कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्पतालमा सुत्केरी बन्धक : ३५ दिनपछि छोरी भेट्दा भक्कानिइन् ललिता

अवधेशकुमार झा

(राजविराज) — अनुहार हेरेर पहिले भक्कानिइन् । अनि आफूलाई सम्हाल्दै छोरीलाई दूध खुवाइन् । सप्तरीको तिलाठी कोइलाडी–८ की ललितादेवी खंगले अस्पतालमा जन्म दिएकी छोरीलाई ३५ दिनपछि बल्ल देख्न पाएकी हुन् । 

अस्पतालमा सुत्केरी बन्धक : ३५ दिनपछि छोरी भेट्दा भक्कानिइन् ललिता

उपचार खर्च बुझाउन नसक्दा अस्पतालबाट निस्कन नपाएकी खंग रकम जुटेपछि बिहीबार साँझ मुक्त भएर घर जान पाएकी हुन् । ‘आज म पुनर्जन्म पाएर घर फर्किएकी छु, मेरो मात्र होइन, मेरी छोरीले पनि नयाँ जीवनसँगै आमाको सहारा पाएकी छे,’ उनले भनिन्, ‘यसमा सहयोग गर्ने सबै मेरा लागि भगवान् हुन् ।’


अस्पतालमा सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा पछिल्लो १५ दिनदेखि उनी विराटनगर अस्पताल प्रालिमा थिइन् । उनका बारेमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि विभिन्न सहयोगी व्यक्ति र संस्थाहरूले उपचार खर्च जुटाइदिएपछि छुटेकी हुन् । गत कात्तिक २८ को राति उनले जुम्ल्याहा छोरी जन्माएकी थिइन् । प्रसूतिपछि सिकिस्त बिरामी भइन् ।


यो पनि



पहिलो, दोस्रो स्वास्थ्य संस्था गर्दै तेस्रो पटकमा उनलाई विराटनगर अस्पताल लगेर आईसीयूमा भर्ना गरिएको थियो । उनले हेर्न नपाउँदै जुम्ल्याहामध्येकी एउटी छोरीको मृत्यु भएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएपछि अर्की छोरी पति गोपीकुमार खंगले स्याहारका लागि सप्तरीको तोपास्थित घर ल्याएर आफन्तको निगरानीमा राखेका थिए । ललिता निको भए पनि उपचार खर्च बुझाउन नसक्दा अस्पतालबाट घर जान पाएकी थिइनन् । विभिन्न संस्था र व्यक्तिले सहयोग गरेपछि उनी डिस्चार्ज भएकी हुन् ।


उनको उपचार खर्चमा पोखरा–७ मासवारको मदरल्यान्ड माविले ५० हजार ५ रुपैयाँ, विशाल ग्रुप फाउन्डेसन, थापाथली र इटहरीस्थित स्वदेशी लघुवित्त वित्तीय संस्थाले ५० हजार, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले २५ हजार र हनुमाननगर कंकालिनी नगरप्रमुख शैलेशकुमार साहले २५ हजार सहयोग गरे । प्रदेशसभा सदस्य मनीषकुमार सुमनले ११ हजार, मैथिली अभियानी करुणा झाले १० हजार, पोषण पुनःस्थापना गृह राजविराजकी प्रमुख रश्मि झाले १५ हजार, सप्तरी युथले ५ हजार, सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति एसपी उद्धव न्यौपानेले ६ हजार १ सय ५, महिलानेत्री रमिला साहले २ हजार १ सय, हेल्प मधेसी साउदीका अध्यक्ष कमलदेव साहले ५ हजार, हेल्प मधेसी जापानका अध्यक्ष अशोक शर्माले ५ हजार र अन्तर्राष्ट्रिय मधेसी एकताका अध्यक्ष त्रिभुवन सिंहले ५ हजार रुपैयाँ गरी २ लाख १४ हजार २ सय १० रुपैयाँ सहयोग संकलन भएको थियो ।


अस्पतालको बिल ३ लाख ५० हजारको थियो । अस्पतालले पनि छुट गरेपछि २ लाख ७ हजार ९ सय ५ रुपैयाँ बुझाएर ललिता घर जान पाएकी हुन् । संकलित सहयोग रकममध्ये उब्रेको ६ हजार ३ सय ५ रुपैयाँ पति गोपीले बुझेका छन् ।

प्रकाशित : पुस ४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?