कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मोहना नदीमा तटबन्ध निर्माणमा रोक

गणेश चौधरी

टीकापुर — भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा तटबन्ध निर्माणमा रोक लगाएको छ । भारतीय भूमिमा परेको भन्दै एसएसबीले तटबन्ध निर्माण कार्यमा रोक लगाएको हो ।

मोहना नदीमा तटबन्ध निर्माणमा रोक

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले नदी नियन्त्रणका लागि ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । भारतीय पक्षको अवरोधका कारण झण्डै ५० मिटर तटबन्ध निर्माण कार्य प्रभावित हुने भएको छ ।


निर्माण कम्पनीका धिरेन्द्र शाहीले भने, ‘हामीलाई आयोजनाले नेपालको भू–भाग भनेर साइट देखाएको थियो । भारतीयले भारतीय भूमि भनेर निर्माणमा रोक लगाए ।’


टीकापुर नगरपालिका–७ का अध्यक्ष रामलाल डगौंरा थारुले १०८ नम्बर पिलर मोहना नदीले बगाएकाले समस्या आएको बताए । उनले भने, ‘पिलर नभएकोले भारतीयले आफनो भूमि भएको दाबी गरेको हो । १०७ र १०९ लाई सिधा हिसाब लगाउँदा समस्या देखिएको छ । १०७ र १०८ लाई सिधा पार्दा यो नेपालमै पर्छ ।’


सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रदेव भट्टले शुक्रबार भारतीय सीमा सुरक्षा बलका प्रहरी जवानले काम गर्न अवरोध गरेका र आइतबार छलफल गरिने बताए । उनले भने, ‘उनीहरुले नो मेन्स ल्यान्डको जिरोतिर आएको भनेर अवरोध गरेका रहेछन् । भोलि दुवै पक्षका अधिकारी बसेर समस्या हल गर्ने कुरा भएको छ ।’


मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण समय समयमा सीमा विवाद आउने गरेको छ ।


कैलाली जिल्लामा पर्ने नेपाल भारत सिमा क्षेत्रको अधिकांश सीमा स्तम्भ मोहना नदीको कटान तथा डुबानका कारण हराउँदै गएका छन् । स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको मोहना नदीले सीमा स्तम्भ बगाउनुका साथै पुरिदिएको छ ।

प्रकाशित : पुस ५, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?