अहिंसाको सन्देशका लागि महोत्सव
काठमाडौँ — गोरखाको मनास्लु क्षेत्रको चुम उपत्यकामा आगामी वैशाखमा चुम श्याग्या शताब्दी महोत्सव हुने भएको छ ।
अहिंसा क्षेत्र घोषणा भएको ९९ वर्ष पूरा भएर १ सय वर्ष सुरु भएको अवसरमा चुम नुब्री गाउँपालिकाको छेकम्पारस्थित गुम्बा परिसरमा महोत्सव गर्न लागिएको हो । चुम उपत्यका चुम नुब्री गाउँपालिकाको ६ र ७ मा फैलिएको छ ।
१९७७ सालमा उक्त क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरिएको थियो । काटमार नहुने क्षेत्र भएकाले यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा परिचित गराउनु महोत्सवको उद्देश्य रहेको मुल समारोह समितिका महासचिव सोनाम चुम्बा लामाले बताए ।
२०६५ सालमा तत्कालीन छेकम्पार गाविसको गाउँ परिषद्ले अहिंसा क्षेत्रको चार किल्ला घोषणा गरेको थियो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) भित्र पर्ने चुमक्षेत्रमा कहिल्यै पनि काटमार हुँदैन । जसका कारण वर्षौदेखि जैविक विविधाको संरक्षणसमेत भएको छ । कुनै पनि पशु वा वन्यजन्तुको काटमार नहुने भएकाले उक्त क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई यस्तो कुरा नयाँ लाग्ने गरेको छ ।
सिकार खेल्न, भीर मौरी काट्न, डढेलो लगाउन, मासुजन्य प्रयोजनको व्यापारका लागि उक्त क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । चुम उपत्यकामा बौद्ध गुरु मिलारेपाले समेत ध्यान गरेकाले अहिलेसम्म उक्त क्षेत्रमा बौद्ध धर्मकोका अनुयायीको चासो रहेको छ ।
करिब ३ हजार ७ सय जनसंख्या र ५ सय ६० घरधुरी रहेको चुम उपत्यकामा पुराना गुम्बा, आँखैअघि देखिने हिमश्रृंखला, परम्परागत संस्कृती मुख्य आकर्षण हुन् ।
प्रकाशित : पुस १८, २०७६ २०:१९