२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुन तस्करीमा समातिँदै चिनियाँ 

जेलमा रहेकामध्ये धेरैजसो संगठित तस्करीमा संलग्न
जनकराज सापकोटा

काठमाडौँ — हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज साउन २० मा चार केजी सुनसहित पक्राउ परे । त्यसको करिब चार महिनाअघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्थलबाटै समातिएका थिए । 

सुन तस्करीमा समातिँदै चिनियाँ 

संगठित सुन तस्करीमा चिनियाँको शृंखलाबद्ध संलग्नता नेपालका लागि चासोको विषय बन्न थालेको छ । ०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ । कारागार व्यवस्थापन विभागका अनुसार देशभरका जेलमा रहेका २३ हजार कैदीमा विदेशीको संख्या ११ सय ७२ छ । यिनमा चिनियाँ ९ जना छन् । तीमध्ये धेरैजसो संगठित सुन तस्करी र विदेशी मुद्राको अवैध ओसारपसारमा पक्राउ परेका हुन् ।

०७४ भदौ १९ मा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीको एक होटलबाहिर रोकिराखेको गाडीमा फल्स बटमभित्र लुकाइएको ८८ केजी सुन बरामद गरेको थियो । केरुङ नाका हुँदै भित्रिएको उक्त सुन ठमेलमै होटल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको सूचना थियो ।

तर मिङ काठमाडौंबाट भाग्न सफल भए । प्रहरीका अनुसार पछिल्लो दशकमा काठमाडौंलाई ट्रान्जिट बनाएर चीनबाट भारतीय बजारमा सुन तस्करी गर्नेमध्ये मिङ एक हुन् । उक्त घटना अनुसन्धान गरिरहेका एक उच्च प्रहरी अधिकारीले मिङकै सिको गर्दै अन्य केही चिनियाँले पनि गाडीमा फल्स बटम बनाएर केरुङबाट काठमाडौंमा सुन तस्करी गर्ने, यहाँबाट भारतीय बजारमा पुर्‍याउने कामलाई निरन्तरता दिएका थिए ।

प्रहरी उच्च अधिकारीहरूका अनुसार चिनियाँको अपराध मुख्य गरी अवैध सुन, विदेशी मुद्रा ओसारपसार र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीमा केन्द्रित छ । चिनियाँ समाजमा प्रचलित परम्परागत औषधिमा प्रयोग हुने वन्यजन्तुको अंग, सल बनाउन प्रयोग हुने चिरु रौं तस्करीमा पनि उनीहरू संलग्न देखिन्छन् । चीनसँग निकटता र चिनियाँ पर्यटक बढेसँगै अपराधमा उनीहरूको उपस्थिति देखिन थालेको हो ।

अनुसन्धान अधिकारीका अनुसार यी सबैखाले तस्करी र ओसारपसारको जालो जोडिएको छ । तस्करीको सुन बेचेर प्राप्त रकम चिनियाँले विदेशी मुद्रामा रूपान्तरण गर्ने र त्यसलाई अवैध रूपमा ओसारपसार गर्छन् ।

०७३ माघ १ मा महानगरीय प्रहरी अपराध महाशाखाले केरुङ हुँदै तिब्बत जाने तयारीमा रहेका तीन चिनियाँलाई थानकोटबाट पक्राउ गर्‍यो । प्रहरीले उनीहरूको गाडीबाट ४ करोड ४० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा फेला पारेको थियो । महाशाखाले यो घटनालाई केरुङ नाका हुँदै भइरहेको अवैध सुन तस्करीको शृंखलासँग जोडेर हेरेको थियो ।

गत मंसिरमा ड्रागन एअरबाट हङकङ उड्न लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन बन र १ हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परेकी थिइन् ।

प्रकाशित : भाद्र २, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?