१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

६ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, तीन रद्द

टावर र जहाजको सम्पर्क विच्छेद
सुरज कुँवर

काठमाडौँ — वर्षाका कारण शुक्रबार काठमाडौं अवतरण हुनै लागेका ६ वटा अन्तर्राष्ट्रिय उडान भारत, बंगलादेश र चीनतर्फ डाइभर्ट भएका छन् । तीनवटा अन्तर्राष्ट्रिय उडान भने रद्द गरिएका छन् ।

६ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, तीन रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार चीनको ग्वाङजाउबाट काठमाडौंका लागि आउँदै गरेको चाइना साउर्दनको विमान भिजिबिलिटी नपुगेपछि बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको थियो ।

चीनको कुनमिङबाट आउँदै गरेको चाइना इस्ट्रनको जहाज नेपालभित्र आइसकेर उतै फर्किएको थियो । त्यस्तै बैंककबाट आउँदै गरेको थाई एयरको विमान पनि ढाका फर्किएको थियो ।

बैंककबाट उडेको थाई लाइन एयरको अर्को विमान पनि काठमाडौंमा अवतरण हुन नसक्ने भएपछि ढाकातर्फ फर्कियो । कतारको राजधानी दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट भयो ।

मस्कटबाट आउँदै गरेको सलाम एयरको विमान भारतको पटना डाइभर्ट भयो । दिल्लीबाट आउँदै गरेको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको विमान पनि उतै फर्किएको थियो ।

विमानस्थल टर्मिनल अनुसार चीनको छेन्दुबाट आउनुपर्ने एयर चाइना र दिल्लीबाट काठमाडौंका लागि तय गरिएको इन्डिगोले शुक्रबारको उडान रद्द गरेका थिए । त्यस्तै सिचुवान एयरले पनि काठमाडौं ल्हासा उडान रद्द गर्‍यो ।


विमानस्थलस्थित एयरपोर्ट अपरेसन विभागका अनुसार डाइभर्ट भएका अधिकांश विमान मौसममा सुधार आएपछि काठमाडौं फर्किने क्रम साँझ अबेरसम्म जारी रहयो ।

आन्तरिकतर्फ भरतपुरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको विमान पोखरा डाइभर्ट भएको थियो । १२ बजेपछि थुप्रै आन्तरिक उडान प्रभावित बने । प्रवक्ता कर्णका अनुसार वर्षाका कारण शुक्रबार १२ देखि २ बजेसम्म काठमाडौंमा भिजिबिलिटी घटेको थियो । ‘शुक्रबार त्रिभुवन विमानस्थलको भिजिबिलिटी १२ सय मिटरसम्ममा झर्‍यो, भीओआर–डीएमई अवतरण प्रणाली अपनाउने जहाजका लागि ५ हजार मिटरको भिजिबिलिटी हुनुपर्छ,’ कर्णले भने ।


काठमाडौंभित्र जहाज अवतरण गराउने दुइटा अप्रोच प्रणाली (मार्ग) छन् । भीओआर पुरानो प्रणाली हो भने अर्को आरएनपी–एआर (रिक्वार्यड नेभिगेसन पर्फर्मेन्स– अथोराइजेसन रिक्वायर्ड) प्रणाली छ । आरएनपी–एआर एप्रोच प्रणालीमा भिजिबिलिटी ११ सय मिटर भए पनि जहाज अवतरण गर्न सकिन्छ ।

टावर र जहाजको सम्पर्क विच्छेद


काठमाडौं विमानस्थलको मुख्य टावरमा शुक्रबार विद्युत् आपूर्ति बन्द हुँदा करिब ५० मिनेट एयर ट्राफिक कन्ट्रोलर र जहाजबीचको सम्पर्क टुट्यो । विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलरका अनुसार मुख्य लाइन र ब्याकअप दुवैबाट विद्युत् आपूर्ति नहुँदा जहाजसँग सम्पर्क हुन सकेन । त्यसबेला रेडियो सञ्चारलगायत करिब एक दर्जन प्रणाली बन्द भएका थिए । काठमाडौं टावरमा समस्या आइपरेपछि एप्रोच टावरले आपतकालीन सहायता उपलब्ध गराएको एक अधिकारीले बताए । ‘स्ट्यान्डबाई सिस्टमले पनि काम गरेन,’ स्रोतले भन्यो, ‘दुइटा जहाजलाई अवतरण गराउने बेला सिस्टम नै बन्द भयो ।’

एक वर्षयता विद्युत् आपूर्ति नभएर विमानस्थलको टावर र जहाजको सम्पर्क टुटेको यो तेस्रो घटना हो । विमानस्थलको इलेक्ट्रोकल तथा रेडियो विभागअन्तर्गतको टीएस डिभिजनको लापरबाहीले बेलाबेला यस्ता घटना हुने गरेको एक एटीसीले बताए । विभागका एक अधिकारीले भने शुक्रबार अत्यधिक चिसो बढेपछि धेरै हिटर र एसी चलेका कारण टावरको विद्युत् आपूर्तिमा समस्या आएको दाबी गरे ।

प्रकाशित : पुस १८, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?