१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नियमविपरीत तुम्बाहाङ्फेको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फे संघीय संसदको नियमावली विपरित कार्य व्यवस्था परामर्श समितिको बैठकको अध्यक्षता गरेकी छन् ।

नियमविपरीत तुम्बाहाङ्फेको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक

शुक्रबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकको विषयवस्तु तय गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बसेको हो ।

संघीय संसद नियमावलीको १३ नम्बर बुँदामा सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने उल्लेख छ । सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने नियममा उल्लेख छैन् । तर, उपसभामुख तुम्बाहाङ्फेले नियम विपरित बैठक बसालेकी हुन्।


राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले तुम्बाहाङ्फेले बसालेका कार्यव्यवस्था परामर्श समिति बैठक प्रतिनिधिसभा नियमावली विपरित रहेको बताए । ‘नियमले परामर्श समिति बैठक उपसभामुखको अध्यक्षतामा बस्ने कल्पना गरेको छैन्,’ अधिकारीले भने, ‘व्यवहारिकतामा हेर्ने हो भने सभामुख नभएको बेलामा संसदको अध्यक्षता उपसभामुखले गर्ने, कार्यव्यवस्था परामर्श समितिको बैठकको अध्यक्षता गर्न नहुने भन्ने हुँदैन । राष्ट्रियसभामा हामीले संशोधन गरेका छौ, प्रतिनिधिसभामा संशोधन नगरिएकाले समस्या भएको हो ।’

उपसभामुखको अध्यक्षतामा बैठक बसेको नेपालको संसदीय इतिहासमा पहिलो पटक हो ।


नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले संसदको अर्को बैठक ११ गते १ बजे बसाल्ने सहमति जुटाएको छ ।

बैठकले अपरान्ह बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र पढ्ने कार्यसूची तय गरेको छ । त्यसपछि सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा पढेर जानकारी गराइने कार्यसूची पनि बैठकले तय गर्‍यो । लगत्तै अघिल्लो अधिवेशन अन्त्य भएपछि निधन भएका ४ पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गरिनेछ ।

असोज २ गते अघिल्लो अधिवेशन अन्त्य भएपछि पूर्वसांसदहरू हरिवैरागी दाहाल, रामेश्वर ढुंगेल, रामलखन महतो र कमला सुवेदीको निधन भएको थियो ।

२०५१ को निर्वाचनका प्रतिनिधिसभा सदस्य दाहालको असोज ३ गते, २०७० को दोस्रो संविधानसभा सदस्य सुवेदीको कात्तिक ९ गते, २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको कात्तिक १५ गते र दोस्रो संविधानसभका सदस्य रामेश्वरप्रसाद ढुंगेलको पुस १ गते निधन भएको थियो ।

प्रकाशित : पुस ४, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?