वडाध्यक्ष २ लाख घूस लिएको आरोपमा पक्राउ
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ ।
आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको कोइरालाले बताए ।
वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएइको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।
प्रकाशित : पुस ४, २०७६ १३:४२