कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशरथको जन्मघर अब पाहुना घर

तृप्ति शाही

(बैतडी) — बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको सहिद दशरथ चन्दको जन्म घरलाई पाहुना घर बनाइएको छ । जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र दशरथचन्द नगरपालिकाको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको हो । 

दशरथको जन्मघर अब पाहुना घर

अहिले घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ । आँगन फराकिलो बनाइएको छ । घरबाहिर दशरथको सालिक निर्माण गरिएको छ । घर जाने बाटोमा प्रवेशद्वार निर्माण भइरहेको छ । दशरथ जन्मिएको घरमा नि:शुल्क बास बस्न मिल्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । २० लाखभन्दा बढी रकम खर्च गरेर मर्मतसम्भार गरिएको प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले बताए । यसका लागि नगरपालिकाले बजेट उपलब्ध गराएको थियो । ‘बजेट अभावले अझै राम्रो व्यवस्थापन गर्न सकिएको छैन, केही काम गर्न बाँकी छ,’ उनले भने ।


प्रतिष्ठानकै अग्रसरतामा सहिदको स्मृतिमा बैतडीमा विभिन्न काम हुँदै आएको छ । राजमार्गमा दशरथचन्द स्मृति प्रतीक्षालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । गत वर्ष ९ वटा प्रतीक्षालय बनाइएको र यो वर्ष पनि कहीं, कतैबाट रकम जुटे आवश्यक ठाउँमा थप्ने योजना रहेको उनले बताए । दशरथचन्द क्रिकेट मैदान निर्माणको काम पनि भइरहेको छ । दशरथको ‘उपनाम’ सुशील नामकरण गरेर स्मारिका प्रकाशन गर्न लागिएको उनले जानकारी दिए ।


सरोकारवाला निकायले दशरथ चन्दको ऐतिहासिक महत्त्व जोगाउन खासै चासो नदिएको प्रतिष्ठानका सदस्यहरू बताउँछन् । प्रतिष्ठानसँग आफ्नै कुनै बजेट नहुने भएकाले योजनाअनुरूप कार्य गर्न नसकिएको अध्यक्ष चन्द बताउँछन् । सहिदको जन्मघर संरक्षण गर्न नगरपालिकाले सकेजति बजेट विनियोजन गर्दै आएको दशरथ चन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । ‘घरलाई सुरक्षित राख्नुपर्छ भन्ने मान्यताले जीर्ण अवस्थामा रहेको संरचना मर्मत गर्न गत वर्ष रकम विनियोजन गरिएको हो,’ उनले भनिन्, ‘यस वर्ष प्रवेशद्वार निर्माणमा रकम उपलब्ध गराएका छौं ।’


प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सहिदले देखाएको बाटोमा हिँड्न नसके पनि उनको इतिहास जीवन्त राख्नु दायित्व भएको उनले बताइन् । तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा दशरथलाई गोली हानेर मृत्युदण्ड दिएका थिए ।


उनको जन्मघर भतिजाहरू भीमबहादुर र रामबहादुर चन्दको नाममा थियो । ०५१ सालमा सहिद दशरथ चन्द स्मृति प्रतिष्ठान गठन गरेर चन्द परिवारले घरजग्गा प्रतिष्ठानका नाममा गरिदिएका हुन् ।

प्रकाशित : माघ १६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?