कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

परिवर्तनका नायकलाई बदनाम गर्न विगतका शासक हातखुट्टा फालेर लागेका छन् : दाहाल

'राजा-महाराजा देशभक्त थिएनन्'
जयसिंह महरा

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र ल्याउन भूमिका खेल्नेहरूलाई बदनाम गराउन पुराना शक्ति लागिपरेको आरोप लगाएका छन् । संघीय गणतान्त्रिक व्यवस्थामा विगतमा राज्यसत्ता खोसिएकाहरू अभ्यस्त हुन नसकेर वर्तमान व्यवस्थाविरुद्ध लागेकाे उनले बताए ।

परिवर्तनका नायकलाई बदनाम गर्न विगतका शासक हातखुट्टा फालेर लागेका छन् : दाहाल

काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले परिवर्तनमा नेतृत्व गर्नेहरूलाई मनोवैज्ञनिक दबाब आइरहेको बताए । 'परिवर्तनका नायकहरूलाई के गरी बदनाम गर्न सकिन्छ ? परिवर्तनका नायकहरूलाई के गरी मनोवैज्ञानिक रूपले दबाब दिन सकिन्छ या अन्य तरिकाले भन्ने पनि उनीहरू सोचिराख्छन्,' उनले भने, 'सोचिमात्रै राख्दैनन्, त्यो उल्ट्याउनका निम्ति उनीहरू हातखुट्टा फालि पनि राख्छन् । यस्ता कुरामा सबै सचेत हुनुपर्छ ।'

कास्कीको अन्नपूर्ण गाउँपालिका-काठमाडौं समाजको कार्यक्रममा दाहालले थपे, 'म तपाईंहरूलाई आफ्नै जन्मस्थलको हुनुको नाताले यो भावना अलिकति सेयर मात्रै गरेको हो । योभन्दा बढी म भन्दिनँ । मैले बोल्दै गरेको कुरा भोलि एउटा ऐतिहासिक सन्दर्भ बन्न पनि सक्छ ।'

कसले परिवर्तन उल्ट्याउन खोजेको हो भन्ने प्रष्ट नपारे पनि दाहालले आफ्नो मन्तव्यको अधिकांश समय पूर्वराजाहरूको आलोचनामा खर्चिएका थिए । उनीहरू गणतान्त्रिक व्यवस्थामा अभ्यस्त हुन नसकेको उनको दाबी थियो । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयाैँ । संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन', उनले भने, 'हिजो राज गरेकाहरूलाई यो मन पर्दैन । उनीहरू कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिँदा त मन पर्दैन नि !'

गरिब जनताले आफ्नो श्रीपेच फालिदेलान् र गद्दीच्यूत गरिदेलान् भन्ने विगतका राजामहाराजाहरूलाई नलागेको दाहालको भनाइ थियो । ‘उनीहरूले पहिले पत्याउँदैनन यी जनता धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसले हाम्रो राज उल्ट्याउलान्, हाम्रो श्रीपेच फाल्लान् भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरूले नपत्याउदाँ नपत्याउँदै पनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ,' उनले भने, 'राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।’

सयौं वर्ष राज गरेर पनि राजाहरूले पृथ्वीनारायण शाह र अंग्रेजसँग लडेका नेपाली राजाहरूको युद्ध कला र कौशलको संरक्षण गर्न नसकेको दाहालको आरोप थियो । उनले राजाहरू देशभक्त नभएकाले ती कुराको संरक्षण हुन नसकेको बताए । उनले भने, ' उनैका छोरानातीहरूले सयौं वर्ष राज गरे तर त्यसको सम्बर्द्धन, संरक्षण गरेर पर्यटक आकर्षित गर्ने गरी ती ठाउँहरूलाई अगाडि बढएनन् । साँचो अर्थमा उनीहरू देशभक्त थिएनन्, छैनन् र रहेनन् । उनीहरू विदेशीको अगाडि घुँडा टेक्नेमा पतन भए ।'

अहिलेको सरकारले राजाहरूले अंग्रेजसँग लडेका किल्ला संरक्षण गर्न लागेको दाहालले जानकारी दिए । उनले लुम्बिनीलाई विश्वभर बुद्ध जन्मेको स्थलका रूपमा प्रचार गरिरहेको बताए ।

प्रकाशित : पुस १९, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?