कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नकिनीकनै नयाँ लुगा

नुमा थाम्सुहाङ

काठमाडौँ — एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्कोमा लगाउन धेरैलाई मन लाग्दैन । एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ । अर्को, किनेर सिलाउँदा पनि समय लाग्छ । तर अब चिन्ता लिनुपर्दैन । पार्टी र सभा समारोहमा लगाउने लुगा भाडामा पनि पाइन्छ । 

नकिनीकनै नयाँ लुगा

एन्टिडोट नेपाल र कपडा रेन्टजस्ता ‘स्टार्टअप बिजनेस’ मा आबद्ध व्यवसायीले यस्तो सुविधा दिएका हुन् । सुनाकोठीकी मोनिका थापा ललितपुरको एउटा कम्पनीमा मार्केटिङ म्यानेजर छिन् । व्यवस्थापनमा स्नातकोत्तर उनलाई कलेजको पार्टीका लागि कुन कपडा लगाउने भन्नेमा दुविधा भयो । उक्त पार्टीमा लगाउन अहिलेसम्म नलगाएको डिजाइनको कपडा चाहिएको थियो ।


पार्टीका लागि भाडामा गाउन र साडी पाइन्छ भन्ने सुनेपछि उनले एन्टिडोट नेपालको सोसल मिडिया पेज खोलिन् र अनुरोध पठाइन् । सुरुमा कपडा कस्तो पाइएला भन्नेमा शंका थियो । तर प्रयोगपछि भने गुनासो नरहेको उनले बताइन् । ‘पेजका सबै फोटो हेरेपछि राम्रो लागेर लिएँ । यहाँ सस्तो पनि पाइने रहेछ,’ उनले भनिन् ।


पुल्चोकमा रहेको एन्टिडोटका सञ्चालक मनीषजंग थापा हुन् । मार्केटिङ सेल्समा बीबीए गरेका उनले आफ्नै बहिनी समस्यामा परेको देखेर यो व्यवसायमा हात हालेका हुन् । कपडा छ, फेरि दोहोर्‍याएर लाउन मन नलाग्ने, अनि पैसा छ, तर एकचोटि लाउनलाई मात्र महँगो तिर्नुपर्ने जस्ता समस्या देखेर यतातिर लागेको उनको भनाइ छ । ‘५० हजार रुपैयाँ लगानीमा सुरु गरेको व्यवसायको कन्सेप्ट डेढ वर्षअघि आएको थियो । त्यसपछि यसको मार्केट रिसर्च गर्‍यौं,’ उनले भने, ‘व्यावसायिक सुरुवात गरेको आठ महिना मात्रै भयो ।’


२० देखि ३५ वर्ष उमेर समूहका १ सय ३० जना महिलामा यसबारे उनको समूहले अध्ययन गरेको थियो । ‘सबैभन्दा बढी उनीहरूले कपडा रेन्टलाई मन पराए,’ उनले भने । उनको स्टोरमा महिलाका लागि ट्रेडिसनल साडी, कुर्ता, लेहेंगा र वेस्टर्न गाउनका १ सय २० वटा कलेक्सन छन् । स्टोरबाट मासिक ३५ देखि ४० वटासम्म कपडा अर्डर हुन्छन् । कपडा अर्डरका लागि एन्टिडोटको स्टोर वा सोसल मिडिया पेजमा जान सकिन्छ । भाडामा लुगा ३ र ६ दिनको गरी दुई प्याकेजमा उपलब्ध छन् ।


स्टोरमा ८ सयदेखि १५ हजार रुपैयाँसम्म पर्ने कपडा रहेको उनले जानकारी दिए । ‘तपाईंले पनि प्रयोग गरेको कपडा पनि भाडामा दिन सक्नुहुन्छ । त्यसका लागि कपडाको डिजाइन, बिल र कहिले किनेको लगायत हेरेपछि मात्र स्टोरमा राखिन्छ,’ उनी भन्छन्, ‘जसलाई एन्टिडोटले २५ देखि ४० प्रतिशतसम्म मूल्यांकन दिन्छ ।’ यसरी भाडामा दिइने लुगा सफा र सुरक्षित हुने व्यवस्था मिलाइएको उनको दाबी छ ।


‘कसैलाई अरूले लगाएको कपडाले एलर्जी तथा छालाको रोग सर्ने समस्याको विषयमा हामी सचेत छौं,’ उनले स्पष्ट पारे, ‘हामीले ड्राई क्लिनिङ गर्दा यी सबै समस्यालाई ध्यान दिएका हुन्छौं । अर्को कपडा बुक गर्दा हामीले ग्राहकको नागरिकता वा लाइसेन्स कार्ड लिएका हुन्छौं ।’ थापा एक्लैले सुरु गरेको एन्डिडोटमा उनीसहित पाँचजना कार्यरत छन् ।


कपडा भाडाको व्यवसायलाई नयाँ व्यवसायका रूपमा अघि बढाउने उनी एक मात्र होइनन् । बानेश्वर शंखमूल रोडस्थित ‘कपडा रेन्ट’ ले पनि एक वर्षदेखि सेवा दिइरहेको छ । २ लाख रुपैयाँ लगानीमा समुन्द्रराज अर्यालले साथीसँग मिलेर यो व्यवसाय थालेका हुन् । बिजनेसमा स्नातक उनलाई आफैं केही गर्ने चाहनाले व्यवसायी बनाएको हो । नौलो लागेको ‘आइडिया’ मा काम गर्दा सफल हुनेमा सुरुमा आफैं पनि ढुक्क थिएनन् ।


प्रकाशित : पुस २०, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?