कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनिन छाड्यो सुरिलो स्वर

सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् 
मकर श्रेष्ठ

काठमाडौँ — बिहान सबेरै उठ्थे । साउन्ड सिस्टमको झोला भिर्थे अनि जोरपाटीबाट रत्नपार्क जाने गाडी चढ्थे । घामको झुल्कोमा रत्नपार्क, जमल आसपास आइपुग्ने सुर्खेत पञ्चपुरे–२ का विमल खत्रीले तीन वर्षको हिउँद–बर्खा काठमाडौंका सडकमै बिताए ।

सुनिन छाड्यो सुरिलो स्वर

उनी जहाँ बस्थे, बिहानदेखि बेलुकासम्म सुरिलो भाकामा गीत गाइरहन्थे । नजिकबाट ओहोरदोहोर गर्ने कतिपय सुरिलो स्वर सुनेर प्लास्टिकको ढक्कीमा पैसा झारिदिन्थे । कतिचाहिँ देखेको नदेख्यै गर्थे तर विमललाई त्यसको हेक्का हुँदैनथ्यो । उनको गीत ककसले सुनिरहेका छन् ? भेउ पाउँदैनथे । पाऊन् पनि कसरी, उनी दुवै आँखाले देख्न सक्दैनन् ।

घाम डुब्नुअघि नै उनी जम्मा भएको पैसा पोको पार्छन् अनि डेरा फर्कन्छन् । बिहानको समय धेरै सहयोग हुने भएकाले पैसा उठ्ने लोभमा उनले बिहानी खाना नखाएको धेरै भइसक्यो । ‘चाउमिन, ममःको भरमा बिहानको खाना टार्छौं । बेलुका भने कोठामा पकाएर खान्छौं,’ उनले भने ।

सडकमा गीत गाएरै एउटा कोठाको मासिक तीन हजार दुई सय भाडा तिर्थे उनी । गाउँमा ६८ वर्षीय बुबा टेकबहादुर र ६६ वर्षीया आमा रमीका लागि खर्च पनि यतैबाट पठाउँथे । उनको गीत गाउने थलो थियो– जमल । जब गीत गाइरहेका बेला काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।

एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’ उनीहरूले दिएको सन्देश छोटो थियो तर विमलको अन्तरहृदयमा यसले नराम्ररी घोच्यो । त्यो रात उनी निदाउन सकेनन् । ‘जबरजस्ती सडकमा गाउन जाऊँ भने उठाएर लैजाला भन्ने डर छ,’ डरमिश्रित आवाजमा उनले भने । गीत नगाए अर्थ जुट्दैन, त्यो नभए हातमुख जोडिन्न । जमलमा गीत गाउँदै आएका उनी डराउँदै गल्लीभित्र छिरेर गाउन थालेका थिए । १०/१५ घरको बीचमा गाउन बस्दा पनि प्रहरी लगाइदिने धम्की आएपछि अबको विकल्प के गर्ने भनेर उनी सोच्दै छन् ।


मंसिर २९ मा १४ जना दृष्टिविहीनलाई बौद्ध स्तूपबाट उठाएपछि उनीजस्ता दृष्टिविहीन थप त्रसित भएका छन् । ‘औंसी पूर्णिमामा बौद्धमा हामी माग्न जान्थ्यौं । प्रहरी लगाएर उठायो,’ टुसालमा कोठा लिएर पशुपतिमा गाउने दृष्टिविहीन धमेन्द्र गुप्ताले भने, ‘अहिले मलाई बौद्ध स्तूपअगाडिको बाटोबाट चियाउन पनि दिँदैन ।’

घर पठाउने खर्चसमेत नभएपछि विमल र उनका साथी यम गुरुङ बुधबार काठमाडौंको मीनभवन पुगेका थिए । ‘सडकमा गाउन नदिने भए पनि बाँच्न त पर्‍यो नि । बिमा गरेको रकम फिर्ता गरेर भए पनि बुबाआमालाई खर्च पठाउनु छ,’ उनीहरूले भने । काठमाडौं महानगरपालिकाले माग्न नपाउने भन्दै दृष्टिविहीनलाई पनि सडकबाट हट्न चेतावनी दिइसकेको छ । ‘यसरी मागेर नै जीविकोपार्जन गर्न पाइँदैन भनेका छौं । उठाइहालेका छैनौं,’ नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘उनीहरूको चाहनाअनुसार सीप सिकाएर रोजगार बनाउन खोजिरहेका छौं । विकासित देशमा पनि गाएर माग्न त पाइँदैन ।’

सुनधारास्थित नेपाल वायु सेवा निगमको भवनअगाडि गीत गाउने रामेछापका मीनबहादुर तामाङ भने आफ्नो कामलाई माग्नेसँग तुलना गर्न नहुने तर्क गर्छन् । ‘हामीले आफ्नो प्रस्तुति देखाउँदा कसैले सहयोग गर्छ भने यसलाई मागेको भन्न मिल्दैन,’ उनले भने, ‘खान पाइएन, उपचार गर्न पाइएन भनेर हामी सडकमा माग्न बसेका छैनौं । घोक्रो सुक्ने गरी आफ्नो प्रस्तुति देखाउँछौं । मन लाग्नेले पैसा दिन्छन् ।’ आफूलाई हरेक महिना एक हजार रुपैयाँ सहयोग गर्नेहरू पनि रहेको उनले सुनाए ।

