मौसम पूर्वानुमानको सूचना दिन चीनलाई आग्रह

काठमाडौँ — चीनमा हुने मौसम परिवर्तनका कारण नेपालमा आउने बाढीपहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चिनियाँ सरकारलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चीनमा बाढीपहिरो आउँदा त्यसको असर नेपालमा समेत पर्ने गरेकाले मौसम पूर्वानुमानको सूचना दिन आग्रह गरेको हो ।

मुलुकको करिब १५ सय किलोमिटर उत्तरी सिमाना चीनसँग जोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसित बुधबार गरेको भेटका क्रममा मौसमबारे पूर्वसूचना दिन आग्रह गरेका हुन् ।


उनले मुलुकका अधिकांश नदीको मुहान चीन नै रहेको र तिनमा ठूला लगानीमा जलविद्युत् आयोजना निर्माण भइरहेको उल्लेख गर्दै मौसममा हुने परिवर्तनका कारण आउने बाढीपहिरोको जोखिमबाट ती संरचनाको सुरक्षा गर्न पूर्वसूचना जरुरी भएको धारणा राखेका थिए ।


पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोसी नदीमा बाढी आउँदा सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्राकृतिक विपत्तिबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सतर्कता अपनाउन सकिने उनले बताएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

प्रकाशित : पुस २३, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?