कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुख्यसचिवको घरमै सशस्त्रले पुर्‍याउँछ ट्यांकरको पानी

बलराम बानियाँ

काठमाडौँ — सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ । सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी आपूर्ति गरिदिने गरेको स्रोतले उल्लेख गरेको छ ।

मुख्यसचिवको घरमै सशस्त्रले पुर्‍याउँछ ट्यांकरको पानी

रेग्मीले सरकारी निकायको ट्यांकरबाट आउने पानी र ढुवानी शुल्क केही तिर्नु पर्दैन ।


सशस्त्रले निःशुल्क रूपमा उनलाई अनधिकृत रूपमा यस्तो सुविधा उपलब्ध गराएको हो । मुख्यसचिव या कुनैपनि प्रशासनिक अधिकारीले सरकारी निकायबाट निःशुल्क रूपमा खानेपानी या अरू सुविधा लिनु आफैंमा कानुन विपरीत हो । ‘कुनै पनि सरकारी अधिकारीले मातहतको या आफ्नो पहुँच भएको कार्यालयबाट अनधिकृत कुनै पनि सुविधा लिन मिल्दैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।


‘रेग्मी २०७३ भदौ १९ देखि २०७४ कात्तिक ७ सम्म गृह सचिव हुँदा सशस्त्रका तत्कालीन नेतृत्वले चाकरी स्वरूप साताको एकपटक ट्यांकरबाट पानी लगिदिन थालेको हो । रेग्मी मुख्यसचिवमा बढुवा भएपछि पनि यो चाकरी गर्दै ट्यांकरबाट पानी पुर्‍याउने सेवाको क्रम जारी छ’ सशस्त्रको एक अधिकारीले कान्तिपुरसित भने ।


बिहीबार बिहान सशस्त्र प्रहरीका जवान र चालकले बा १ झ ३५९६ नं. को ट्यांकरबाट पाइपको सहायताले रेग्मीको घरको खानेपानी ट्यांकीमा पानी हालिरहेको भेटिएका थिए । ‘मुख्यालय र गणहरूलाई पानी आवश्यक पर्दा ओसार्नका लागि सशस्त्रले ट्यांकर खरिद गरेको हो ।

ती ट्यांकरको दुरुपयोग गर्दै सशस्त्रको नेतृत्व र माथिल्लो तहका अधिकारीले मुख्यसचिव रेग्मीसहित आफूले चाकरी गर्नु पर्ने अरू ठूलाबडाका घरमा समेत पानी पुर्‍याइदिने गरेको छ’ सशस्त्र प्रहरी स्रोतले भन्यो– ‘सशस्त्रले आफ्नै बजेटबाट चालक, सहयोगी, इन्धनलगायतका सबै खर्च बेहोर्छ, ठूलाबडाले कुनै खर्च बेहोर्नु पर्दैन ।’


रेग्मीका छिमेकीमात्र होइन सिंगै राजधानीबासी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धारामा हप्तामा एकपटक दिने अपुग पानीले चित्त बुझाउन बाध्य छन् । धारामा आउने पानीले नपुगे राजधानीबासी निजी ट्यांकरबाट पैसा तिरेर ल्याउन बाध्य छन् ।


सशस्त्र प्रहरीका सहायक प्रवक्ता अजयकुमार छत्कुलीले आफ्नो संगठनको ट्यांकरले मुख्यसचिवको घरमा बिहीबार पानी पुर्‍याएको स्वीकार गरे । ‘अप्ठ्यारो पर्दा र खानेपानीको अभाव हुँदा सशस्त्रको ट्यांकरले टोलटोलमा पानी वितरण गर्ने गरेको छ । यो सामान्य कुरा हो,’ उनले कान्तिपुरसित भने । उनले सशस्त्रको ट्यांकरले मुख्यसचिवको घरमा पानी पुर्‍याउँदा उनका अरू टोलबासी र अन्यत्र किन नदिएको भन्नेबारेमा भने बोल्न चाहेनन् ।

प्रकाशित : पुस १७, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?