बामदेव र नारायणकाजीको यस्तो थियो राष्ट्रियसभामा जाने–नजाने कसरत

बबिता शर्मा

काठमाडौँ — राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका १६ जना उम्मेद्वार छनोट गर्नका लागि बिहीबार नेकपाको सचिवालय बैठक चार घण्टाभन्दा लामो समय बस्यो । तर, निर्णय केही आएन ।

बामदेव र नारायणकाजीको यस्तो थियो राष्ट्रियसभामा जाने–नजाने कसरत

फेरि शुक्रबार बिहान पनि तीन घण्टाभन्दा बढी समय बैठक बस्यो । र, उम्मेद्वारको नाम टुंगियो ।

यी दुवै बैठकमा दुईजना व्यक्तिको विषयमा खास चर्चा र छलफल भयो । बिहीबारको बैठकको सुरुमै सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभाका लागि उम्मेद्वार बनाउने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखे । यसमा सचिवालयका सबै नेताले सहमति जनाए ।


स्रोतका अनुसार गौतमले भने बैठकमै शर्त राखे । ‘त्यसो हो भने संविधान संसोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुहुन्छ म जान्छु, नत्र जादिनँ ।’


लगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले गौतमलाई जवाफ दिए, ‘शर्त राखेर जाने भन्ने हुँदैन । नजाने भए नजानुस् । संविधान संशोधन तत्काल संम्भव छैन ।’


त्यसपछि अर्का अध्यक्ष दाहाल बोले, ‘अहिले नै यसलाई शर्त नबनाउँ । त्यहाँ गएपछि प्रयत्न गरौला ।’


त्यसपछि ओली र दाहालले श्रेष्ठको धारणा जान्न चाहे । स्रोतका अनुसार बैठकमा श्रेष्ठले भनेका थिए, ‘मेरो केही सर्त पनि छैन, माग पनि छैन । तपाई जानुस्, जानुपर्छ भन्नु भयो भने जान्छु ।’

त्यसपछि श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गर्‍यो, जसमा गौतम परेनन् ।


सांसद बन्ने यस्तो थियो कसरत

तत्कालीन बामगठबन्धनको तर्फबाट २०७४ मंसिरमा भएको संघीय चुनाव लडेका शीर्ष नेतामध्ये तत्कालीन एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ बाट र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनाव हारे । २०७४ फागुन ३ को पार्टी एकतापछि बनेको नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका मध्ये सांसद नरहेका गौतम र श्रेष्ठमात्रै हुन् ।


यहींबाट शुरु भएको थियो– गौतम र श्रेष्ठको सांसद बन्ने र बनाउने कथा । आफूलाई बाम गठबन्धन र एकताको सूत्रधार बताउने यी दुई नेता आफैं पनि सांसद बन्न चाहन्थे । पार्टी अध्यक्षद्वय ओली र दाहाल पनि यी दुई नेतालाई संसदमा ल्याउन चाहन्थे । तर, परिस्थिति अनकूल बनेको थिएन ।


यति हुँदाहुदै पनि गौतमको चाहना र चुनाव लड्ने क्षेत्रबारे धेरैपटक चर्चा भयो । डोल्पाका सांसद धनबहादुर बुढालाई मन्त्री बनाउनेदेखि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा गरेर ठाँउ खाली गरिदिने घोषणासम्म गौतमलाई सांसद बनाउने योजनाका कदम थिए । तर, पार्टीभित्रको शक्ति संघर्षले गौतमले ती दुवै क्षेत्रमा चुनाव लड्ने अवस्था बनेन ।


पछिल्लोपटक गौतमलाई ओली र दाहालले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ मा चुनाव लड्न प्रस्ताव नै गरे । तर, गौतमले अन्तरघातको खतरा रहेको र चुनाव हारिने भन्दै उनी कास्की–२ मा चुनाव लडन मानेनन् । उनलाई राष्ट्रियसभाको सदस्य बन्न पनि पार्टी नेतृत्वले प्रस्ताव गर्‍यो । तर, गौतमले सार्वजनिक रुपमा राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संसोधन भएमात्र राष्ट्रियसभामा जाने अडान लिए । यहीबाट गौतमको राष्ट्रियसभा प्रवेशको ढोका बन्द भयो ।


नेता गौतम बर्दिया–१ मा का‌ंग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए । कांग्रेस बर्दियाका सभापति रहेका सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएका थिए । गौतमले भने ४४ हजार ७६ मत पाएका थिए ।

श्रेष्ठ गोरखा–२ मा पूर्वप्रधानमन्त्री एवं तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराइसँग ६ हजार ८ सय ८४ मतले पराजित भएका थिए । ६० हजार १ सय १७ मत खसेकोमा भट्टराईले ३१ हजार ८ सय सात र श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए । २ हजार छ सय ३८ मत बदर भएको थियो । नेता श्रेष्ठ २०७० को चुनावमा मकवानपुर २ बाट पनि पराजित भएका थिए ।

सचिवालयका एक नेताका अनुसार श्रेष्ठले पनि पार्टीले निर्णय गरेको खण्डमा आफू संसदमा जाने कुरा केही महिनाअघिकै सचिवालय बैठकमा राखेका थिए । उनले उपयुक्त विकल्प र जीत सुनिश्चित भएमात्रै प्रतिनिधिसभामा जाने नत्र केही बर्ष पर्खिने बताएका थिए । पार्टीले उपयुक्त ठाने राष्ट्रियसभामा जान सकिने उनले बताएका थिए ।


श्रेष्ठको यही मनसायलाई शुक्रबारको सचिवालय बैठकले पूरा गरिदिएको छ । उनी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि प्रदेश–४ मा नेकपाको उम्मेद्वार हुनेछन् । र, चुनावी अंकगणितले नेकपाका उम्मेदवारको जित सुनिश्चत गरेको छ ।

याे पनि :


प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतम र श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको थिएन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्ने विकल्प खुला थियो ।

प्रकाशित : पुस १८, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?