कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपामा भइरहेको १२ थरी प्रयोग !

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपा राजनीतिको ‘प्रयोगशाला’ बनेको छ । नेकपामा यति धेरै प्रयोग भएका छन् कि कहिले काँही त नेता तथा कार्यकर्ता पनि चकित पर्छन् । थरीथरीका राजनीतिक प्रयोग, विवाद र भागबन्डाले नेकपाको आन्तरिक कार्यशैली नै प्रभावित हुने गरेको छ ।  

नेकपामा भइरहेको १२ थरी प्रयोग !

कस्ता–कस्ता प्रयोग भए नेकपामा ?


१. दुई अध्यक्ष : तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते एकता हुँदा नै दुई अध्यक्षको मोडल अपनाइयो । त्यसै अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नेकपाको अध्यक्ष भए । पछिल्लो पटक मंसिर ४ गते भएको सहमति अनुसार अध्यक्षको जिम्मेवारी बाडँफाँडमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउन थालेका छन् । आगामी महाधिवेशनसम्म नेकपा दुई अध्यक्ष राखेर नै चल्ने छ । पार्टीका प्रमुख कागजातमा दुवै अध्यक्षको हस्ताक्षर चल्छ ।


२. दुई कार्यालय : पार्टी अध्यक्षजस्तै नेकपाका दुई केन्द्रीय कार्यालय छन् । तत्कालीन एमालेको मुख्यालय रहेको धुम्बाराही र तत्कालिन माओवादीको मुख्यालय रहेको पेरिसडाँडालाई नेकपाले केन्द्रीय कार्यालय बनाएको छ । दुवै कार्यालयमा दुवै अध्यक्ष र शीर्ष नेताका कार्यकक्ष छन् । यद्यपी दुवै अध्यक्ष केन्द्रीय कार्यालयमा भने निकै थोरै जान्छन् । पार्टीका प्रमुख काम धुम्बाराहीको र जनवर्गीय संगठनहरुका काम पेरिसडाँडा कार्यालयबाट हुने गरेका छन् ।


३. दुई संसदीय कार्यालय : दुई अध्यक्ष र दुई केन्द्रीय कार्यालय प्रयोग गरेको नेकपाको संसदीय दलका कार्यालय पनि दुईवटा छन् । सिंहदरबारमा तत्कालीन एमाले र माओवादीका कार्यालयलाई नेकपाले अहिले आफ्नो कार्यालय बनाएको छ । दलका उपनेता सुवास नेम्वाङ तत्कालीन एमालेको दलको कार्यालयमा बस्छन् भने प्रमुख सचेतक देव गुरुङ तत्कालीन माओवादीको कार्यालयमा बसेर काम गर्छन् ।


पार्टी एउटा भएपनि नेकपाले संसद सचिवालयबाट संसदीय दलका दुईवटा कार्यालयको सुविधा लिएको छ । यद्यपी नाम चाँही दुवैतर्फ नेकपा संसदीय दलको कार्यालय राखिएको छ । र, सांसदहरुपनि पूर्ववत कार्यालयमा जाने गर्छन् । पूर्व एमालेका सांसदहरु पूर्व माओवादीको संसदीय कार्यालयमा जाँदैनन् भने पूर्व माओवादीका सांसदहरु पूर्व एमालेको कार्यालयमा जाने गरेका छैनन् ।


४. दुई खाता : नेकपामा अहिले पनि पूर्वमाओवादी र पूर्व एमालेका भिन्दाभिन्दै बैंक खातामा कारोबार हुन्छ । एकीकृत पार्टीको खाताबाट सबै काम भएका छैनन् । केही समय अगाडि मात्र पार्टीको केन्द्रीय लेखा आयोग र आर्थिक विभाग बनेको छ । तर, कारोबार एकीकृत हुन अझै बाँकी छ ।


