बनाएको छैन ।


१९५० सालमा कालिमाटीमा जन्मेका विश्वकर्माले जातीय विभेदविरुद्ध पहिलोपटक आन्दोलन गरेका थिए । ‘युवा रोजगार कार्यक्रम, दलित छात्रवृत्ति कार्यक्रमहरू भगतको नामबाट गर्नुपर्थ्यो,’ विकले भने, ‘भगतको इतिहासलाई सम्बोधन गर्न खोजिएन ।’ भगतले अध्ययन गरेका ग्रन्थ, उनको जीवनशैली झल्कने वस्तु र कलाकौशल जोगाउन राज्यको लगानीको आवश्यकता उनले औंल्याए ।


भगतको घर पनि भत्कनै लागेको छ । प्रतिष्ठानले भने नमुना, पार्क र पदमार्गसमेत बनाउन सकिने योजना अगाडि सारेको छ । संग्रहालयसहितको योजना पूरा गर्न २ करोड ६० लाखको इस्टिमेट बनेको प्रतिष्ठानका महासचिव परशुराम विक बताउँछन् । भगतका नाति लालबहादुरले ४ आना जग्गा दान दिएर यो अभियानमा साथ दिन आग्रह गरेका छन् ।


दलित मुक्ति अभियानका लागि भगत सर्वजितले आफैं संस्कृत, वेद र पुराण अध्ययन गरेर परिवर्तनको प्रयास गरेका थिए । विश्वकर्मा भन्छन्, ‘उहाँ राष्ट्रिय विभूति हो ।’ शिक्षाको विकास गर्न २००७ सालमा भगतले खोलेकाले विद्यालयको नाम समेत विश्वकर्मा राखिएको छ । ‘धार्मिक ग्रन्थअनुसार विश्वकर्मा भनेको शिल्प ब्राहमण हो,’ विक भन्छन्, ‘२००७ सालमा हिक्मत सिंह, लक्ष्मीनारायण विश्वकर्मा, मनवीर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ लिएर भगतले विद्यालय खोल्नुभएको हो ।’


विभेद चाहेकाहरूले त्यतिबेला उनको घरगोठ भत्काएका थिए । गाथगद्दी ताकेको आरोपमा भगतलाई तत्कालीन शासकले १७ महिनासम्म जेल हालेका थिए । विश्वकर्माले श्री ३ मोहनशमशेरसमक्ष आफ्नो वास्तविक माग राख्ने मौका पाएपछि जेलमुक्त गरिएको थियो ।


भारतबाट अध्ययन गरेर फर्केपछि १९९७ सालमा विश्वकर्माले ‘विश्व सर्वजन संघ’ नामक संस्था पनि खोलेका थिए । संस्थागत रूपमा आर्थिक उन्नतिका लागि श्रम शोषण र उत्पीडन हटाउन उनले अगुवाइ गरेका थिए । बालीघरे प्रथालाई परिमार्जन गर्न उनले जिन्सीको साटो नगद पाउनुपर्ने आवाज उठाएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?