कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पतिको कुटाईबाट अर्धचेत पूजा चार महिनादेखि अस्पतालमै

पूजाका बुबा लालबहादुरले भने, ‘बरु मरेकै भए एक शोक हुन्थ्यो । पैसा नहुनेले बाँच्नु पनि बेकार रहेछ’
अमृता अनमोल

(बुटवल) — असोज ८ मा पतिबाट मरणासन्न हुनेगरी कुटिएकी पूजा असोज २९ देखि रुपन्देहीको क्रिमसन अस्पताल मणिग्राममा छन् । उनको उपचार खर्च तिर्ने र थप उपचार कसरी गर्ने भन्नेमा माइती पिरलोमा छन् । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालको सर्जीकल वार्ड । ७ नम्बर बेडमा धेरै दिनदेखि एक किशोरी पल्टिरहेकी छिन् । उनको टाउको घुजाधुजा छ भने ठाउँठाउँमा सिलाइएका छन् । घाँटीको हड्डी भाँचिएको छ । हड्डी निकाल्न घाँटी पनि त्यसैगरी सिलाइएको छ ।

पतिको कुटाईबाट अर्धचेत पूजा चार महिनादेखि अस्पतालमै

अर्धचेत अवस्थाकी उनी बोल्न सक्दिनन् । इशारा पनि गर्दिनन् । शरीरको दायाँ भाग चलाउन र हल्लाउन मिल्दैन । मान्छे देख्यो कि अनुहार बिगार्छिन् । पुलुक्क हेर्छिन् र बरर आँसु खसाल्छिन् ।


पाल्पा रामपुरकी १८ वर्षीय पूजा सोमै परियार दुर्घटनामा परेकी वा कुनै रोगले थलिएकी होइनन् । पतिको कुटपीटबाट यस अवस्थामा पुगेकी हुन् । चिकित्सकका अनुसार उनको मतिष्कमा ठूलो चोट छ । त्यसैले बोल्न सक्दिनन् । बिस्तारै बोली आउन पनि सक्छ, नआउन पनि । पूजालाई चिकित्सकले थप उपचारका लागि राखेका हैनन् । आफन्तले यसअघि भएको उपचार खर्च जुटाउन र थप उपचार गराउन नसक्दा उनलाई बसालिएकी हुन् ।


बहिनीको रेखदेखमा खटेका दाजु सुवास परियारका अनुसार पूजाको फुटेको खोपडी निकालिएको छ । उनको खोपडी ३ महिनाअघिदेखि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा छ । नयाँ खोपडी फेर्न कम्तीमा एक लाख रुपैयाँ लाग्छ । उनको परिवारमा उक्त रकम जुटाउन सक्ने अवस्था छैन । अहिलेसम्मको उपचारबापत करिब डेढ लाख अस्पताललाई तिर्नु छ । उपचार खर्च तिर्न नसक्दा उनीहरु निस्कन सकेका छैनन् । अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले उपचारमा शतप्रतिशत सहुलियत गर्न नसक्ने बताए । ‘केही छुट दिन सकिएला तर सबै छुट गर्न सकिन्न,’उनले भने, ‘त्यसैले सर्जीकल वार्डमा केही उपचार भएको छ । रकम जम्मा गर्न पनि भनिएको छ ।’

पाल्पाको निस्दी गाउँपालिका ५ पाक्दीकी पूजाले ३ वर्षअघि भोमबहादुर सौमैसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । १५ वर्षमै बिहे गरेकी उनी लामो समय पतिसँग बस्न पाइनन् । भोमबहादुर वैदेशिक रोजगारीमा दुबई गए । ससुरालीको लगानीमा गएका उनले घरपरिवार र ससुराली दुवैतिर हेर्थे । पतीपत्नीबीच पनि सम्बन्ध राम्रै थियो । फोन तथा इन्टरनेटमा कुरा हुन्थे । टाढाबाटै मायाप्रेम साट्थे । घरखर्च पठाउँथे । पूजा परीपक्क बन्दै थिइन् । भोमबहादुर कमाउँदै थिए । जीवन अघि बढेको थियो । यही भदौ अन्तिम साता भोमबहादुर फर्के । फर्केपछि उनी बदलिए । पूजाबाट टाढिन खोजे । उनले पूजाको चरित्रमा शंका गर्न थाले । गाउँका आफ्नै एक साथीसित नजिकिएको बहाना बनाए र तनाब दिन थाले ।


तनाबबीच पूजाका जीवनमा असोज ८ कालरात्री बनेर आयो । भोमबहादुर रक्सीको नसाले मात्तिएका थिए । पतिपत्नीबीच यौन सम्बन्धका प्रसंग उठे । भोमबहादुरको कुण्ठा बढ्यो । आफू नहुँदा आफ्ना साथीसित बोलेको, हिँडेको थाह पाएको भन्दै निहुँ झिके । घरपरिवारले दलित बुहारी मन पराएका थिएनन् । त्यसैले छोराको आरोपलाई होइन भनेनन् । कुटपिट थाल्दासमेत रोकेनन् । यसले उनलाई टेवा पुग्यो । परपुरुषसँग नजिकिएको आरोप लगाउँदै मरणासन्न हुने गरी कुटे । पूजा बेहोस् भइन् ।


