कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डम्म ‘बादल’

बिनु सुवेदी

काठमाडौँ — आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि ।

डम्म ‘बादल’

दोस्रो विश्वयुद्धको समय । भारतीय सेनाका मेजर कर्णबहादुरको कहिले कता, कहिले कता सरुवा भइरहन्थ्यो । उनको सरुवा जता हुन्थ्यो, छोराछोरीको पढाइ पनि त्यतैत्यतै हुन्थ्यो । कहिलेकाहीँ त ६/६ महिनामै फेरिन्थे स्कुल । नेपालको पहाडबाट झरेका उनको परिवारका सदस्य देख्नमा भारतीयभन्दा अलि पृथक् थिए । अझै बेग्लै देखिन्थे– उनका जेठा छोरा ।


कर्णबहादुरका तिनै जेठा छोरा हुन्– रामबहादुर थापा ‘बादल’ । जो अहिले नेकपा सचिवालय सदस्य र गृहमन्त्री छन् । जिम्मेवारीका हिसाब उनी बोलिरहनुपर्ने ठाउँमा छन् तर हम्मेसी बोल्दैनन् । गत मंसिर २३ गते सचिवालय बैठक ४ घण्टा बस्यो, केही सैद्धान्तिक एजेन्डामा घनिभूत छलफल पनि भयो तर बादलको बोली फुटेन । ‘सबै नेता छलफलमा सहभागी भएर आ–आफ्ना तर्क राखिरहेका हुन्छन्, उहाँ बोल्दै बोल्नुहुन्न,’ एक सचिवालय सदस्यले भने, ‘बादलजीले बोल्ने र पक्ष विपक्षमा छलफल गर्ने भनेको दुर्लभ घटना हो । जब उहाँ हल्लिनुहुन्छ ०७२ को भन्दा ठूलो भूकम्प ल्याइदिनुहुन्छ ।’


०७३ सालमा वैद्य समूह छोडेर मूल पार्टी माओवादीमै फर्किए । ०७५ मा एमाओवादी र एमाले मिलेर नेकपा बनेपछि उनी त्यसरी बोलेको सम्झना नेकपा सचिवालयका सदस्यहरूलाई छैन । पक्ष–विपक्षको लडाइँमा ‘बादल’ को यही मौनतालाई दुवै अध्यक्षहरूले आफूअनुकूल व्याख्या गरे । गुटको हिसाबकिताबमा दुवै अध्यक्षका खातामा चढे तर बादल हल्लिएनन्, पार्टीभित्रका यस्ता बहस उनले मुसुमुस हाँसेर टारिदिए ।


उनी सचिवालयमा मात्रै होइन, मन्त्रिपरिषद् बैठकमा पनि हम्मेसी बोल्दैनन् । ‘एउटा एजेन्डा आयो भने धेरैजसो मन्त्रीहरू कल्याङमल्याङ गरिरहन्छन्, उहाँ नबोलेपछि प्रधानमन्त्रीज्यूले गृहमन्त्रीज्यूको पनि केही छ कि भनेर सोध्नुपर्छ,’ मन्त्रिपरिषद् बैठकमा बादलको उपस्थितिबारे उनकै सहयात्री एक मन्त्रीले भने, ‘बादलजी र मौनता पर्यायवाचीजस्तै हो ।’


बादल किन मौन बस्छन् ? उनको जवाफ छ, ‘म पहिलेदेखि नै कम बोल्ने मान्छे हुँ, अनावश्यक विषयमा किन धेरै बोलिरहनु ?’ बादलले आफूलाई अन्तर्मुखी स्वभावको भनेर बारम्बार भनिरहेका हुन्छन् । उनले युद्धकालीन मोर्चाका बैठकहरूमा पनि आफ्ना भनाइ राख्दा ‘म अलिकति अन्तर्मुखी स्वभावको छु,’ भनेर आफ्ना कुरा सुरु गर्थे । सैद्धान्तिक बहस र प्रशिक्षण त उनले पाँच घण्टा लामो पनि गरेका छन् ।


आफू कसरी कम बोल्ने हुन थालेँ भन्ने विषयको व्याख्या उनले आफ्ना साथीहरूको माझमा पनि गरेका छन् । ०६० सालमा उनी तत्कालीन नेकपा माओवादीको पूर्वी कमान्ड इन्चार्ज थिए । उनको दैनिकी पूर्वी पहाडतिरै बितिरहन्थ्यो । ०६० को एक साँझ बादललाई आफ्नो बाल्यकालबारे साथीहरूसँग कुरा गर्न मन लागेछ, उनैले आ–आफ्नो पृष्ठभूमिबारे छलफल गर्न प्रस्ताव गरे र आफ्नै कथा सुरु गरे ।


