कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सवारी दुर्घटनाबारे संसदीय समितिको छलफल छोडेर राजदूत भेट्न हिँडे मन्त्री नेम्वाङ 

काठमाडौँ — मुलुकभर दैनिक ३७ वटा सडक दुर्घटना हुन्छन् । तिनमा ७ जनाको मृत्यु हुन्छ र ४० जना घाइते हुन्छन् । सडक दुर्घटनाकै कारण कतिपयले आफ्ना सन्तान गुमाएका छन् भने साना बाबुनानी अभिभावक गुमाएर टुहुरा भएका छन् । सातादिन अघिमात्र सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा अभिभावक गुमाएका एक बालिका अस्पतालमा रोइरहेको भिडियो सार्वजनिक भएको थियो ।

सवारी दुर्घटनाबारे संसदीय समितिको छलफल छोडेर राजदूत भेट्न हिँडे मन्त्री नेम्वाङ 

उक्त भिडियो हेरेर प्रधानमन्त्री केपी शर्मा ओली भावुक भएर खाना खान र सुत्न नसकेको समाचार प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गर्‍यो ।


मुलुकभर भइरहेका सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने भनेर प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । शुक्रबार बिहान करिब ९ बजे सुरु भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, सचिव देवेन्द्र कार्की, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायत विज्ञलाई बोलाइएको छ । विज्ञहरूले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे धारणा राखिरहेका छन् ।


हालैमात्र मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुगेका मन्त्री नेम्वाङ भने समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीको बधाई ग्रहण गरेर बाहिरिएका छन् । राजदूतसँग छलफल रहेको भनेर उनी समितिबाट निस्किएका हुन् ।


समितिमा छोटो धारणा राखेका मन्त्री नेम्वाङले पछिल्लो समय भएका सडक दुर्घटनाप्रति राष्ट्रपतिको संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताए । 'पछिल्लोपटक भएका सवारी दुर्घटना सम्बन्धी राष्ट्रपतिको समेत संवेदनशीलता व्यक्त भएको छ । प्रधानमन्त्रीबाट आवश्यक निर्देशन प्राप्त भएको छ', मन्त्री नेम्वाङले भने, 'गृहमन्त्रालय र हाम्रो मन्त्रालय मिलेर सडक दुर्घटना न्यूनीकरणबारे प्रतिवेदन तयार भएको छ । त्यसमा हिजोका दुर्घटनाका कारण र हालका कारणबारे लेखाजोखा गरिएको छ ।'


मन्त्री नेम्वाङले थपे, 'दुर्घटना न्यूनीकरण गर्न दर्जनौं योजना प्रतिवेदनमा छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइएको छ ।' उनले त्यो प्रतिवेदन समितिलाई उपलब्ध गराउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका थिए ।


त्यसपछि राजदूतसँग भेट्ने कार्यक्रम तय भएकाले जानुपर्ने मन्त्री नेम्वाङले समितिलाई जानकारी गराए । उनले भने, 'यहाँ हुने छलफलका कुरा ग्रहण गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि पहिल्यै राजदूतसँगको भेटघाट तय भएकोले बिदा माग्छु ।' स्रोतका अनुसार मन्त्री नेम्वाङ दुर्घटनाबारे समितिमा भइरहेको बैठक छोडेर चिनियाँ राजदूतलाई भेट्न गएका हुन् ।


मन्त्री नेम्वाङले कुन देशका राजदूतसँग भेट्न लागेको भन्नेबारे आफूलाई जानकारी नभएको मन्त्रालयका सचिव कार्कीले बताए ।

प्रकाशित : पुस ४, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?