कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

देउवाको विकल्प निधि !

निधिलाई अघि बढ्न केन्द्रीय सदस्य प्रदीप गिरिलगायत केही नेताले सुर्‍याएका छन् । यसैपटक प्रतिस्पर्धा नगरे अर्कोपटक आफ्नो पुस्ता नै पछि पर्ने चिन्ता पनि निधिमा देखिन्छ ।

काठमाडौँ — कांग्रेसमा केन्द्रीय कार्यसमितिले गत महिना बहुमतका आधारमा गरेको निर्णयलाई लिएर चुलिएको विवाद अझै मत्थर भएको छैन । संस्थापनइतर पक्षका पदाधिकारी तथा सदस्यहरूको अनुपस्थितिमा गरिएका निर्णयमध्ये विधानका दफा निलम्बन विवाद र ध्रुवीकरणको मुख्य केन्द्रमा छ ।

देउवाको विकल्प निधि !

इतरपक्षले विधानका दफा निलम्बन गरेर क्रियाशील सदस्यता वितरण खुला गरिनु र विभागको संख्या २८ बाट बढाएर ४७ पुर्‍याइनुका पछि सभापति शेरबहादुर देउवाको १४ औं महाधिवेशन प्रभावित पार्ने योजना रहेका आशंका गरिरहेका छन् ।


नेता मीनेन्द्र रिजालका अनुसार सबै विभाग गठन गर्दा २४ सय नेता तथा कार्यकर्ताको व्यवस्थापन हुन्छ । त्यसमा संस्थापनइतर पक्षलाई ४० प्रतिशत छाड्दा पनि आफ्नो पक्षको मात्रै साढे १४ सय नेता कार्यकर्ताको व्यवस्थापन गर्न सकिन्छ । ‘यसले महाधिवेशनलाई ठूलो प्रभाव पार्न सकिन्छ भन्ने सभापतिलाई लागेको छ,’ रिजालले भने, ‘नत्र दुई महिनामा गठन गरिनुपर्ने विभाग चार वर्षको कार्यकाल सकिँदा विधानले तोकेभन्दा १९ बढी विभाग गठन गर्नुको अर्थ के ?’


क्रियाशील सदस्यले वडा, नगर र गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । तिनै क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छन् । तिनै प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । त्यसैले क्रियाशील सदस्यता वितरण अपारदर्शी बनाउनै विधानका दफा निलम्बन गरिएको रिजालसहित देउवाविरोधी खेमाको छ । कार्यकालको आखिरी समयमा भ्रातृसंस्था र पार्टी संरचनाको गठन, पुनर्गठन गर्न खोजिनुको पछि आफूविरुद्ध लाग्दै आएको ढिलासुस्तीको आरोपको खण्डन गर्ने र कार्यकर्ता व्यवस्थापन गर्ने मुद्दासँगै जोडिएको उनीहरूको बुझाइ छ ।


गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति निर्णयले सिर्जना गरेको विवाद मिलाउने प्रयास अहिले जारी छ । विवाद मिलाउने आधार के त ? वरिष्ठ नेता रामचन्द्र पौडेलको संक्षिप्त जवाफ छ, ‘फेयर इलेक्सन ।’


आगामी महाधिवेशनमा देउवा नै उम्मेदवार हुन्छन् भन्नेमा संस्थापनइतर पक्ष निश्चिन्त छ । संस्थापनपक्षीय अधिकांश नेता पनि उनको उम्मेदवारीप्रति शंका गर्दैनन् । त्यसैले देउवालाई एकलौटी गर्न नदिने संस्थापनइतर पक्षको तयारी देखिन्छ भने अर्कोतर्फ आफूविरुद्धको असन्तुष्टि चिरेर अनुकूल परिस्थिति बनाउन देउवा हरतरहको तयारीमा अग्रसर छन् ।


बेलाबखत नेतृत्व छाड्न सुझाव दिनेहरूप्रति देउवा ज्योतिषीको भविष्यवाणी सुनाउँछन् । ‘ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेका छन्,’ उनको रेडिमेड जबाफ हुने गर्छ । भावी नेतृत्वका लागि संस्थापनइतर समूहमा धेरैको आकांक्षा देखिन्छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला मुख्य चर्चामा छन् । संस्थापन पक्षमा देउवाको विकल्प कोही नदेखिए पनि भित्रभित्रै उपसभापति विमलेन्द्र निधिले आकांक्षा देखिएका छन् ।


समाजमा देउवाको ‘इमेज’ सकारात्मक छैन । पार्टीको तल्ला तहमा समेत उनीप्रति आकर्षण गिर्दो छ । बाह्य परिस्थितिसमेत अनुकूल छैन । खास गरी पछिल्ला समय भारतसँग देउवाको सम्बन्ध राम्रो नभएको जानकार बताउँछन् । भारतले मिचेको नेपाली भूभाग कालापानीका विषयमा देउवाबाट केही समयअघि आएको अभिव्यक्तिलाई त्यसैको संकेतका रूपमा लिइएको छ ।