५. दुईथरी लेवी : पूर्वसमूहका आधारमा अलग–अलग बैंक खाता चलाएको नेकपाका मन्त्री र सांसदहरुको लेबी पनि फरक–फरक छ । पूर्व एमाले समूहका सांसद र मन्त्रीले बुझाउने लेबी र पूर्व माओवादी समूहका मन्त्री एवं सांसदले बुझाउने लेबीमा एकरुपता छैन । एकीकृत पार्टी नहुँदै उनीहरुले जे जस्तो लेबी बुझाउँथे, अहिले त्यही पनि त्यसै गरिरहेका छन् । तत्कालीन नेकपा एमालेले आफ्ना सांसदहरूबाट प्रतिसांसद मासिक १३ हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै माओवादीले आफ्ना सांसदबाट प्रतिसांसद मासिक १२ हजार रुपैयाँ लिने गरेको छ । पूर्व माओवादी सांसदहरुबाट उठाइएको रकमबाट २ हजार सहीद प्रतिष्ठानमा जाने गरेको छ ।


६. दुई सदस्य : पार्टी एकताको लामोसमय बित्दा पनि नेकपाले सबै कार्याकर्तालाई एकीकृत पार्टी सदस्यता दिन सकेको छैन । संगठनात्मक एकतामा भएको ढिलाईले सदस्यता वितरण लामोसमय रोकियो । जिल्ला र स्थानीय तहमा पार्टी कमिटी बनेपछि बल्ल सदस्यताको काम शुरु हुँदैछ । पुस २३ गतेबाट बस्ने केन्द्रीय समितिले संगठनात्मक अभियानको कार्ययोजना बनाएपछि एकीकृत पार्टीको सदस्यता वितरणले तिव्रता पाउने छ । अहिले पनि नेकपाका धेरै कार्याकर्ताको गोजीमा पुरानै पार्टीको सदस्यता छ ।


७. भिन्दाभिन्दै सम्पत्ति : पार्टी एकीकृत छ तर भौतिक सम्पत्ति तितरवितर छ । दुवै पार्टीको सम्पत्ति कति छ भनेर बनाएको समितिले काम सकेको छैन । तत्कालीन एमाले र माओवादीको सम्पत्ति अझै नेकपाका नाममा सरेको छैन । यस्तो अवस्था केन्द्रदेखि जिल्लासम्म छ ।


८. दुई ठाँउमा बैठक : सामान्यत नेकपाको मुख्य बैठक एकै ठाउँमा बस्नुपर्ने हो । तर, कहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार त कहिले पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्दै आएको छ । एक ठाउँमा बैठक बस्ने अवस्था नरहेकाले बैठक बस्न नेता कहिले बालुवाटार त कहिले पार्टी मुख्यालय धुम्बाराही पुग्नुपर्ने बाध्यता छ ।


९. दुई मुख्य समूह : नेकपामा मुख्य दुई समूह छन्, पूर्व एमाले र पूर्व माओवादी । पार्टी एउटा छ, तर पार्टीभित्रै गुटैगुट छन् । त्यसैले दस्तावेजमै पार्टीमा गुटैगुट रहेको भनेर लेखिन्छ । अहिले पनि पूर्व समूहका आधारमा भेटघाट र छलफल तथा योजना निर्माणका कामसमेत हुने गरेका छन् । यद्यपी नेकपामा संगठनात्मक हिसावले वरिष्ठ नेता माधवकुमार नेपालको समूह पनि शक्तिशाली नै छ ।


१०. दुई मनोविज्ञान : एकताको दुई वर्ष पुग्न लाग्दा पनि नेकपाभित्र दुई थरी मनोविज्ञान देखिन्छ । शान्तिपूर्ण राजनीति गरेको पूर्व एमालेका नेता–कार्यकर्ताको एउटा मनोविज्ञान छ भने सशस्त्र युद्ध गरेर आएका पूर्व माओवादी नेता–कार्यकर्ताको अर्को मनोविज्ञान छ । दुई थरी मनोविज्ञान छ भन्ने बुझेर नेताले पार्टी निर्णयमा नै ‘भावनात्मक एकता’ गर्ने भनेर लेखेका छन् । नेता–कार्यकर्ताको बुझाइमा पनि नेकपाभित्र लामोसमय दुई थरी मनोविज्ञान रहने सम्भावना छ ।

