कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतले पहिला नक्सा मार्फत र पछि व्यवहारमै नेपाली भूमि अतिक्रमण गर्‍यो : परराष्ट्रमन्त्री

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले दुई चरणमा नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् । पहिलो चरणमा नक्सामार्फत र दिस्रो चरणमा व्यवहारमा नै नेपाली भूमि भारतबाट अतिक्रमित भएको उनले बताएका हुन् ।

भारतले पहिला नक्सा मार्फत र पछि व्यवहारमै नेपाली भूमि अतिक्रमण गर्‍यो : परराष्ट्रमन्त्री

संघीय संसद राष्ट्रियसभामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेकोबारे पेश भएको विशेष प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफका क्रममा ज्ञवालीले सीमा अतिक्रमण कसरी भयो भनेर बताएका हुन् । 'सन् १८५६ देखि नक्सामा म्यानुपुलेट गरिएको देखिन्छ । लिम्पियाधुराबाट बग्ने कालीलाई पछि वेस्ट काली नामाकरण गरियो । अनि लिपुलेकबाट आउने नदीलाई खास काली बनाएको देखिन्छ । स्थानीय भाषामा कुटियांदी भनिने नदीलाई काली भनियो,' उनले भने, 'पहिला नक्सा सार्दै र पछि सिमाना सार्दै नेपाली भूमि अतिक्रमित गरेको देखिन्छ ।'

सुगौली सन्धिपछि कालापानी क्षेत्रमा भारतबाट दुईवटा अतिक्रमण भएको ज्ञवालीको भनाइ थियो । 'पहिला नक्सामार्फत् र पछि व्यवहारबाट नेपाली भूमि अतिक्रमित भएको देखिन्छ,' उनले भने । भारतले २००७ सालपछि नेपालको उत्तरी सीमानामा चेकपोस्ट राख्ने क्रममा कालापानीमा पनि सेना राखेको उनले बताए । अन्य ठाउँबाट सेना हटाउँदा पनि कालापनीबाट भारतीय सेना फिर्ता हुनुको सट्टा झन् बलियोसँग उपस्थित भएको उनको भनाइ थियो ।

कालापानी क्षेत्र दुर्गम भएको र त्यहाँ नेपालको प्रशासनिक उपस्थिति कमजोर भएको अवसर पारेर भारतले सुरुमा नक्सामा र पछि व्यवहारमा नै नेपाली भूमि अतिक्रमण गरेको ज्ञवालीको भनाइ थियो । सन् १८१६ को सुगौली सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सीमा परिवर्तन हुने र प्रभावित हुने गरी कुनै पनि सन्धि नभएका उनले जानकारी दिए । सुगौली सन्धि नै नेपाल-भारतको सीमा निर्धारण गर्ने आधार भएको दुवै देशले स्वीकार गरेको उनको दाबी थियो ।

संसदमा आएको संकल्प प्रस्ताव र राजनीतिक दलहरूको समर्थनले सरकारलाई भारतसँग सीमाबारे छलफल गर्न बल पुगेको ज्ञवालीको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बुधबारको टेलिफोन कुराकानीमा नयाँ वर्ष २०२० मा दुवै देशबीच सम्बन्ध राम्रो बनाउने कुरा गरेकाले सीमा समस्या समाधान सहज हुने उनले अपेक्षा राखे ।

सम्बन्धित समाचारः

नेपाल-भारत सीमा विवाद : राष्ट्रियसभामा नेकपा र कांग्रेसको संकल्प प्रस्ताव

'भारतको बंगलादेशसँग सीमा विवाद मिल्छ भने नेपालसँग किन मिल्दैन ?'

प्रकाशित : पुस १७, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?