कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल यौन दुराचार : क्यानेडियन डलग्लिसको कसुर सदर 

सजायमा उदारता 
जनकराज सापकोटा

काठमाडौँ — बाल यौन दुराचारको मुद्दामा थुनामा परेका क्यानेडियन नागरिक पिटर डलग्लिसको सजाय उच्च अदालत पाटनले एक वर्ष घटाएको छ । यसअघि जिल्ला अदालत काभ्रेले गरेको नौ बर्षको कैद सजायको फैसलालाई एक बर्ष घटाएर उच्चले आठ बर्ष कायम गरेको छ । 

बाल यौन दुराचार : क्यानेडियन डलग्लिसको कसुर सदर 

उच्च अदालतको फैसलाले पिटरको बाल यौन दुराचारमा संग्लनता रहेको तथ्यलाई थप स्थापित गरेको छ । न्यायधीशद्वय रामप्रसाद ओली र मीना गौतम सेढाईंको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । फैसलाको पूर्ण पाठ भने तयार भएको छैन ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसी कविद कट्वाल नेतृत्वको टिमले २४ चैत २०७४ मा काभ्रेको मण्डन देउपुर नगरपालिका–१ स्थित घरबाट पिटरलाई दुई बालकसहित पक्राउ गरेर मुद्दा चलाएको थियो । कोठामा भेटिएका दुई बालकले प्रहरी र अदालतमा आफूहरुलाई पिटरले यौन दुराचार गरेको बयान दिएका थिए । उक्त मुद्दामा २३ असारमा जिल्ला अदालत काभ्रेले अभियुक्तलाई नौ बर्ष कैद सजाय फैसला गरेको थियो । फैसलाविरुद्ध पिटर उच्च अदालत गएका थिए ।


बाल यौन दुराचारको आरोपमा नेपालमा पक्राउ परेका विदेशीहरुमध्ये पिटर ‘हाईप्रोफाईल’ मानिन्छन् । त्यसैले पनि दिल्लीस्थित क्यानेडियन उच्चायुक्त कार्यालयले पनि पिटरको मुद्दामा कुटनीतिक चासो देखाएको थियो । उच्चायुक्तको कार्यालयले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक नोट नै लेखेर ‘आफ्ना नागरिक पिटरका हकमा बाँकी कैद क्यानडामै भुक्तान गर्ने गरि बुझाउन’ आग्रह गरेको थियो । त्यसो त २३ असारमा जिल्ला अदालत काभ्रेमा पिटरको मुद्दाको अन्तिम फैसला हुँदाको बखत उच्चायुक्त कार्यलयका मिनिस्टर काउन्सेलर अमान्डा स्ट्रोहन र महावाणिज्यदुत भेरोनिक देशहाईस स्वयम उपस्थित भएका थिए ।


उनीहरुलाई ‘इजालसमा उपस्थित हुने ब्यवस्था मिलाइदिन’ दिल्लीस्थित क्यानाडेली राजदूतावासले १८ असार २०७६ मा परराष्ट्र मन्त्रालयलाई कुटनीतिक नोट नै लेखेको थियो । सोही अनुरोधलाई सदर गर्दै १९ असार २०७६ मा परराष्ट्र मन्त्रालयले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्राचारको यही श्रृंखलापछि दुई उच्च कुटनीतिक अधिकारीहरुले इजलासमा उपस्थिती सम्भव भएको थियो ।


स्ट्रिट किड्स ईन्टरनेशनल नामक संस्था खोलेर युद्धपीडित र सडक बालबालिकाको हक अधिकारको क्षेत्रमा काम गर्दै आएका डलग्लिसले लामो समय संयुक्त राष्ट्रसंघ अर्न्तगत रहेर काम गरेका थिए । सन् २०१५ अघिसम्म पिटर युएन ह्याबिट्याटको अफगानिस्तान प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । सन् २०१६ मा क्यानडा सरकारले नागरिकलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान पाएका र तीनवटा अनररी डक्टरेटको उपाधि पाएका उनी सन् १९९८ मा संसारका दस प्रतिभाशाली युवाको रुपमा जुनियर च्याम्बर इन्टरनेसनलको छनौटमा परेका थिए ।

प्रकाशित : माघ ९, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?