३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दम्पती हत्यामा संलग्न ५८ दिनपछि हिरासतमा

काठमाडौँ — डकैती गर्न गएका दुईजनाले दम्पतीको हत्या गरेको खुलेको छ । नमोबुद्ध–८, तल्लो हटियामा चिया पसल सञ्चालन गर्दै आएका ५४ बर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५१ बर्षीय रुकुमायाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगडी –१० का २३ वर्षीय सुमन राई र अन्दाजी २० वर्षका किरणकुमार मगरलाई पक्राउ गरेको हो । 

दम्पती हत्यामा संलग्न ५८ दिनपछि हिरासतमा

५८ दिनको अनुसन्धानपछि पक्राउ परेका दुवै जनाले हत्या गरेको बयानमा स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए । दुवैलाई कर्तव्य ज्यान तथा डांका चोरी मुद्धा दर्ता गरेर हिरासतमा राखिएको छ ।


मृतकको घर बनाउन ज्यामी काम गरेका उनीहरु पुराना सिक्का पैसा भेटेको र त्यसलाई धेरै मूल्यमा बिक्री गर्न सकिने लोभमा कात्तिक १८ गते काठमाडौंबाट भकुण्डेवेसी हुँदै राति ९ बजे पुगेका थिए । घर निर्माण गर्दा करिब ३ महिना श्रेष्ठकै घरमा बसेका उनीहरु दशैंको समयमा समेत खर्च अभाव भन्दै घर नगइ बसेका थिए। अभियुक्त दुवैले मृतक रुकुमायासँग सापटी मागे पनि उनले दिएकी थिइनन् ।

स्थानीयका अनुसार, रुकुमायाले अघिल्लो दिन त्यहीको एक सहकारीबाट आठ हजार पाँच सय रकम ऋण निकालेर अर्को सहकारीमा तिरेकी थिइन् । भूकम्प अनुदानको अन्तिम किस्ताबापतको १ लाख रकम निकालेको थाहा पाएका उनीहरु सोही रकम भएको आशंकामा डैकती गर्न गएको अनुमान गरिएको छ ।उक्त दिन झ्याल ढोका लगाएर सुतिसकेपछि पनि राई र मगरलाई घरभित्र देखेपछि श्यामकृष्णले किन आएको भन्दै प्रश्न गरेका रहेछन् ।

‘पहिला उनीहरुकै घर बनाउन काम गरेका मजदुर रहेछन्, अबेर भयो बास दिनुपर्यो भनेपछि छिडीमा बस्न भनेछन्,’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यलयका डिएसपी दिपक गिरीले भने, ‘चोर्ने नियतले आएका थिए, वियर र चाउचाउ खाँदै थिए, श्रेष्ठ दम्पती नसुतेको थाहा पाएपछि फेरी वियर थप्नुपर्यो भनि बोलाएछन् र श्यामकृष्णलाई घाँटी थिचेर खुर्पा प्रहार गरी हत्या गरेछन् ।’ एसपी पौडेलका अनुसार, श्रीमती रुकुमायाले थाहा पाएर तल्लो तलामा आउँदा किरणकुमारले बियरको बोतलले प्रहार गरी हत्या गरे । अन्य औजार पनि प्रयोग भएको प्रहरीले जनाएको छ ।


दुवैको हत्यापछि माथिल्लो तलामा दराजको घर्रामा रहेका पुरानो सिक्का पैसा, केही नगद र सुनको मुन्द्रा लिएर भागेको थिए । ‘सोचे जस्तो पैसा पनि भेटाएन र पैसा स्थानीय प्रेमलाल श्रेष्ठको खाली घरमा लुकाएर, रगत लागेको कपडा तन्नामा पोको पारेर जंगलमा फाकेर काठमाडौं भागेछन्,’ एसपी पौडेलले भने, ‘पहिला त्यही घरमा काम गरेको र पसल भएको घरमा पैसा हुनुपर्छ भनेर डकैती गर्न आएका रहेछन्, पोल खुल्ने डरले दम्पतीको हत्या गरेका रहेछन् ।’ प्रहरीले लुकाइराखेको १ सय १२ थान सिक्का र केही नगद बरामद गरेको छ ।

दम्पतीको विभत्स हत्या भएपछि तत्कालिन प्रहरी प्रमुख जयराज सापकोटासहितको टोली पुगेको थियो । श्रीमान्को घाटी रेटिएको र श्रीमतीको गर्धनमा चोट भएको अवस्थामा दुवै जनाको सिरकले छोपेको शव प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशबहादुर दर्जी नेतृत्वको टोलीले फेला पारेको थियो ।

बिहान पानी थाप्ने समयमा पनि नउठेपछि छिमेकीले बोलाएका थिए । झ्याल ढोका थुनिएको र आवाज समेत नआएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

घटना शंकास्पद र जटिल भएको भन्दै केन्द्रीय प्रहरी अनुसन्धान व्युरोका डिएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा ७ जना र जिल्लाका डिएसपी दिपक गिरीको नेतृत्वमा ५ जनाले घटनाको अनुसन्धान गरेको थियो । प्रहरीका तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो । एसपी पौडेलले जटिल घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्दा सफलता हात लागेको बताए ।

प्रकाशित : पुस १६, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?