बिहीबार उनले गाडीको ब्याट्री बोकेका थिए भने श्रीमती कल्पनाले स्पिकर बोकेकी थिइन् । उनीहरूलाई भने कसैले सडकमा बसेर नगाऊ भनेका छैनन् तर उठाइहाल्ने हो कि भन्ने चिन्ता छ । ‘सडकमा दोहोरी र आधुनिक गीत गाउँछु,’ बिहीबार भृकुटीमण्डपमा भेटिएका उनी भन्छन्, ‘बाटामा हिंड्नेसँग जबरजस्ती मागेको पनि होइन । आफ्नो प्रतिभा देखाएका हौं ।’ उनले १० वर्ष काठमाडौंको एक निजी विद्यालयमा रिसेप्सनमा काम गरे । त्यसपछि रोजगारीका लागि उनी धेरैतिर धाए । ‘केही विकल्प नपाएपछि सडकमा गाउन थालेँ,’ उनले भने, ‘सरकारले रोजगारीको व्यवस्था गरिदिए सडकमा बस्ने रहर छैन ।’

संखुवासभाकी सुजाता राईले सडकमा गीत गाएर प्यारालाइसिस भएका ससुराको उपचार गर्ने र घरखर्च धान्ने गरेको बताइन् । रत्नपार्क र जमलमा गाउन छाडेर उनको समूह अहिले पशुपतिमा गाउँछ । महानगरले पशुपतिवरिपरि माग्न नपाइने भन्दै माइकिङ गरेपछि उनलाई ससुराको उपचार र घरखर्च कसरी जुटाउने भन्ने चिन्ताले सताउन थालेको छ । ‘गीत गाएर माग्दा हामीले के अपराध गर्‍यौं ?’ उनले भनिन्, ‘अपराधीलाई जस्तो प्रहरी लगाएर समाउने धम्की दिइरहेका छन् ।’ उनका श्रीमान् पनि आँखा देख्दैनन् । दुवैले सडकमा गाएर जुटाएको पैसाले परिवार पाल्ने गरेका छन् । गीत गाएर नै दिनमा हजार/१२ सय कमाउने गरेको उनले बताइन् । उनीहरूजस्ता दृष्टिविहीन पशुपतिमा एकै ठाउँमा बसेर गाउँछन् । संकलित रकम बेलुका दामासाही बाँड्छन् । अन्य सडकमा भने एक्लाएक्लै गाउँछन् ।

पहिले जमल बसेर गीत गाउने पाल्पाकी सीता परियार त्यहाँ जान छाडेको एक साता भयो । महानगरले चेतावनी दिएपछि उनी डराएकी हुन् । भृकुटीमण्डपमा गीत गाएर माग्न बस्ने नारायण सिग्देल भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहअगाडि मानिस तौलिने मेसिन राखेर गाइरहेका हुन्छन् । बिहीबार पनि स्पिकर र मेसिनसहित उनलाई हामीले भेट्टायौं । उनी बनेपाबाट दैनिक काठमाडौं आउँछन् । दिनभर गीत सुनाउँछन् । उनले गाएर कमाएको पैसाको पर्खाइमा हुन्छन्, दुई सन्तान र श्रीमती । ‘म खाली हात जाँदा मेरो परिवार भोकै हुन्छ,’ उनले भने । गीत गाएरै दैनिक कम्तीमा पाँच सयसम्म कमाउने गरेको उनले बताए ।

दृष्टिविहीनले सहजै रोजगारी नपाएपछि सडकमा गाउने कामलाई जिउने माध्यम बनाएका छन् । उनीहरू चर्को घाम भन्दैनन् । पसिना पुछ्दै गाइरहेका हुन्छन् । जाडो फाटेका कपडा लगाएरै प्रतिभा प्रस्तुत गरिरहेका हुन्छन् । विकसित मुलुकमा पनि यसरी सार्वजनिक स्थलमा आफ्नो प्रतिभा देखाएर रकम जुटाउनेहरू हुने गरेका छन् । ‘हाम्रो क्षमताको कदर हुँदो हो त योग्यता र सीपका आधारमा सरकारले रोजगार दिइहाल्थ्यो नि,’ रामेछापका मीनबहादुरले भने । दाङकी रोमा खड्कासँग निमावि तहको अध्यापन लाइसेन्ससमेत छ । दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट बीएड गरेकी उनले लाइसेन्स लिए पनि पढाउने काम नपाएपछि सडकमा गाउन निस्कनुपरेको बताइन् । ‘सडकमा गीत गाउन लाइसेन्स लिएजस्तो भयो । यहाँ पनि गाउन नदिने भन्दै छन्,’ उनले दुखेसो गरिन्, ‘अरू काम केही छैन । घर कसरी चलाउनु ?’

कतिपय दृष्टिविहीनले त संगीत सिकेका पनि छन् । यसैमध्येका हुन्, पर्साका उमेश चौधरी । उनले वीरगन्जमै संगीत कक्षा लिए । काठमाडौं आए र काम खोजे । ‘केही काम नपाएपछि सडकमा गाउँथे, दुई दिनअघि महानगरका प्रहरी आएर गाएर पैसा नमाग्न भनेका छन्,’ उनले भने, ‘आश्रममा लैजाने भन्दै थिए । मलाई मात्रै खान दिएर भएन, श्रीमती र दुई वर्षका छोरालाई के गर्नुहुन्छ भनेर सोधेँ । जवाफ नदिई फर्के ।’

काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए—

मनमा माया सम्झन मन छैन

दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...

प्रकाशित : पुस १८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?