धौवादी फलाम कम्पनी लिमिटेड गठन

नारायण शर्मा

नवलपरासी — सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ । खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर परिसरमै कार्यालय रहने गरी लिमिटेड गठन गरेको हो । 

धौवादी फलाम कम्पनी लिमिटेड गठन

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोमकान्त पौडेललाई तोकेको छ । उनको समितिमा अन्य ४ जना सदस्य रहेका छन् । विभागका महानिर्देशक सोमप्रसाद सापाकोटा , उद्योग र अर्थ मन्त्रालयका सहसचिव र सडक विभागका सहसचिव रहेको ५ सदस्य समिति गठन भएको हो । तत्काल काम अघि बढाउन बनाइएको समितिमा पछि राजनीतिक नियुक्ती हुने गरी समितिलाई पूर्णता दिइने भएको छ ।


पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाडामा फलाम खानी भेटिएपछि त्यसको सञ्चालनका लागि तत्काल कानूनी काम अघि बढाउन समिति गठन भएको हो ।


संसदको गत वर्षको बजेटमा धौवादी फलाम खानी संचालनका लागि खानी तथा भूगर्भ विभागले साढे २ अर्ब बजेट माग गरेकोमा अर्थ मन्त्रालयले पहिलो किस्ता भन्दै २५ करोड बजेट विनियोजन गरेर निकासा दिइसकेको खानी तथा विभागले जानकारी दिएको छ ।


धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दुमा ५ टन फलाम परीक्षणको अन्तिम चरणमा छ । अबको २ महिनामा त्यहाँबाट परीक्षण रिपोर्ट आएलगत्तै काम अघि बढने भएको छ ।


धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खनन् गरेर कारखाना सञ्चालन गर्न प्रकृया अघि बढाएको छ । ४ वर्ष अघिका उद्योगमन्त्री नविन्द्रराज जोशी स्थलगत अनुगमनमा आएर फलामखानी सम्म पुग्ने सडक निमार्णका लागि बजेट विनियोजन गरेका थिए ।


पूर्व पश्चिम राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा धौवादी फलाम खानी रहेको छ । पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने फराकिलो सडक निमार्णाधीन अवस्थामा रहेको छ ।

प्रकाशित : पुस १६, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?