कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा उम्मेद्वार छनोटमा नेकपामा विवाद

बबिता शर्मा

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार छान्न बसेको नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । चार घन्टा लामो बैठकमा उम्मेद्वारका विषयमा अन्तिम सहमति जुटन नसकेपछि शुक्रबार बिहान फेरि बैठक डाकिएको छ ।

राष्ट्रिय सभा उम्मेद्वार छनोटमा नेकपामा विवाद

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सभा उम्मेद्वारका विषयमा बैठकमा छलफल भएपनि अन्तिम निर्णय हुन सकेन । शुक्रबार बस्ने सचिवालय बैठकले उम्मेद्वारको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


‘सबै प्रदेशका आंकाक्षीका नाममा छलफल भयो । बिहीबारको बैठकमा टुंगिएन । शुक्रबार निर्णय हुन्छ ।’ प्रवक्ता श्रेष्ठले भने ।


राष्ट्रिय सभाका १८ मध्ये १६ सिटमा जित निकाल्ने अंकगणित देखिएपछि नेकपाभित्र उम्मेद्वारका आंकाक्षी धेरै देखिएका छन् । आंकाक्षीका संख्या एकसय भन्दा बढी भएपछि नेतृत्वलाई राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वार छान्न सकस भएको हो ।


वरिष्ठ नेता झलनाथ खनालले धेरै नाममा छलफल भएको तर सहमति जुटन नसकेको बताए । ‘छलफल लामो भयो । ठूलो विवाद पनि छैन् । नामहरुमा छलफल गर्र्यौं । निर्णय गर्न सकिएन । शुक्रबारको बैठकमा निर्णय हुन्छ ।’ खनालले भने ।

माघ ९ गते राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न हुँदैछ । त्यसका लागि पुस २० गते उम्मेवारी दर्ता गर्नुपर्नेछ । त्यसैका लागि नेकपाले बैठक बोलाएको थियो ।


राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन थालेपछि आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो । नेकपाले प्रदेश–२ मा राजपासँग गठबन्धन गरेर दुई सिट आफू लड्ने गरी सहमति गरेको छ ।


नेकपाले यसअघि स्थायी समिति बैठकबाट पार्टीले तय गरेका उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिइसकेको छ ।


पार्टीको उम्मेदवारको पक्षमा मतदान गर्न र निर्वाचन परिणाम प्रकाशित नहुँदासम्म पार्टीको योजना र निर्देशनअनुरुप परिचालित हुनसमेत नेकपाले प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।


राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ता भएका छन् ।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिहृनसमेत प्रदान गरिसकेको छ ।


राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन थालेपछि आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो । ५९ सदस्य निर्वाचित भएकोमा चिठ्ठा प्रणाली लागु गर्दा १८ सदस्यको २ वर्षे कार्यकाल परेको थियो । अरू केहीको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल परेको थियो ।


राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुई वर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।


राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ता भएका छन् । आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिहृनसमेत प्रदान गरिसकेको छ ।


राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छ । प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशगत रूपमै निर्वाचन आयोगले सञ्चालनमा ल्याउने निर्वाचन कार्यालयमा मतदान हुनेछ ।

प्रकाशित : पुस १७, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?