दोहोर्‍याएर सभापति बन्न देउवाका लागि जोखिम पनि छ । संस्थापनइतर पक्ष एक ठाउँमा आए देउवा उम्मेदवार हुन नसक्ने आकलनसमेत कतिपय नेता गर्छन् । त्यस्तो अवस्थामा उपसभापति निधि नै देउवा समूहबाट स्वाभाविक उम्मेदवार हुन् । निधिलाई अघि बढ्न केन्द्रीय सदस्य प्रदीप गिरिलगायत केही नेताले सुर्‍याएका छन् । उनी आफैं पनि यसैपटक उम्मेदवारका लागि वातवरण बनाउने सोचमा देखिन्छन् तर देउवाले बाटो छाडिदिने सम्भावना कम छ । ‘सभापति देउवाले निधिलाई १३ औं महाधिवेशनकै बेला अर्कोपटक तिमी नै हो भन्नुभएको थियो, त्यही आधारले पनि उहाँले भित्रभित्र नेतृत्वको आकांक्षा राखेको हुन सक्छ,’ देउवानिकट एक नेताले भने, ‘अहिलेसम्मको तयारी भने सभापतिले आफ्नै लागि गरिरहनुभएको छ ।’


यसैपटक प्रतिस्पर्धा नगरे अर्कोपटक आफ्नो पुस्ता नै पछि पर्ने चिन्ता निधिमा देखिन्छ । अहिल्यै प्रतिस्पर्धा नगरे त्यसपछिका अधिवेशनमा धेरै पछि पर्न सकिने आकलन निधिले गर्न थालेका छन् । देउवाले स्वाभाविक दाबी छाडिदिए आफ्नो नेतृत्वमा देउवापत्नी आरजु राणालाई महामन्त्रीमा राखेर टिम बनाउने सोचमा निधि छन् । त्यसको छनक उनले पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा आफू पछिको वरीयतामा आरजुलाई राखेरै दिइसकेका छन् ।


०७४ को चुनावमा कैलाली ५ मा पराजित आरजुलाई निधिले प्रतिष्ठानले केही समयअघि प्रदेशस्तरमा आयोजना गरेको प्रशिक्षणमा प्रमुख वक्ताकै रूपमा अघि सारेका थिए । पोखरा, भक्तपुर, हेटौंडा, सुर्खेत धुलिखेलमा आयोजना भएका प्रशिक्षणमा आरजुले ‘जनतासँग सम्पर्क र चुनाव कसरी जित्न सकिन्छ’ भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् । उनले जुन शीर्षकमा प्रशिक्षण दिइन्, त्यसै विषयमा पार्टीमा आलोचनासमेत भएको थियो । ‘आरजुमा पनि नेतृत्वमा आउने महत्त्वाकांक्षा निकै जागेको छ, यो प्रशिक्षण त्यसैको संकेत हो,’ देउवानिकट एक नेताकै भनाइ छ, ‘निधिकै नेतृत्वमा आरजुलाई महामन्त्री बनाएर टिम बनाउने कसरत पनि नभएको होइन ।’


देउवालाई चुनौती दिएर उम्मेदवारी दिने पक्षमा भने निधि छैनन् । परिस्थिति बुझाएर फकाउने र त्यसो गर्दा देउवा तयार भए आफू उम्मेदवार हुने उनको मनसाय देखिन्छ । देउवा नै उम्मेदवार भए उनी पदाधिकारी नभई केन्द्रीय सदस्यमा मात्रै चुनाव लड्ने मनस्थितिमा छन् ।


देउवा आफूले दाबी छाडिदिँदा आफ्नो समूह छिन्नभिन्न हुन सक्ने तर्फ सचेत छन् । आफ्नो समूहलाई छिन्नभिन्न पारेर शक्ति विकेन्द्रित गराउन उनी चाहँदैनन् । देउवानिकट केन्द्रीय सदस्य श्याम घिमिरे संस्थापनमा सभापति देउवाको विकल्प र चुनौती दिन सक्ने कोही पात्र अघि नसरेको दाबी गर्छन् । ‘भित्रभित्रै आकांक्षा होलान् तर उहाँ (देउवा) ले नछाडेसम्म चुनौती दिन सक्ने उम्मेदवार मैले देखेको छैन,’ उनले भने, ‘सभापतिले छाड्नुभयो भने उपसभापति निधि स्वाभाविक उम्मेदवार हो ।’ घिमिरेका अनुसार सभापति देउवाको अहिलेसम्मको तयारी आफ्नै लागि भएको हो ।

प्रकाशित : माघ ९, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?