विकास र सुशासनमा सशस्त्र जुटेको छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन् ।
सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताएका हुन् ।

विकास र सुशासनमा सशस्त्र जुटेको छ : प्रधानमन्त्री

यस अभियानमा राज्यका सबै निकायको सहयोग र योगदान उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे ।


ओलीले भने, 'सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्ने र तीव्र विकासका साथ देशलाई गरिबी, निरक्षरता र पछौटेपन जस्ता कुराहरूबाट मुक्त गरेर एउटा विकसित, समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ । यसक्रममा समाज, सर्वसाधारण नागरिकदेखि लिएर राज्यका सबै अंग सुशासन र विकासका कार्य अगाडि बढाउने क्रममा आफ्नो ठाउँबाट योगदान गर्ने हिसाबले अगाडी बढिरहेका छन् ।’


भ्रष्टाचार नियन्त्रण, बेरुजु फर्छौटजस्ता काममा सशस्त्र प्रहरीले खेलेको भूमिका उदाहरणीय रहेको ओलीको भनाइ थियो । ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए। 'सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता, पारदर्शीताजस्ता कुरा भ्रष्टाचार नियन्त्रणका कुराहरूमा पनि सशस्त्र प्रहरीले आफूलाई नमूनाको रूपमा प्रस्तुत गर्दै आएको छ,’ उनले भने ।


कार्यक्रममा उत्कृष्ट बाहिनी पुरस्कारबाट प्रदेश नम्बर २ मा रहेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई सम्मान गरिएको थियो । मुलुकभरका ८ बाहिनीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत बाहिनीपति अर्याललाई सम्मान गरिएको हो ।


सशस्त्र प्रहरीले गर्दै आएको शान्ति मिसन, विशिष्ट सुरक्षा, प्राकृतिक प्रकोप उद्धार, आपतकालिन उद्धार तथा सहायता लगायत सम्पादन गर्दै आएका कामहरूलाई प्रदर्शनी गरिएको थियो ।

प्रकाशित : माघ ९, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?