कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मानव तस्करका फन्दामा पढेलेखेकै धेरै

जनकराज सापकोटा

काठमाडौँ — सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन् भने ठग्नेहरू धेरैजसो कम पढेका छन् ।

मानव तस्करका फन्दामा पढेलेखेकै धेरै

झन्डै पचास लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक डिपोर्ट भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता दस कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् ।

मानव तस्करको फन्दामा परेको कुरा सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् ।


दाङका यी युवाजस्तै मानव बेचबिखनमा पर्नेहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् । अनौठो त यो छ कि पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडतको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन् । १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए ।

ब्युरोका डीएसपी राजकुमार सिलवालले आफू यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए । उक्त अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पार्ने २२ जना पीडक समातिएका थिए । पीडित र पीडकको शैक्षिक योग्यताको तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरै शैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो ।


पक्राउ परेका २२ पीडकमध्ये कसैले पनि स्नातकसम्म वा त्यसभन्दा माथि अध्ययन गरेको भेटिएन । पीडकमध्ये ६ जना एसएलसी पास देखिन्छन् भने १६ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम देखिन्छ । जबकि ठगिएका २ सय ६७ मध्ये १३ जना स्नातकोत्तर अध्ययन गरेका छन् भने १२ स्नातक, दुई स्टाफ नर्स, एक सय ३० एसएलसी, ४५ एसएलसीभन्दा तलका र ५ जना निरक्षर देखिन्छ ।

यो तथ्यले पढेलेखेकाहरू मानव बेचबिखनको गिरोहमा पर्ने गरेको र तिनलाई कमजोर शैक्षिक योग्यता भएकाहरूले नै अवैध बाटोबाट विदेश पुर्‍याउने जिम्मा लगाएको देखिन्छ ।

ठगिएकाहरूमध्ये २ सय ५ जना कृषि पेसाको पृष्ठभूमि भएका छन् भने १४ जना नोकरी र २८ जना व्यापारिक पृष्ठभूमिका छन् । तथ्यांकले विदेश गइसकेकाहरूभन्दा कहिल्यै विदेश नगएकाहरू ठगीको पासोमा बढी पर्ने गरेको देखाएको छ । ठगिनुअघि वैदेशिक रोजगारीमा वा अन्य सन्दर्भमा विदेश गएका ३७ जना छन् भने कहिल्यै विदेश नगएकाहरू २ सय ३० जना छन् ।


मानव बेचबिखनको प्रवृत्तिमाथि अध्ययन गरेका नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका डीएसपी राजकुमार सिलवालले यो अध्ययनले कमजोर शैक्षिक योग्यता भएका एजेन्टहरूले पढालेखालाई नै झुक्याइरहेको र ठगिरहेको बताए । ‘सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन्,’ उनले भने ।

संगठित मानव तस्करका अनेकन एजेन्टको सहयोगमा अवैध बाटो हुँदै अमेरिका छिरेर आर्थिक वर्ष ०७५/७६ मा डिपोर्ट भएका ४५ जनाको शैक्षिक योग्यतालाई केलाउँदा पनि उच्च शैक्षिक योग्यता भएकाहरू भेटिएका छन् ।

कान्तिपुरले गरेको अध्ययनमा ४५ मध्ये स्नातकभन्दा माथिको शैक्षिक योग्यता भएका सात जना अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका थिए । ०७६/७७ मा अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका ४५ जनाको तथ्यांक केलाउँदा पनि स्नातक तहमाथिको शैक्षिक योग्यता भएका सात जना भेटिएका थिए । यी दुवै तथ्यांकले पढेलेखेकाहरू संगठित मानव तस्करका एजेन्टको विश्वासमा पर्ने र ठगिने गरेको देखिन्छ ।


मानव तस्करको फन्दामा परेकाहरूमध्ये ७४ जनाको गन्तव्य दुबई देखिन्छ भने ६१ जनाको क्यानाडा, ३२ जनाको ओमान, ३१ जनाको कुवेत, २६ जनाको टर्की र २२ जनाको दक्षिण अफ्रिकालगायत अन्य देश देखिन्छ ।


ठगीको चित्र

संगठित गिरोहका अनेकन एजेन्टले मुख्यतः तीन तरिकाले पीडितबाट पैसा असुल्ने गरेको देखिन्छ । अवैध बाटोबाट र सेटिङमा गन्तव्य मुलुकमा पुर्‍याउने भन्दै उनीहरूले तेस्रो मुलुक पुर्‍याएर अलपत्र पार्दै रकम असुल्ने प्रवृत्ति सबैभन्दा धेरै देखिन्छ । कुल पीडितमध्ये ८७ जनालाई तेस्रो मुलुक पुर्‍याएर ठगी गरेको देखिन्छ ।

गन्तव्य मुलुक लैजाने भन्दै भारतका विभिन्न सहर लैजाने, महिनौंसम्म अलपत्र पार्ने र बाध्यतामा पारेर वा झूटको खेती गरेर ठगिनेमा ३४ जना छन् । त्यस्तै विदेश पुर्‍याइदिने भने नेपालमै ठगीमा पर्नेहरू सबैभन्दा थोरै अर्थात् २० जना देखिन्छन् ।

प्रकाशित : पुस १८, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?