१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

महाकाली पुल निर्माणमा अन्योल

पुल निर्माण भए भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत तल्लो छारछुम र नेपालको महाकाली नगरपालिकामा क्षेत्र जोडिने
मनोज बडू

(दार्चुला) — दार्चुलामा नेपाल–भारत जोड्न महाकाली नदीमा निर्माण हुने मोटरेवल पुल निर्माणका लागि ठाउँ छनोटमा फेरि अन्योल भएको छ । प्रस्तावित महाकाली नगरपालिका–८ को सुरकाँडालाई भारतीय लोक निर्माण विभागले ठाउँ उपयुक्त नभएको बताएपछि निर्माण योजना अघि बढाउन अन्योल भएको हो ।

महाकाली पुल निर्माणमा अन्योल

सुरकाँडा र तल्लो छारछुम क्षेत्रमा १५ मिटरसम्म खन्दा चट्टानी भाग नभेटिएकाले कमजोर भूभाग भन्ने भारतीय प्राविधिकको प्रतिवेदन छ । भारतीय लोक निर्माण विभाग अस्कोटले दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गर्दै अन्य उपयुक्त ठाउँ खोज्न अनुरोध गरेको छ । पुरानो प्रस्तावित ठाउँमा पुल निर्माणका लागि भारतीय पक्षले गत वर्ष ठेक्का प्रक्रियाअघि बढाएको भए पनि निर्माणको काम थालिएको थिएन ।


‘पुल बनाउने ठाउँमा मुनि चट्टान भेटिए त्यो भूभाग बलियो हुने भन्ने तर्क उहाँहरूको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने, ‘नेपाल र भारतको प्राविधिक टोलीले दुई/तीन ठाउँ हेरेको छ । हेरेका नयाँ ठाउँको प्रतिवेदन हामीलाई उपलब्ध भइसकेको छैन ।’ भारतीय पक्षले नेपालको साकार तथा भारततिरको बलुवाकोट जोड्ने पुलमा जोड दिएको सुन्नमा आएको उनले बताए ।


नेपाल–भारतका प्राविधिकको टोलीसँगै ठाउँ अवलोकन गर्न गएका महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टका अनुसार भारतले आफ्नोतिर अनुकूल हुने ठाउँ हेर्दै छ । साकारमा हाम्रोतर्फ ठाउँ अभाव भएकाले दुवैतिर पायक पर्ने ठाउँ खोज्न सुझाएको उनले बताए । ‘भारतलाई पायक पर्ने साकारमा नेपालतर्फ चट्टान छ । सडक बनाउने पनि ठाउँ छैन,’ उनले भने, ‘दुवै देशलाई पायक पर्ने असिकाडाको रामझिला बगडनजिक निर्माण भए राम्रो हुनेछ । यस क्षेत्रको वारिपारि पर्याप्त ठाउँ छ ।’ पुलसँगै अन्य संरचना निर्माण गर्नका लागि फराकिलो ठाउँ चाहिने भएकाले नेपालले उक्त ठाउँलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।


यसअघि गत कात्तिक १७ मा तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय राजदूतले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । भारतले एकतर्फी रूपमा उक्त ठाउँको नक्सा र फाइल तयार गरेको बुझिएको प्रशासन स्रोतले जनाएको छ । सुरुमा नेपाल–भारत संयुक्त टोलीले दार्चुला सदरमुकाममाथि लास्कु तथा भारतको खोतिला, सदरमुकाम नजिककै वीरेन्द्र क्षेत्र, नमस्कार नजिक पनि हेरेको थियो । ती क्षेत्रमा भारततर्फ ठाउँ अभाव भन्दै अन्य स्थान हेरिएको खलंगाका स्थानीय नरेश जोशीले बताए । ‘एकपटक ठेक्का प्रक्रियामा गइसकेको सुरकाडामा पनि पुल नबन्ने भएपछि अन्योल छ,’ उनले भने । पछिल्लोपटक भारतले एकतर्फी रूपमा वारि साकार र पारि बलुवाकोट क्षेत्रलाई प्रस्ताव गरेकाले निर्माण योजनामा ढिलाइ हुने सम्भावना रहेको उनले बताए ।


भारतीय लगानी र प्राविधिक सहयोगमा निर्माण हुने भनिएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलको योजना लोक निर्माण विभागले अघि बढाउने जिम्मेवारी छ । ‘भारतले सुरुदेखि आफूलाई पायक पर्ने ठाउँ खोजिरहेको छ,’ जोशी भन्छन्, ‘दुवै देशको पायक पर्ने ठाउँ छनोट हुनुपर्छ ।’


पहाडी क्षेत्रमा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पहिलो पुल बनाउने उक्त योजना हो । अंग्रेजको शासनकालमा तराईको वनबासामा महाकालीमा पुल बनाइएको थियो । दशकअघि टनकपुर र ब्रह्मदेव जोड्ने अर्को पुल पनि निर्माण गरिएको थियो । पहाडी क्षेत्रमा नदीमाथि पुल नहुँदा वारिपारि आउजाउ सहज छैन । पुल निर्माणले भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत तल्लो छारछुम र नेपालको महाकाली नगरपालिकामा क्षेत्रलाई जोड्नेछ ।

प्रकाशित : पुस ६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?