कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा जन्मिए १५ सय शिशु

काठमाडौँ — अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार नेपालमा १ हजार ५ सय ६७ शिशु जन्मिएको अनुमान छ । उक्त संख्या विश्वभरिमा बुधबार जन्मिएका बालबालिकाको ०.४ प्रतिशत हो । युनिसेफले विश्वभरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन ३ लाख ९२ हजार ७८ जना बालबालिका जन्मिएको अनुमान गरेको छ । 

नयाँ वर्षमा जन्मिए १५ सय शिशु

युनिसेफले बुधबार विश्वभरमा सबभन्दा बढी शिशु भारतमा (६७ हजार ३ सय ८५) जन्मिएको अनुमान गरेको छ । यसपछि चीनमा ४६ हजार २ सय ९९, नाइजेरियामा २६ हजार ३९, पाकिस्तानमा १६ हजार ७ सय ८७, इन्डोनेसियामा १३ हजार २० र अमेरिकामा १० हजार ४ सय ५२ जन्मिएको अनुमान छ ।


सन् २०१८ मा विश्वभरि जन्मेका शिशुमध्ये २५ लाख पहिलो महिनामै र तीमध्ये करिब एक तिहाइ पहिलो दिन नै मरेका थिए । यस्ता शिशुमध्ये धेरैजसो समयअगावै जन्मेका, सुत्केरीको जटिलता, सेप्सिसजस्ता संक्रमणलगायत कारणले मरेको युनिसेफले जनाएको छ । यस्तै, बर्सेनि २५ लाखभन्दा बढी शिशु मृत जन्मन्छन् ।


पछिल्ला तीन दशकमा विश्वभर नै बालबालिकाको बचाउमा महत्त्वपूर्ण प्रगति भएको युनिसेफले जनाएको छ । विश्वमा पाँचौं जन्म दिनभन्दा अघि मृत्युवरण गर्ने बालबालिकाको संख्या आधाभन्दा बढीले कम भएको छ । तर नवजात शिशुको मृत्युदर कम हुने गति सुस्त नै छ । सन् २०१८ मा जन्मेका पहिलो महिनामा मृत्युवरण गर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कुल संख्याको ४७ प्रतिशत थियो ।


धेरै आमा र नवजात शिशुलाई तालिम प्राप्त र आवश्यक उपकरण भएका मिडवाइफ वा नर्सले हेरचाह नगरिएको औंल्याउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले त्यही कारण परिणाम चिन्ताजनक देखिएको बताइन् ।

प्रकाशित : पुस १७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?