बादलको मौनता उनको बाल्यकाल र राजनीतिक यात्राका विभिन्न घटनाक्रमसँग पनि जोडिएको रहेछ । उनका बुवा आबद्ध सैन्य टुकडी त जता पनि उस्तै हुन्थ्यो तर अरू वातावरण त्यहाँको समाजअनुसार नै चल्थ्यो । समाजकै बनोटअनुसारका स्कुलहरूका माहोल फेरिए, साथीसंगति फेरिए तर भारतका सबै ठाउँ घुम्दा भेटिएका शिक्षक र साथीहरूको व्यवहार फेरिएन । सबैले उस्तै खालको व्यवहार गर्ने र हेप्ने भएपछि उनी बाल्यकालदेखि नै एकदम कम बोल्ने हुन थाले तर ‘विद्रोही’ बने ।


सम्भवत: बादलले त्यो चुपचाप शैलीबाटै विद्रोहको गोरेटो कोरेका थिए । त्यो संस्थागत भने उनी १९ वर्षका भएपछि मात्रै भयो, जतिखेर रामपुर कृषि क्याम्पसमा पुष्पकमल दाहालसँग उनले भेटे ।


संखुवासभाको कुनै पहाडमा तत्कालीन माओवादीको किरात स्वायत्त जनसरकारको टोलीसँग बादलले भनेका थिए, ‘उनीहरूको हेपाइका कारणले म राष्ट्रवादी भएँ, क्रान्तिकारी भएँ, भारतीयले नहेपेको भए म राजनीतिमा आउँथें कि आउँदिनथें थाहा छैन ।’ उनले बाल्यकालका साथीहरूको व्यवहारले आफूलाई अन्तरमुखी बनाएको बताएका थिए । उमेर बढ्दै जाँदा पनि बादलको यो स्वभावको मात्रा नघट्नुमा विभिन्न परिस्थितिजन्य घटनाहरू मुख्य कारण हुन् ।


पुष्पकमल दाहालसँगको मित्रताले २० वर्ष पार गर्नै लाग्दा उनीहरूकै अगुवाइमा सुरु भएको जनयुद्धले खास आकार ग्रहण गरिनसक्दै बादलको यात्रामा संकटहरू आए । उनीमाथि बारम्बार कारबाहीको निर्णय दाहालको नेतृत्वमा भयो । त्यसपछि बादल झन् कम बोल्ने हुँदै गए । पार्टी फुट्यो, एक भयो तर बादलले खुलेर बोल्ने साथी पाएनन् । यिनै घटनाक्रमले बादल मौनतामै अल्झिरहन्छन् भन्ने विश्लेषण उनी निकटहरूको छ ।


त्यसो हो भने नेकपाको राजनीति र सरकारको काममा बादल तटस्थ छन् त ? ‘राजनीतिमा तटस्थता भन्ने हुँदैन, म त झन् छैन,’ बादलले भने, ‘तर म कम बोल्छु, बोल्दै नबोल्ने भन्ने होइन । मलाई विषयभन्दा बाहिर गएर बोल्न उचित लाग्दैन ।’


बादल हरेक कुरालाई सैद्धान्तीकरण गरेर मात्रै बोल्छन् । उनको स्वभावबारे उनीसित अलिक धेरै संगत गरेका तत्कालीन माओवादी नेता गोपाल किराती भन्छन्, ‘उहाँले कहीँ कतै पनि यो यस्तो, उ उस्तो भनेको मलाई सम्झना छैन । उहाँ चरित्रहरूको व्याख्या गर्नुहुन्थ्यो, त्यो चरित्र कहिले प्रचण्डसँग मिलेजस्तो देखिन्थ्यो, कहिले बाबुरामसँग ।’ धेरैजसो बादलका भाषण तल्लो तहका कार्यकर्ताले नबुझ्ने प्रचण्ड र बाबुरामले मात्रै बुझ्ने खालका हुने गरेको किरातीको टिप्पणी छ ।


