प्राविधिक एआईजीमा गरिएको बढुवा सिफारिसविरुद्ध डिआईजी पाठकले दिए लोकसेवामा उजुरी

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरी अस्पतालको प्राविधिक एआईजीमा डा. आशा सिंहलाई बढुवा सिफारिस गर्ने निर्णय विरुद्ध अस्पतालका वरिष्ठ डिआईजी डा. मिनराज पाठकले उजुरी दिएका छन् ।

प्राविधिक एआईजीमा गरिएको बढुवा सिफारिसविरुद्ध डिआईजी पाठकले दिए लोकसेवामा उजुरी

शुक्रबार ३ बजे पाठकले लोकसेवाको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिँदै आफूभन्दा कनिष्ठ डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय बदरको माग पनि गरेका छन् । पाठक बाल रोग विशेषज्ञ पनि हुन् ।

२०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पाठक डिएसपी, एसपी, एसएसपी र डिआईजी बढुवासम्म सधैं पहिलो नम्बरमा थिए । तर आफूलाई पछिल्लो ३ आवको कार्यसम्पादन मूल्यंकनमै अन्याय गरिएको भन्दै त्यसको पनि छानबिन गर्न माग गरेका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई अस्वभाविक रुपमा नम्बर दिएको भन्दै त्यसको पनि छानबिन गर्न माग गरेका छन् ।

पुस १४ गते गृहसचिव प्रेमकुमार राई अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले प्रहरी अस्पतालको एआईजीमा वरियताक्रममा दोस्रो नमबरमा रहेकी सिंहलाई सिफारिस गरेको थियो ।

‘प्रहरी नायव उपरीक्षक (डएसपी) देखि नायव महानिरीक्षक (डिआईजीसम्मका हरेक दर्जामा म आफ्नो सहकर्मीमाझ वरिष्ठतम भई आएकोमा डिआईजीबाट एआईजीमा बढुवा नदिन षड्यन्त्रपूर्वक कार्यसम्पादन मूल्यांकनमा मलाई अस्वभाविक रुपले कम नम्बर दिएको शंका लागेको हुँदा कम नम्बर दिनुकाे कुनै जायज कारण नभएको र कुनै विभागीय कारबाही नभएको तथा आफ्नो पदीय दायित्व अनुरुप काम गर्दागर्दै पनि मेरो नाम बढुवाका लागि सिफारिस नभएकोले यो निवेदन न्यायका लागि पेश गरेको छु,’ डिआईजी पाठकले लोकसेवामा दिएको निवेदनमा भनिएको छ, ‘इमान्दारिता र निष्ठापूर्वक कार्यगर्दागर्दै आएको फलस्वरुप आफ्नो व्याचबाट हरेक दर्जामा वरिष्ठ हुँदै आएको व्यक्तिले आफू मुकाम नजिक पुग्नै लाग्दा अकर्मण्यता हुनसक्ने प्रश्नै उठ्दैन, अझ बढी लगनशील, निष्ठावान र अनुशासिक भई कार्य गर्दागर्दै पनि एआइजीमा मलाई कुनैपनि हालतमा बढुवा हुन नदिन कार्यसम्पादन मूल्यांकनमा कम नम्बर दिएको कारण नै पदोन्नतकिा लागि सिफारिस नभएको छर्लङग आउँछ ।’

प्रकाशित : पुस १८, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?