२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेश-५ को भ्रमण वर्ष शुभारम्भ बाँकेबाट 

मधु शाही

बाँके — प्रदेश नं ५ ले पर्यटन भ्रमण वर्ष २०२० को शुभारम्भ बाँकेबाट सुरु गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार राति १२ बजे नेपालगन्जस्थित सिद्धार्थ होटलमा पर्यटन भ्रमण वर्ष २०२० को व्यानर खोलेर शुभारम्भ गरेका गरेका हुन् । 

प्रदेश-५ को भ्रमण वर्ष शुभारम्भ बाँकेबाट 

भ्रमण वर्षको औपचारिक उद्घाटन बर्दिया राष्ट्रिय निकुन्जको ठाकुरबाबामा भएको छ । मुख्यमन्त्री पोख्रेलले बुधबार बिहानै बाँकेको राष्ट्रिय निकुन्जमा हात्ती सफारी गरे । बाँके सबैभन्दा कान्छो राष्ट्रिय निकुन्ज हो ।

बाँके राष्ट्रिय निकुन्जमा पर्यटन वर्षलाई लक्षित गरी ‘खड्गवार हात्तिसार’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री पोख्रेलले बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारी, होमस्टे, जंगल पद यात्रा, हात्ति सफारीलगायत प्राकृतिक दृश्यावलोकानका प्रशस्त सम्भावना रहेको बताए ।बाँके जिल्ला भारतको सीमासँग जोडिएकाले भारतीय पर्यटक प्रशस्त बढाउन सकिने पोख्रेलले बताए । ‘आन्तरिक पर्यटक नबढेसम्म बाह्य पर्यटक आउने सम्भावना कम हुन्छ,’ पोख्रेलले भने, ‘तसर्थ यो वर्ष आन्तरिक पर्यटक भित्र्याउनमै बढि जोड दिनुपर्छ ।’


परिवार सहित बेलाबखत घुमफिर गर्ने संस्कारको विकास गरेमा आन्तरिक पर्यटनमा टेवा पुग्ने पोख्रेलले बताए ।

जिल्ला पर्यटन प्रवर्द्धन समिति बाँकेले यस वर्ष २० हजार बढि भारतीय पर्यटक भित्र्याउने योजना बनाएको छ ।


जिल्ला समन्वयन समिति प्रमुख अजय श्रीवास्तवले पर्यटन भ्रमण वर्ष उधारोमा चलाउनु परेको बताए । उनले प्रदेश सरकारले ४ लाख रुपैया बाँकेका लागि पर्यटन प्रवर्द्धन गर्न दिने भनेपनि अहिलेसम्म बजेट नआएको बताए । ‘एक त बजेट अत्यन्त थोरै छ, त्यसमा पनि खातामा पैसा नआउँदा हामीले आफैंले उधारोमा काम चलाएका छौं,’ श्रीवास्तवले भने, ‘बजेट नहुँदा सोचेअनुसार काम गर्न सकिएको छैन् ।’


प्रकाशित : पुस १६, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?