प्रधानमन्त्री ओलीबाट गान्धीको भिडियो रिट्वीटको ‘रहस्य’

काठमाडौँ — नागरिकता संशोधन कानुनको विरोधमा भारतमा आन्दोलन चर्किरहेको छ । प्रमुख विपक्षी दल कांग्रेससहित विभिन्न संघ संस्थाहरु आन्दोलनमा उत्रिएका छन् । 

प्रधानमन्त्री ओलीबाट गान्धीको भिडियो रिट्वीटको ‘रहस्य’

शुक्रबार भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीले भिडियो सन्देश जारी गर्दै सरकारले जनताको आवाज सुन्नु पर्ने बताइन् । तर, त्यो भिडियोले भारतमा मात्रै होइन, नेपालमै तरङ्ग ल्याइदियो । त्यो पनि बालुवाटारमै ।


सोनिया गान्धीको भिडियो भारतीय पत्रकार शिवम विजले ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर हृयाण्डलबाट त्यो भिडियो रिट्वीट भएपछि भने एकाएक त्यसले नेपालमा हलचल मच्चियो ।


नेपालका सामाजिक संजाल प्रयोगकर्ताले प्रधानमन्त्रीको आधिकारिक ट्विटर हृयाण्डलबाट भएको ट्वीटमाथि प्रश्न उठाए ।


नेपाललाइभका सम्पादक नारायण अमृतले ‘विदाउट कमेन्ट्स’ भन्दै प्रधानमन्त्री ओलीले गरेको रिट्वीटको स्क्रिनसट ट्वीट गरे । उनले लेखे, ‘ट्वीट डिप्लोमेसी पनि हुन्छ भन्ने ख्याल गरौँ है प्रमज्यू । नत्र यतिले नै नपुग्ला ।’


नारायण अमृतको ट्वीटलाई रिट्वीट गर्दै पत्रकार कनकमणि दीक्षितले लेखे, ‘हृवाट, भारतमा चर्किरहेको हिंसाका बारेमा भारतीय पत्रकारले पोस्ट गरेको सोनिया गान्धीको बयान नेपालका प्रधानमन्त्रीको आधिकारिक हृयाण्डलबाट ट्वीट ।


त्यति मात्रै होइन, भुटान मिडिया एसोसियशनका अध्यक्ष तथा द भुटनिज न्यूजपेपरका सम्पादक तेन्जिङ लाम्साङले पनि प्रधानमन्त्री ओलीको ट्वीटलाई सेयर गरेका छन् ।


त्यस्तै भारतको चर्चित मिडिया द टेलिग्राफले आफ्नो अनलाइन संस्करणमा ‘नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य’ भन्दै यस विषयलाई प्राथमिकताका साथ समाचार बनाएको छ ।


यसो भन्छन् प्रेस सल्लाहकार थापा

सबैतिरबाट प्रधानमन्त्री ओलीको हृयान्डलबाट भएको गान्धीको भिडियोवाला ट्वीटको आलोचना भएपछि प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटबाटै ‘अन्यथा’ रिट्वीट भएको भन्दै स्पष्टीकरण दिए । उनले स्पष्टीकरण दिँदै लेखे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको ट्विटरबाट अन्यथा रिट्वीट भएको देखिन आएको छ । पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुनसक्ने आंशकामा छानबिन भइरहेको छ । तसर्श कुनै प्रकारको भ्रम र गलहतफहमीमा नपर्न अनुरोध गर्दछु ।’


शनिबार बिहान यसबारे बुझ्दा प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्विटर हृयाण्डलको पासवर्ड ‘हृयाक’ गर्ने कोसिस गरिएको बताए । सचिवालयकै कसैले त झुक्किएर ट्वीट गरेन ? भन्ने प्रश्नमा थापाले भने, ‘होइन, होइन । सचिवालयमा सबै आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । बाहिरको मान्छेबाट त्यस्तो प्रयास गरिएको हो । छानबिन भइरहेको छ ।’

प्रकाशित : पुस ५, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?