२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाटोमा हिँड्ने प्रेमी-प्रेमिकाको फोन रेकर्ड हुन्न : सांसद बिडारी

'हामीजस्ता मान्छे सांसद छौँ, बेठिक कानुन बन्न दिँदैनौँ'

काठमाडौँ — मुलुकविरुद्ध हुने बाह्य हस्तक्षेप, आतंककारी गतिविधि, संगठित अपराध, लागू औषध कारोबारी लगायतलाई नियन्त्रण गर्न सरकारले नेपाल विशेष सेवा विधेयक, २०७६ ल्याएकाले अनर्गल प्रचार नगर्न सांसद रामनारायण बिडारीले आग्रह गरेका छन् ।

बाटोमा हिँड्ने प्रेमी-प्रेमिकाको फोन रेकर्ड हुन्न : सांसद बिडारी

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद बिडारीले नेपाल विशेष सेवा विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलका क्रममा मौलिक हक नियन्त्रण गर्नका लागि विधेयक नआएको दाबी गरेका हुन् । नागरिकको गोपनियता, मौलिक हक कुण्ठित गर्ने व्यवस्था प्रस्तावित विधेयकमा रहेकाले प्रतिपक्षी कांग्रेसले सरकारलाई फिर्ता लिन भनिरहेका बेला बिडारीले विधेयक ठिक भएको धारणा राखेका छन् ।

'आतंककारी, संगठित अपराध गर्ने अपराधी, लागूऔषध कारोबारी लगायतलाई यो कानुन लागू हुन्छ । बाटोमा हिँड्ने प्रेमी-प्रेमिकाको फोन रेकर्ड हुन्न,' बिडारीले भने, 'हामीजस्ता मान्छे सांसद छौँ, बेठिक कानुन बन्न दिँदैनौँ । मौलिक अधिकारको हनन गर्न दिँदैनौँ । संविधानको विरुद्धमा जान दिँदैनौँ ।' कांग्रेस सांसदलाई विधेयकमा नभएका विषयलाई देखाएर जनता नउकास्न उनले आग्रह गरेका थिए ।

सम्बन्धित समाचारः

नेपालमा काम गरिरहेका बाह्य जासुसी संस्थाहरूको गतिविधि नियन्त्रण गर्न पनि यो कानुन आवश्यक रहेको बिडारीको भनाइ थियो । विधेयकमा प्रतिजासुसी संयन्त्र बनाउन विधेयक आवश्यक भएको उनले बताए । 'यो विधेयकको मुख्य काम अनुसन्धान हो । अमेरिकाको सीआईए कुन कानुनले चल्छ ? नेपालमा आएर सीआईएले काम गरिराख्या छ । त्यो नेपालले थाहा पाउनुपर‌्‌यो कि परेन ?,' उनले भने, 'भारतीय जासुसी संस्था 'रअ'ले नेपालमा हैरान पारेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरिराखेको छ । त्यसका एजेन्ट को को हुन् ? ती एजेन्टलाई खोजी खोजी कारबाही गर्नुपर्‍यो भनेर यो ऐनमा लेख्या छ । त्यसलाई कारबाही गर्ने कि नगर्ने ?'

जासुसी गर्न नेपाल छिरेका खुफिया एजेन्सीलाई कारबाही नगर भनेर कसैले भन्न नहुने बिडारीको भनाइ थियो । 'खबरदार त्यसलाई कारबाही गर्लास् भन्न मिल्छ ?' उनको प्रश्न थियो । गुगलले भूगोलको परिधिलाई साँघुरो पारेको र सबैका जानकारी लिइराखेको अवस्थामा जासुसी संयन्त्रलाई बलियो बनाउन कानुन आवश्यक परेको उनको तर्क थियो । उनले अन्य मुलुकले यस्तै कानुन ल्याएको बताउँदै नेपालले नयाँ व्यवस्था गर्नु गलत नभएको बताए ।

संविधानविरुद्ध जाने कानुन संसदले सच्याउने बिडारीको भनाइ थियो । नेपालीको हित हुने गरी मात्रै कानुन बन्नेमा ढुक्क रहन अनुरोध गरेका थिए ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थलगायतले नेपाल विशेष सेवा विधेयकले जनताको गोपनियता र मौलिक हक हनन गर्ने भएकाले फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित : पुस १६, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?