११. दुई विचार : पार्टीको आधिकारिक राजनीतिक प्रतिवेदन र विधानले पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालीन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद भनेको छ । तर, पनि पूर्व एमाले र पूर्व माओवादी समूहमा आफ्ना पुराना विचारप्रतिको मोह कायमै छ । पूर्व एमालेसमूह जनताको बहुदलीय जनवादप्रति अहिले पनि उत्तिकै झुकाव राख्छ भने पूर्व माओवादीसमूह २१औं शताब्दीको जनवादमा झुकाव राख्छ ।


१२. दुई शक्तिकेन्द्र : नेकपाभित्र प्रमुख दुइ शक्तिकेन्द्र छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल नेकपाभित्रका प्रमुख शक्तिकेन्द्र हुन् । ओलीले बालुवाटार र दाहालले खुमलटारबाट पार्टी शक्तिको परिचालन गर्छन् । आवश्यता अनुसार गोप्य बैठक र रणनीति बनाउँछन् । पूर्वसमूहका आधारमा यहीबाट मन्त्री छानिन्छन् र राजनीतिक नियुक्तिका लागि गृहकार्य हुन्छन् ।


यस्तो प्रयोगले कँहा पुर्‍याउँछ नेकपालाई ?

नेकपाका केन्द्रीय सदस्य राम कार्की राम्रो प्रकारले महाधिवेशन गर्न सके सबै समस्या हट्ने बताउँछन् । ‘पार्टी एकताको लामो समय बितिसक्दा पनि सांगठनिक संरचनाले पूर्णता पाउन सकेन । त्यसले पनि यो समस्या देखिएको हो । मुख्यत: पार्टीमा गुट छन् । कम्युनिष्ट पार्टीलाई आवधिक र आशिंक रुपमा विघठन गरिराख्नुपर्छ । विघठन गर्ने प्रक्रिया भनेको महाधिवेशन नै हो,’ कार्कीले भने, ‘अहिले पनि पूर्व एमालेमा ‘भर्टिकल्ली’ दुई गुट छ । पूर्व माओवादीमा एउटा गुट छ र त्यहाँ भित्र उपगुट छन् । महाधिवेशनले पनि पुरानो गुट भत्काउन सकेन, मनोविज्ञान परिवर्तन गर्न सकेन भने कम्युनिष्ट पार्टीका लागि दुर्भाग्य हुन्छ । यी सबै समस्याको औषधि अब राजनीतिक वैचारिक छलफल सुरु गर्दिने नै हो ।’


यस्तै नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्, अहिले जे अभ्यास भएको छ त्यो राम्रो होइन । ‘दुई अध्यक्षहरुले आ–आफ्ना पूर्वगत सम्बन्धहरुलाई ‘रिप्रिजेन्ट’ गर्ने । प्रचण्ड कमरेडले पूर्व माओवादीका लागि मात्रै सोच्ने । केपी कमरेडले पूर्व एमालेका लागि मात्रै सोच्ने । यो ठिक होइन । यसमा नेतृत्वले सोच्नुपर्छ,’ उनले भनिन्, ‘अर्कोतर्फ अहिलेपनि संसदीय दलको कार्यालय दुइ ठाउँ छ । त्यो भनेको सार्वजनिक सम्पत्तिको बढ्ता अकुपाई पनि हो । अहिलेपनि सांसद मन्त्रीहरुको लेबी दुईथरी छ । यस्ता अभ्यासले सिंगो पार्टी त रहेन नी ।’



प्रकाशित : पुस २०, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?