१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेकपा बैठकमा लिखित मतको चाङ 

पूर्वएमाले लिखित, 'पूर्वमाओवादी मौखिक' को चर्चा
बबिता शर्मा

काठमाडौँ — मंसिर २९ र ३० गरी दुई दिनमै सक्ने भनिएको नेकपाको स्थायी समिति बैठक अझै जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले आफ्ना प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सम्भवत: बैठक शनिबार सकिनेछ । 

नेकपा बैठकमा लिखित मतको चाङ 

दुवै अध्यक्षका तर्फबाट कार्यकारी भूमिकामा रहेका अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा बैठक केन्द्रित छ ।


पार्टी सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि 'राजनीतिक प्रतिवेदन, विधान संसोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय समितिको बैठक र विविध’ गरी पाँच एजेन्डा तय गरेको थियो ।


सुरुमा एकजना सदस्यलाई आफ्ना धारणा राख्न दश मिनेटको समय दिई बैठक संचालन गर्ने अध्यक्ष दाहाल र महासचिव पौडेलको योजना थियो । एक बर्षपछि बसेको बैठकमा दस मिनेटमा आफ्ना धारणा राख्न नसकिने भन्दै सदस्यहरुले समय बढाउन माग गरेपछि बोल्नका लागि बीस मिनेटको समय दिइएको हो । महासचिव पौडेलले सदस्यले २० मिनेट बोलेपछि समय सकिएको सूचनाका रुपमा घण्टी बजाउने गरेका छन् ।


तर, २० मिनेटको सयम पनि सबैकुरा राख्नका लागि थोरै भएको महसुस गरेका कतिपय नेताहरुले भने आफ्नो मत लिखित रुपमै राखेका छन् । आफ्नो मत जस्ताको त्यस्तै पार्टी केन्द्रीय कार्यालयमा रेकर्डमा बसोस् भनेर नेताहरुले लिखित मत राखेका हुन् ।


बैठक शुरु भएकै दिन दुवै अध्यक्षको तर्फबाट भन्दै दाहालले ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसमाथि सुझाव राख्नेक्रममा अर्को दिन सचिवालय सदस्य बामदेव गौतमले लिखित धारणा राखे ।


अध्यक्षको प्रस्तावमा गर्नुपर्ने परिमार्जनका विषयमा नेता गौतमको लिखित धारणा थियो । नौ सदस्यीय सचिवालयमा गौतमबाहेक अरु नेताको लिखित धारणा छैन् । गौतमबाहेक पूर्व एमाले समूहबाट यूवराज ज्ञवाली, घनश्याम भुसाल, शंकर पोखरेल, भीम रावल, बेदुराम भुसाल, प्रदीप ज्ञवाली र विष्णु रिमालले बैठकमा लिखित धारणा राखेका छन् ।


बेदराम भुसालले लिखित धारणा राख्दा विषयबस्तु व्यवस्थित तरिकाले राख्न पाइने बताए । 'लेखेर बुझाउँदा पार्टी र आफुसँग पनि रेकर्ड रहने भयो । विषयबस्तु व्यस्थित हुन्छ । समय पनि पुग्छ ।’ भुसालले भने । उनका अनुसार तत्कालीन एमालेमा यसको अभ्यास थियो ।


पूर्व माओवादी तर्फ भने हरिवोल गजुरेलले विस्तृत रुपमा लिखित धारणा राखेका छन् । यसबाहेक पूर्व माओवादीतर्फका जनार्दन शर्मा, लेखराज भट्ट र लिलामणि पोखरेलले आफ्नो धारणाका मुख्य विषय बुँदा बनाएर पेश गरेका छन् ।


लिखित धारणा राख्ने पूर्व माओवादी समूहका एक नेताको प्रतिक्रिया छ, 'मौखिक रुपमा बोलेका विषयलाई पार्टीले सम्पत्ति नबनाउन पनि सक्छ । फेरि बोल्नेक्रममा केही कुरा पनि छुट्छ । आफ्नो मत केन्द्रीय कार्यालयमा रेकर्डका रुपमा रहोस् भनेर लिखित मत राखेको हो ।’


ती नेताका अनुसार तत्कालीन माओवादीमा फरक मत हुँदाबाहेक लिखित मत राख्ने अभ्यास कम थियो ।


विधान संसोधन प्रस्तावमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले पनि संयुक्त रुपमा लिखित मत राखेका छन् । लिखित धारणा राख्नेमा धेरै पूर्व एमाले समूहका नेता छन् । यसलाई लिएर बैठक चलिरहेको स्थल पार्टी मुख्यालयमा चर्चा छ, 'पूर्व एमाले लिखित, पूर्व माओवादी मौखिक। '


पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् 'पूर्व एमालेतर्फका धेरै साथीहरुले लिखित धारणा राख्नु भएको छ ।’


४५ सदस्यीय स्थायी समितिका सदस्य र केही आमन्त्रिण सदस्यले समेत बीस–बीस मिनेट बोलेपछि बैठक लम्बिएको हो । हरेक दिन १२–१३ जनाका दरले सदस्यहरुले धारणा राखेका थिए ।


बिहीबारको बैठकमा त राजपासँग भएको दुई बुँदे सहमतिको विषयसमेत उठेपछि केहीबेर यो मुद्दामा पनि छलफल भएको थियो । तर, अध्यक्ष दाहालले अर्को बैठकमा एजेन्डा नै बनाएर छलफल गर्ने भनेपछि बैठक नियमित कार्यसूचिमा प्रवेश गरेको थियो ।


शुक्रबार संसदको हिँउदे अधिवेनश शुरु हुने र त्यसका लागि पार्टीको संसदीय दलको बैठकसमेत बस्ने भएकाले नेकपाले शुक्रबार स्थायी समितिको बैठक भने बोलाएको छैन । बैठक अब शनिबार बस्नेछ ।


अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर दाहालले प्रतिवेदन र एजेन्डामाथि बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।


सदस्यहरुका उपयुक्त धारणासमेत समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धतासहित जवाफ दिने दाहालको तयारी छ । यसो भयो भने बैठकमा कसैको पनि फरम मत नआई प्रतिवेदन पारित हुनेछ ।

प्रकाशित : पुस ४, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?