कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीवनको उत्तरार्द्धमा न्याय परिषद्‌मा जाँदैछु, यताउता गर्नुपर्ने केही छैन : निराला

'मलाई रायमाझी आयोगले पनि निर्दोष भनेको थियो'
निराला संसदीय समितिबाट न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन
जयसिंह महरा

काठमाडौँ — न्याय परिषद् सदस्यमा सिफारिस लक्ष्मीबहादुर निरालाले आफू जीवनको उत्तरार्द्धमा भएकाले उक्त पदमा गएर चलखेल गर्नुपर्ने केही नभएको बताएका छन् । 

जीवनको उत्तरार्द्धमा न्याय परिषद्‌मा जाँदैछु, यताउता गर्नुपर्ने केही छैन : निराला

संसदीय सुनुवाइका क्रममा निरालाले ५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको बताउँदै न्याय परिषद्‌मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताए । उनले भने, 'जीवनको उत्तारार्धमा म त्यहाँ गएर यताउता गर्नुपर्ने केही छैन । तपाईंहरुको विश्वासलाई मैले आँच आउन दिने छैन ।'


निरालाले आफू जहिले पनि विकृति र विसंगतिविरुद्ध लागेको व्यक्ति भएको सुनुवाइका क्रममा बताएका थिए । 'म विकृति र विसंगतीको जहिले पनि विरुद्धमा रहेको व्यक्ति हो । न्याय परिषद्‌को सदस्यको हिसाबले म केही गलत क्रियाकलाप गर्ने छैन र असर पर्न दिने छैन ।'


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर आफूलाई न्याय परिषद् सदस्यमा सिफारिस भएको लक्ष्मीबहादुर निराला खड्काले बताएका छन् । संसदीय सुनुवाइका क्रममा आइतबार निरालाले आफू वि. सं २०२२ सालदेखि न्याय क्षेत्रमा कार्यरत रहेकाले नै सिफारिस भएको बताएका हुन् । उनले भने, 'म यो क्षेत्रमा ५४ वर्षदेखि कार्यरत छु । मेरो यो अनुभवका आधारमा नै प्रधानमन्त्रीले विश्वास गरेर मलाई सिफारिस गर्नुभएको हो ।'


संसदीय सुनुवाइ समितिबाट आफू स्वीकृत भएमा कुनै पनि दबाबमा नपरेर काम गर्ने निरालाले बताए । उनले भने, 'म कुनै पनि दबाबमा नपरेर निष्पक्ष ढंगले काम गर्नेछु । संविधानको भावनाअनुसार काम गर्नेछु ।'


सांसदहरूले न्यायपालिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए । न्यायपालिकामा विकृति भएका र त्यसलाई अन्त्य गर्न र न्यायाधीश नियुक्तिमा हुने चलखेल कसरी रोक्ने योजना छन् भने जिज्ञासा राखेका थिए ।


नेकपा संसदीय दलका सचेतक देवप्रसाद गुरुङले शाहीकालमा महान्यायाधीवक्ता भएको अनुभव र अहिलेको अनुभव कस्तो रह्यो भनेर प्रश्न गरेका थिए । समिति सभापति लक्ष्मणलाल कर्णले न्यायाधीश नियुक्तिमा समानुपातिक र समावेशीलतालाई कसरी सम्बोधन गर्न सुझाव दिएका थिए ।


सुनुवाइका क्रममा निरालाले शाहीकालमा पनि आफूले संविधान र कानुनबाहिर गएर काम नगरेको बताए । उनले २०६२/०६३ पछिको बनेको रायमाझी आयोगले आफूलाई निर्दोष सावित गरेकोबाट त्यो कुराको पुष्टि भएको बताए । 'पृथक् समयमा मैले कार्य गरेँ । त्यो शासनकालमा पनि जुन प्रकारको क्रियाकलाप मैले गरेँ त्यो कानुनले निर्धारण गरेको बाहेक केही गरेन', उनले भने, '०६३ पछि रायमाझी आयोग गठन भयो । त्यसले सबै संवैधानिक अंगका पदाधिकारीलाई र अन्यलाई दोषी करार गर्‍यो । एउटै लक्ष्मीबहादुर निराला हो जो निर्दोष सावित भयो । मैले त्यसबेला पनि जनतालाई दबाउने काम गरेन ।'


निरालालाई संसदीय समितिले न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ ।


प्रकाशित : पुस २०, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?