बादलको यही चरित्रको कारण पनि उनी व्यक्ति–व्यक्ति किटेर बहस गरिने अहिलेको राजनीतिमा ‘आइसुलेन’ मा परेका हुन सक्छन् । राजनीति शास्त्रको व्याख्यामा बादलको जस्तो चरित्रलाई मध्यम चरित्रको भनिने रहेछ । यो खालको स्वभाव हुनेहरू सहायक नेतृत्वमा मात्रै रहन सक्ने तर मुख्य नेतृत्वमा पुग्न नसक्ने हुन्छन् । पार्टीको पहिलो तहको नेता भएपछि त नबोली हुँदै हुन्न, निर्णय गर्दा कोही खुसी कोही बेखुसी हुन सक्छन् तर सबै कुरा सैद्धान्तीकरण गरेर बोल्नुको अर्थ उनी रणनीतिक चरित्रका नेता हुन् । ‘फर्स्ट मेन बन्नका लागि रणनीति र कार्यनीति मिलाउनपर्छ तर कार्यनीतिक चरित्रको अभावमा उहाँ बेलाबखत पछाडि पर्नुहुन्छ । त्यही कारणले उहाँका नजिकका मान्छेहरू मार खाने गर्छन्,’ किराँतीको विश्लेषण छ ।


उसो त सबैसित सबै गुण र चरित्र हुनुपर्छ भन्ने पनि होइन । तर सैद्धान्तिक रूपमा मात्रै बोल्ने व्यवहारले कहिलेकाहीँ राजनीतिक संकट पनि निम्तिने रहेछ । तत्कालीन माओवादी नेताहरू ०६९ मा माओवादीभित्रको फुटको कारण बादललाई नै मान्छन् । उनी कतै ढलपल नभएर बहस छलफल गरुन्जेल पार्टीमा बहस मात्रै थियो । जब वैद्यलाई साथ दिए, माओवादी फुटेर दुई टुक्रा भयो । बादल र नेत्रविक्रम चन्दहरू मोहन वैद्यको साथमा लागे । यो सँगसँगै ०३१ सालदेखिको बादल र पुष्पकमल दाहालबीचको मित्रता पनि टुट्यो । पछि वैद्यसँग पनि उनीहरूको कुरा मिलेन चन्द भूमिगत राजनीतितिर गए, बादल पुरानै पार्टीमा फर्किएर आए ।


सम्भवत: उनीहरूबीच पनि पार्टी सञ्चालनकै सन्दर्भमा ठूलो मनमुटाव भयो । त्यसको छाया चन्दले पोहोर निकालेको महापतन नामक किताबमा देखिन्छ । उक्त किताबमा चन्दले बादललाई ‘दब्बु’ र ‘मस्तराम’ भनेर टिप्पणी गरेका छन् । चाहिएको कुरा चाहिएको बेलामा नबोल्ने बादलको रणनीतिक चरित्रबारे चन्दको यो टिप्पणी आएको हो । परेको बेलामा नबोल्ने र व्यावहारिक बन्न नसक्ने उनको स्वभावबारे नेकपाभित्र बेलाबेला कुरा उठ्ने गर्छ । नेताहरू स्वीकार्छन् पनि, ‘बादलको आलोचना गर्न सकिन्छ तर उनको स्वभावको हुन गाह्रो पर्छ ।’


वैज्ञानिक समाजवादमा बादलको स्वभाव प्रभावकारी मान्न सकिने तर नेपालको अहिलेको राजनीतिक समाजिक चरित्रमा फिट नहुने तर्कहरू पनि आइरहेका हुन्छन् । उनको यही चरित्रकै कारण तत्कालीन माओवादीमा बादललाई गुटविहीन नेताका रूपमा चिनिन्थ्यो । अहिले नेकपामा आइसकेपछि वैद्य समूहबाट उनीसँगै आएका केही नेताको समूहको नेतृत्वमा उनी छन् । तर कार्यकर्तालाई माया गर्ने भए पनि सिद्धान्तको मात्रै कुरा गर्ने भएकाले उनको टिममा रहेका कार्यकर्ता मारमा पर्ने गरेका छन् । ‘कतिपयलाई घाटा त होला तर बादलको जस्तो स्वभाव भएको दुर्लभ चरित्रको मान्छे समाजमा कम हुन्छन्,’ किरातीले भने, ‘वास्तवमा उहाँ समुद्रजस्तै हुनुहुन्छ ।’

प्रकाशित : पुस ३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?