नगर बसमा ई–टिकेटिङ

पोखरा — बेगनासतालदेखि फेवाताल चल्ने बसमा तालचोकबाट देवी अधिकारी चढिन् । पृथ्वीचोक झर्न उनले ३० रुपैयाँ भाडा तिरिन् । ग१ख ६७४२ नम्बरका सहचालकले घाँटीमा भिरेको एटीएम मेसिन जस्तै देखिने उपकरण थिचे ।

नगर बसमा ई–टिकेटिङ

मेसिनबाट निस्किएको टिकट देवीलाई थमाइदिए । ‘टिकट नदिनेलाई कारबाही हुन्छ भन्ने सुनेकी छु,’ छेवैका अर्का यात्रुसँग गफिँदै अधिकारीले भनिन्, ‘अलि पछि कार्ड पनि आउने रे !’


पोखरा महानगरपालिकाको संयोजनमा नगर बसमा ई–टिकेटिङ (विद्युतीय प्रणालीमार्फत भुक्तानी) सुरु भएको छ । एक साताअघि पहिलो चरणमा ४ सय बसमा परीक्षणस्वरूप ई–टिकेटिङ सुरु गरिएको छ । पहिलो चरणमा उपकरणबाट टिकट प्रिन्ट गरेर दिइन्छ । केही महिनापछि यात्रा कार्डबाट भाडा तिर्ने प्रणाली तयार गर्ने महानगरको योजना छ ।


सुरुमा बानी पार्न कागजमा प्रिन्ट गरेर दिइएको महानगर प्रमुख मानबहादुर जीसीले बताए । ‘केही महिनाभित्रै पूर्णरूपमा ‘पेपरलेस’ प्रविधिमा जान्छौं,’ उनले भने, ‘स्मार्ट महानगरको अवधारणाअनुरूप यो योजना ल्याइएको हो ।’ भदौ ४ सम्म ८ सय बसमा ई–टिकेटिङ सुरु गर्ने महानगरको लक्ष्य छ । गत वैशाखमै यो प्रणाली सञ्चालन गर्ने लक्ष्य लिइए पनि तयारी नपुगेकाले बल्ल सुरु भएको हो ।


महानगरले एन क्लाउड प्रालिसँग प्राविधिक र ओम विकास बैंकसँग बैंकिङ व्यवस्थापनमा समन्वय गरेको छ । एन क्लाउडले उपकरण उपलब्ध गराउँछ । हङकङबाट उपकरण ल्याइएको छ । एउटा मेसिनको २५ हजार रुपैयाँ पर्छ । मेसिनको किस्ताबन्दीबापत मासिक ९ सय रुपैयाँ तिर्नुपर्छ । यातायात कर्मचारीलाई मेसिन चलाउन एन क्लाउडले नै तालिम दिएको छ ।


‘ट्याप टु पे’ अवधारणामा महानगरले सुरुमा १० हजार कार्ड निःशुल्क बाँड्नेछ । त्यसपछि प्रतिकार्ड लागत मूल्यका आधारमा १ सय ६५ रुपैयाँ लिने महानगरको तयारी छ । भदौसम्म २० हजार कार्ड वितरण गरिसक्ने र ६ महिनाभित्र ३ लाख यात्रा कार्ड बाँड्ने योजना छ । पैसा तिर्दा र कार्ड प्रयोग गर्दा भाडादरमा फरक हुन्छ ।


कार्ड प्रयोग गर्दा २० रुपैयाँ भाडा तिर्दा १ रुपैयाँ, ३० तिर्दा २ रुपैयाँ, ४० तिर्दा ३ रुपैयाँ, ५० तिर्दा ४ रुपैयाँ र ५० भन्दा बढी तिर्दा ५ रुपैयाँ छुट हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकलाई ४५ प्रतिशत छुटसहितको कार्ड बन्नेछ । यात्रा कार्ड रिचार्ज गर्न मिल्ने हुन्छ । एकपल्टमा एक हजार रुपैयाँसम्म रिचार्ज गर्न मिल्छ ।


ओम डेभलपमेन्ट बैंक, पोखराका विभिन्न वडा कार्यालय, यातायात कम्पनीका काउन्टरबाट कार्ड किन्न सकिने व्यवस्था मिलाइनेछ । कार्ड लिँदा यात्रुले धरौटीस्वरूप सय रुपैयाँ राख्नुपर्छ । कार्ड लिएपछि बोनसस्वरूप सित्तैमा सय रुपैयाँ रिचार्ज हुन्छ । कार्डका लागि दुई प्रति फोटो र परिचय खुल्ने कागजात आवश्यक पर्छ । पछि

धरौटी फिर्ता दिइन्छ ।


टिकटको कारोबार सीधै बैंकमा देखिने भएकाले राजस्व छली रोकिने महानगर प्रमुख जीसीले बताए । ‘यसले बसपिच्छे फरक भाडा भयो भन्ने सेवाग्राहीको गुनासो पनि सम्बोधन हुनेछ,’ उनले भने, ‘खुद्रा नभएर २–३ रुपैयाँ फिर्ता नगर्ने चलन अन्त्य हुन्छ । कार्ड लिएर हिँड्न सजिलो पनि हुन्छ ।’ गाडीको मोडल पनि फेर्ने गरी पोखराको यातायात गुरुयोजना तयार गरिरहेको उनले जानकारी दिए ।


कार्ड प्रणाली सुरु भएपछि चढेको ठाउँमा यात्रुले मेसिनमा कार्ड ‘टच’ गराउनुपर्ने एन क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले बताए । झर्ने बेलामा पनि ‘टच’ गराउनुपर्छ । यात्रा गरेको दूरीबमोजिम मेसिनले कार्डबाट पैसा काट्छ । मेसिनसँगै बसमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जोडिएको हुन्छ । त्यसले निश्चित दूरीअनुसारको भाडा निर्धारण गर्छ ।


कार्डबाट काटिएको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुन्छ । ई–टिकेटिङ लागू भएपछि यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा हुने श्रेष्ठको भनाइ छ । ‘व्यवसायीले पनि कति यात्रु चढे र कति आम्दानी भयो भन्ने सोझै थाहा पाउन सक्छन्,’ उनले भने, ‘यात्रुलाई तोकिएकै भाडादरमा पैसा तिर्न मिल्छ ।’ समय र पैसा दुवै बचत हुने र यात्रु ठगिने सम्भावना नरहने उनी बताउँछन् ।


पोखराभित्र चल्ने नगर बस, पोखराबाट नयाँपुल, घान्द्रुक, सिक्लेस, रूपाकोट, हंसपुर, दमौली, भिमादलगायत स्थान पुग्ने बसमा ई–टिकेटिङ लागू हुनेछ । सुरुवातमा नगर बसमा राखिने, बिस्तारै ट्याक्सी र अन्य सार्वजनिक सवारीमा पनि जडान गर्ने महानगरको तयारी छ ।


तत्कालका लागि नगद र कार्ड दुवै तरिकाबाट पैसा लिने र कार्ड वितरणलाई बढाउँदै नगद कारोबार बन्द गर्ने योजना रहेको पोखरा यातायात प्रालिका अमृत तिमिल्सिना सुनाउँछन् । पोखरामा दर्ता भएका ८ यातायात कम्पनीले गत वैशाखमै ई–टिकेटिङ प्रणालीमा जाने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?