डोजरले पन्छाउँदै हिउँ

आश गुरुङ

(लमजुङ) — बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि मनाङमा डोजर र एक्स्काभेटर प्रयोग गरेर पन्छाउन थालिएको छ । चामेदेखि माथिल्लो क्षेत्रका पदमार्ग र सडकमा हिउँ जमेपछि आवतजावत प्रभावित छ । चामे–१ तिमाङदेखि माथिल्लो मनाङ गाउँ र खाङसारसम्मका सडक बाक्लो हिउँले छोपिएका छन् । हिमपात भएपछि एक सातायता तिमाङदेखि माथिल्लो मनाङसम्म गाडी चलेका छैनन् । 

डोजरले पन्छाउँदै हिउँ

नासों–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा भने घाम लागेकाले तिमाङसम्म सवारीसाधन चल्न थालेका छन् । माथिल्लो क्षेत्रमा सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एउटा डोजर र एउटा एक्स्काभेटर प्रयोग गरी सडकका हिउँ फाल्ने काम भइरहेको छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार बिहीबारदेखि सडक र पदमार्गका हिउँ उपकरण प्रयोग गरेर फाल्न थालिएको हो । बिहीबार हुम्डे क्षेत्रमा सडकको हिउँ पन्छाइएको उनले बताए । मनाङ ङिस्याङ–१ पिसाङका छिरिङ गुरुङले शुक्रबार हुम्डेबाट पिसाङ हुँदै ढिकुरपोखरीसम्म सडकमा जमेको हिउँ हटाइएको बताए । ‘सडकमै हिउँ जमेर २ फिट जति थियो,’ उनले भने, ‘माननीयको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालेका छौं ।’


सांसद गुरुङको स्याउ फार्म एग्रो मनाङ प्रालिको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फालिएको स्थानीयले बताएका छन् । गत वर्ष पनि उनकै सहयोगमा बाटोको हिउँ फालिएको थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हिमपातपछि माथिल्लो क्षेत्रमा चिसो निकै बढेको छ । चामे क्षेत्रको सडकमा प्रहरी र सेनाले हिउँ पन्छाइरहेका छन् । तल्लो क्षेत्रको स्यार्क्यु खोलामा निर्माणाधीन पुलको निर्माण कम्पनी क्याराभान कन्स्ट्रक्सन प्रालिको एक्स्काभेटर उपयोग गरेर हिउँ फाल्न थालिएको छ । हिउँ पन्छाउन डिभिजन सडक कार्यालय दमौलीसँग डोजर तथा एक्स्काभेटर मागे पनि पठाएको छैन ।

प्रकाशित : पुस ५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?