छिमेकीले प्रहरी गुहारे । कुटपीटको अभियोगमा भोमबहादुरलाई हिरासतमा लगिए । छोरालाई प्रहरीले समातेपछि घरपरिवार अझ चिढिए । उनीहरुले बेहोस अवस्थामा पल्टिएकी बुहारीको उपचारमा वास्ता गरेनन् । माइती पक्षले अर्कोदिन मात्रै छोरी कुटिएको थाहा पाए । उनीहरु पनि उपचारका लागि रकम जुटाउन सक्ने अवस्थाका थिएनन् । गाउँमा चन्दा संकलन गरेर उपचारका लागि ल्याए । असोज ९ मा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा भर्ना भइन् । बिरामी असोज २८ गतेसम्म त्यही‌ राखियो । अस्पतालका न्यूरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको शल्यक्रिया गरे । करिब ४ लाख अस्पतालमा खर्च भयो । ‘घरपक्षका नातेदारले करिब २ लाख जुटाए । माइती पक्षले २ लाख जुटायौं,’ दाजु सुवासले भने, ‘पैसा सकियो भनेपछि अस्पतालले बिरामी निकाल्न भन्यो ।’ यसबीचमा डा. न्यौपाने उक्त अस्पतालबाट क्रिमसन अस्पतालमा आएका थिए । अस्पतालले चिकित्सक नभएको र बिरामीको अवस्था जटिल बनेको र चिकित्सक छैन भन्दै उतै जान दवाव दियो ।

पूजा असोज २९ मा क्रिमसन अस्पतालको आईसीयूमा भर्ना भइन् । न्यूरोसर्जन डा. न्यौपानेले उपचार थाले । दुई साता आईसीयुमा बस्दा सामान्य सुधार भयो । रकम थपिँदै गयो । आफन्तले खोपडी राख्ने रकम जुटाउन सकेनन् । अन्तिममा डा. न्यौपानेले घरमै लगेर हेरचाह गर्न अह्राए । औषधि खर्चबाहेक अस्पतालले शल्यक्रिया र उपचार खर्चको करिब २ लाख रुपैयाँको बिल थमायो । चन्दा उठाएको रकम सकिइसकेको थियो । पूजाका माइतीसित अस्पताललाई तिर्ने रकम भएन । अस्पतालले रकम नतिरी घर जान पनि दिएन । त्यसयता पूजा सर्जन वार्डमा छिन् । ‘अस्पतालले दिनहुँजसो पैसा तिर्न र बिरामीलाई घर लैजान ताकेता गयो,’ उपचारमा खटेका बाबु लालबहादुरले परियारले भने, ‘यसबीचमा ५० हजार फेरि ऋण खोजेर ल्याए । तर, अरु पैसा कसरी ल्याउने कुनै उपाय छैन ।’


पूजाका माइती परियार परिवारको आफ्नो जग्गा जमिन छैन । पाल्पा निस्तीमा जनता आधारभूत विद्यालयको जग्गामा खेतीपाती गरेर घरखर्च चलाउँदै आएको छ । छोरीको उपचारमा यसअघि गाउँपालिका, छरछिमेकीबाट करिब ८० हजार रुपैयाँ संकलन गरेको थियो । २ लाख ऋण खोजेको थियो । सबै रकम औषधि खर्चमा सकियो । ‘अब कोसँग माग्ने, कस्ले दिन्छ र ? जहाँ गए पनि खाली हात फर्किनुपर्छ,’ गहभरि आँसु पार्दै लालबहादुर भने, ‘बरु मरेकै भए एक शोक हुन्थ्यो । पैसा नहुनेले बाँच्नु पनि बेकार रहेछ ।’


पूजा अहिले धेरै समय आँखा खोल्छिन् । भेट्न आउनेको अनुहार हेर्छिन् । बोल्न सक्दिनन् । लाग्छ, आखाले जीवनको भीख माग्छिन् । उनी जिउनलाई थप उपचार जरुरी छ । कहिलेसम्म उनले जीवनका सास गन्ने हुन् । उपचार खर्च तिर्न नसक्दा अस्पतालको सैयामा कति दिन छटपटाउनुपर्ने हो त्यो पनि जान्दिनन् । ‘बिहे गरेर रम्मझम्म हुने बेलामा बहिनी जीवनको भीख मागिरहेकी छन्,’दाजु सुवासले भने, ‘हामीले त्यही भीख पनि जुटाइदिन सकेका छैनौं । दुःख लागेको छ ।’

प्रकाशित : पुस २३, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?