२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भ्रष्टाचारी ठहरिएका डा. भक्तमान श्रेष्ठका अपहरणकारी ९ वर्षपछि पक्राउ

काठमाडौँ — बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठका अपहरणकारी गौतम योञ्जन ९ वर्षपछि पक्राउ परेका छन् ।

श्रेष्ठलाई अपहरण गरी फिरौती लिएका योञ्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो । 

भ्रष्टाचारी ठहरिएका डा. भक्तमान श्रेष्ठका अपहरणकारी ९ वर्षपछि पक्राउ

बिहीबार नै योञ्जनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी केन्द्रीय कारागार, सुन्धारा पठाइएको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए ।

२०६७ साल जेठ ४ गते अस्पतालबाट घर फर्कने क्रममा योञ्जनले डा. श्रेष्ठलाई अपहरण गरी बन्धक बनाएका थिए । डा. श्रेष्ठलाई अपहरणपश्चाच् काठमाडौं र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाएर राखेका योञ्जनले १८ दिनपछि फिरौती लिएर धादिङको मझिमटारबाट अपहरणमुक्त गरेका थिए ।

योञ्जनलाई तत्कालीन पुनरावेदन अदालत हेटौंडा इजलासले २०७० साल माघ २१ गते मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा कसुरदार ठहराइ ९ वर्ष कैद र ५० हजार जरिवानाको सजाय तोकेको थियो । तर उनी श्रेष्ठलाई अपहरणमुक्त गरेदेखि नै फरार थिए ।

विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई २०७५ कात्तिक १३ गते गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ करोड १८ लाख ६६ हजार ७७६ गैरकानुनी रुपमा आर्जन गरेको ठहर गरेको हो । विशेष अदालतले श्रेष्ठलाई एक वर्ष कैद हुने ठहरसमेत गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फागुन २ गते श्रेष्ठ र उनकी पत्नीविरुद्ध १ करोड ६७ लाख रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

२०५४ साल साउन १ गते सेवा प्रवेश गरेका भक्तमानको २०७० साल साउन ४ गतेसम्मको सम्पत्ति मूल्यांकन भएको थियो। त्यसक्रममा तीन करोड ७९ लाख रुपैयाँ आर्जन गरेकोमा एक करोड ८५ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी थियो। अख्तियारले उनकी पत्नी शिलुलाई समेत प्रतिवादी बनाएको थियो।

प्रकाशित : पुस ४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?