कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभा सांसद दिपक मनाङे पक्राउ

पोखरा — गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरले बताए । 

प्रदेशसभा सांसद दिपक मनाङे पक्राउ

कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले बुधबार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पक्रेको हो । यसअघि मनाङले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गरेका थिए । मनाङेले मंगलबार पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन हुनुअघि मिलनमाथि हातपात गरेका थिए । मिलनले मनाङेविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएका हुन् ।

मुख्यमन्त्रीले हान्नुपर्ने, मैले हानें : सांसद मनाङे

संहिताको उक्त दफाको उपदफा १ मा सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा पसेर कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ । यदि कसैले माथि उल्लेखित कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

यसैबीच गण्डकी प्रदेशसभा नियमावलीको नियम २०५ मा प्रदेशसभा सदस्य पक्राउ सम्बन्धी जानकारी दिनुपर्ने व्यवस्था छ । उक्त नियमको उपनियम १ मा संविधानको धारा १८७ को उपधारा (६) को व्यवस्था बमोजिम सभाको कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सभालाई तत्काल दिनुपर्ने व्यवस्था छ । संविधानको उक्त उपधारामा प्रदेशसभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्को अवधिभर पक्राउ गरिने छैन भन्ने उल्लेख छ । तर कुनै फौजदारी अभियोगमा सभा सदस्यलाई कानुन बमोजिम पक्राउ गर्न उक्त उपधाराले बाधा पुर्‍याउँदैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने व्यवस्था छ । यतिबेला गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन चलिरहेको छ । यसर्थ मनाङेलाई पक्राउ गरेमा प्रहरीले प्रदेशसभाका सभामुखलाई पक्राउको सूचना दिनुपर्ने हुन्छ ।

प्रदेशसभा बैठक नचलेको अवस्थामा कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचनापाटीमा टाँस्न लगाई अन्य सञ्चारका माध्यमबाट त्यसको प्रचारप्रसार समेत गर्न लगाउने भन्ने प्रदेशसभा नियमावलीमा छ । संविधानको प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई कुनै फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा प्रदेश सभाको सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन भन्ने व्यवस्थासमेत नियमावलीमा छ ।

निर्वाचित भएको करिब एक वर्षपछि दीपक मनाङेले २०७५ माघ १४ मा गण्डकी प्रदेशसभा सदस्यको सपथ लिएका थिए । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित गुरुङ सपथ खाएको केही समयपछि नेकपामा प्रवेश गरेका थिए । सर्वोच्च अदालतमा मुद्धा पुनरावलोकनको अवस्थामा रहेको र प्रदेशसभा निर्वाचन ऐन २०७४ को कारण देखाउँदै गुरुङलाई निर्वाचित भएको एक वर्षपछि सपथ खुवाइएको थियो ।

प्रकाशित : माघ ९, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?