कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राष्ट्रिय सभाको उम्मेदवारी मनोनयन आइतबार

राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ । १८ जनाको चयनका लागि माघ ९ मा निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको उम्मेदवारी मनोनयन आइतबार

निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन सम्बन्धित प्रदेशमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । राष्ट्रिय सभाका उम्मेदवार तथा मतदान प्रदेशगत रूपमा हुने कानुनी व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।


राष्ट्रिय सभामा त्यसरी निर्वाचित ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्य रहन्छन् । पदावधि भने गोलाप्रथाबाट टुंगो लगाइएको थियो । एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि रहने संविधानमा उल्लेख छ । त्यही व्यवस्थाअनुसार एक तिहाइ सभा सदस्यको दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । ती पदमा नयाँ आउने व्यक्तिको पदावधि ६ वर्ष हुनेछ ।


कानुनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ निर्वाचित हुनेले फागुन २१ बाट पदबहाली गर्नेछन् । नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जना सदस्यको पदावधि सकिन लागेको छ ।


नेकपाले निर्वाचन हुने १८ मध्ये १६ स्थानका लागि उम्मेदवारी दिने तयारी गरेको छ । उसले प्रदेश २ को दुई सिट राजपालाई दिने गरी चुनावी गठबन्धन गरेको छ । बिहीबार पार्टीबाट सभामा उम्मेदवारहरूको नाम टुंग्याउँदा नेकपाले पदावधि सकिन लागेका ८ मध्ये कसैलाई दोहोर्‍याएको छैन । निर्वाचन कानुनअनुसार पदावधि सकिन लागेका व्यक्ति पनि उम्मेदवार बन्न सक्छन् । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवार अयोग्यतामा त्यस्तो केही नलेखेकाले पदावधि सकिन लागेका व्यक्ति पनि उम्मेदवार हुन पाउँछन्,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।


लाभको पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन नपाउने भने पनि ऐनमा निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदलाई लाभको पद मानिएको छैन । नेपाली नागरिकता प्राप्त ३५ वर्ष उमेर पुगेका, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएका र कुनै संघीय कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार हुन पाउँछन् । तर उम्मेदवार हुनेले राष्ट्रिय सभा सदस्य निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएकामध्येबाट प्रस्तावक र समर्थक जुटाउनुपर्छ । निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छन् । राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ ।


यसपटक प्रदेशगत रूपमा प्रत्येक क्लस्टरबाट एक/एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाव जित्नेछन् । प्रत्येक प्रदेशमा सत्तारूढ नेकपा बहुमतमा देखिएकाले उसले उम्मेदवारी दिएका १६ वटै स्थान जित्ने सम्भावना छ । उम्मेदवारले पुस २५ मा निर्वाचन चिह्न पाएपछि निर्वाचन हुनुभन्दा ४८ घण्टापूर्व १० दिनको समयावधि प्रचारप्रसारका लागि पाउनेछन् ।

प्रकाशित : पुस १९, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?