कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमा अतिक्रमणबारे पार्टी बैठकले रणनीति तय गर्छ : दाहाल

काठमाडौँ — सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारतले गरेको सीमा अतिक्रमणबारे पार्टीको जारी स्थायी समिति बैठकपछि स्पष्ट धारणा तय हुने बताएका छन् ।

सीमा अतिक्रमणबारे पार्टी बैठकले रणनीति तय गर्छ : दाहाल

शुक्रबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले भारतले नेपालको सीमा मिचेको र आफ्नो नक्सामा राखेको विषयमा सरकारले कूटनीतिक टिप्पणी (डिप्लोमेटिक नोट) भारत सरकारलाई पठाएको र अब कसरी प्रस्तुत हुने भन्ने निर्णय जारी स्थायी समितिले गर्ने सांसदहरूलाई जानकारी दिएका हुन् ।

नेकपा संसदीय दलको संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् । बैठकको सुरुमा नै सांसदहरू भीम रावल, जनार्दन शर्मा, खगराज अधिकारी र झपट रावलले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेको विषयमा दलको बैठकमा राख्न पाउनुपर्ने माग गरेका थिए । उनीहरूले संसदको बैठकमा पनि सीमा मिचेको विषय पार्टीको तर्फबाट औपचारिक रूपमा लैजानुपर्ने माग गरेका थिए । बैठकमा सीमा लगायतका विषयमा सांसदहरूले बोल्न खोजे पनि समयअभाव रहेको भन्दै बोल्न दिइएन ।

भारतले नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि समेटेको थियो । भारतको उक्त नक्साको नेपालभर विरोध भइरहेको छ । अध्यक्ष दाहालले आफ्नो धारणा राख्ने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको बताउँदै भारतसँग संवादका लागि नेपाल सरकारसँग प्रशस्त प्रमाण भएको बताए ।

'सरकारले कुटनीतिक नोट पठाइसकेको छ । त्यो नोट म आफैँले पनि हेरेको थिएँ,’ बैठकमा दाहालले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबाट पनि यो विषयमा सहमति जुटेको छ । त्यहीअनुसार सरकारले आफ्नो धारणा स्पष्ट गरेको छ । अब कसरी प्रस्तुत हुने भन्ने निर्णय जारी स्थायी समिति बैठकले गर्छ ।'

‘एमसीसी’ इन्डोप्यासिफिकको अंग हो कि होइन भन्नेमा छलफल जारी

आइतबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा सदस्यहरूबीच अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोदन गर्न हुने र नहुनेमा विवाद छ । यो विषयमा नेकपा संसदीय दलको बैठकमा पनि उठेको थियो । सुरेन्द्र पाण्डेलगायत सांसदहरूले उक्त विषयमा प्रष्ट धारणा आउनुपर्ने माग गरेका थिए । उनीहरूले नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नहुने र कुनै पनि देश विरुद्ध हुने सन्धिमा नेपाल सहभागी नहुनुपर्ने धारणा राखेको नेता पाण्डेले जानकारी दिए । जसको जवाफमा दाहालले भनेका थिए, ‘एमसीसी इन्डोप्यासिफिक रणनीतिकै अंग हो कि हैन भन्नेबारे पार्टीको जारी बैठकमा छलफल भइरहेको छ । यसबारे बैठकले एउटा निश्कर्ष निकाल्छ । एमसीसी इन्डोप्यासिफिक रणनीतिकै अंग रहेनछ भने यसलाई संसदबाट अनुमोदन गर्नुपर्छ ।'

दाहालले सांसदहरूलाई भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका थिए । संसदमा कोरम नपुग्ने, समितिमा कोरम नपुग्ने खालका टिकाटिण्पणी भइरहेको भन्दै त्यसमा ध्यान दिन सांसदहरूलाई दाहालले निर्देशन दिएको सांसद सूर्य पाठकले जानकारी दिए ।

उपनिर्वाचनबाट शिक्षा लिँदै अर्को निर्वाचनमा नेकपा एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी दाहालले गरेका थिए । उनले पार्टी एकताका काम टुंग्याएर छिट्टै जनतासँग जोडिने कार्ययोजना ल्याउन लागेको पनि सांसदहरूलाई जानकारी दिएका थिए । नेता माधवकुमार नेपालका अनुसार अध्यक्ष दाहालले सांसदहरूलाई पार्टी एकताको सन्देश संगठनको तल्लो तहसम्म लैजान निर्देशन दिएको बताए । उनले भने, 'समसामयिक राजनीतिबारे र पार्टी एकताको भावनालाई तल्लो तहसम्म लैजाने गरी काम गर्न सांसदहरूलाई अध्यक्ष दाहालले निर्देशन दिनु भयो ।'

‘कतिपय ठाउँमा नसोचेको पराजय भोग्यौँ भने कतिपय नयाँ ठाउँमा जितेका पनि छौँ । तर उपनिर्वाचनलाई शिक्षाको रूपमा लिनुपर्छ । अब जनतासँग जोडिने गरी अभियान सञ्चालन गर्दैछौँ । ढुक्क हुनुस्, अर्को निर्वाचनमा पार्टीले दुई तिहाई ल्याउँछ,’ बैठकमा दाहालले भनेका थिए ।

सरकारले ठूलाठूला योजना संचालन गरेको तर सडकका खाल्डाखुल्डीका समस्या अहिले पनि उठेको भन्दै दाहालले सबै समस्यालाई समाधान गरेर जाने योजनामा सरकार र पार्टी रहेको बताए । उनले सांसदहरूलाई सरकारले गरेका कामको प्रचार गर्न र अझै प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।

दाहालले संसदीय दलको बैठकअगाडि प्रधानमन्त्री ओलीसँग भएको भेटबारे पनि सांसदहरूलाई जानकारी गराएका थिए । ओलीसँगको भेटमा एमसीसी, सीमा विवाद र जारी पार्टी बैठकमा उठेका विषयबारे छलफल भएको सांसदहरूलाई उनले जानकारी गराएका थिए ।

दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसदहरूलाई कसरी संसद बैठकमा प्रस्तुत हुने भन्ने प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । सांसद अन्जना विशंखेका अनुसार नेम्वाङले संसदको पारदर्शिता र जवाफदेहितालाई सांसदहरूले मनन गर्न आवश्यक रहेको बताएको जानकारी दिइन । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले विगतदेखि नै सरकारलाई आक्रमण मात्रै गर्दै आएकोभन्दै सालिनतापूर्वक जवाफ दिन पनि सांसदहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित : पुस ४, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?